
नयाँ वर्षदेखि काठमाडौं उपत्यका सहित बागमती प्रदेशमा चल्ने छोटा दूरीको भाडादरमा वृद्धि भएको छ ।
बागमती प्रदेश श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले वैशाख १ बाट सार्वजनिक सवारी साधन र ट्याक्सीको भाडा वृद्धि गरेको हो ।
नयाँ भाडादर अनुसार अब यात्रुले सवारीसाधन चढ्ने वित्तिकै २० रुपैयाँ तिनुपर्ने भएको हो ।
पाँच किलोमिटरसम्मकाे दूरीमा यात्रुले २० रुपैयाँ तिर्नुपर्नेछ भने २० किलोमिटरभन्दा माथिको दूरीमा ३८ रुपैयाँ निर्धारण गरिएको छ । यसअघि पाँच किलोमिटसम्मको भाडादर १८ रुपैयाँ रहेकोमा २ रूपैयाँ बढेर २० रुपैयाँ पुगेको हो । २० किलोमिटरभन्दा धेरैको दूरीमा ३ रुपैयाँ वृद्धि भएको छ ।
श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले जारी गरेको नयाँ भाडादर अनुसार सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुले पाँच किलोमिटरसम्म २० रुपैयाँ, ६ देखि १० किलोमिटरसम्म २५ रुपैयाँ, ११ देखि १५ किलोमिटरसम्म ३० रुपैयाँ, १६ देखि २० किलोमिटरसम्मको ३३ रुपैयाँ र २० किलोमिटरभन्दा माथिको दूरीमा ३८ रुपैयाँ तिर्नुपर्नेछ ।
यस्तै मिटर ट्याक्सीको प्रति २०० मिटर भाडा १० रुपैयाँ बनाइएको छ । प्रतीक्षा शुल्क प्रतिमिनेट १.२० रुपैयाँ तोकिएको छ । बढीमा ३० मिनेटसम्म मात्रै प्रतीक्षा गर्न पाइने छ ।
सरकारले पछिल्लो समय इन्धनको बजार मूल्य ५ प्रतिशत वा सो भन्दा बढी वा घटी भएमा सोही बमोजिम प्रदेश भित्र सञ्चालन हुने सवारी साधानको भाडा समायोजन हुने व्यवस्था गरेको छ । सोही अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेसँगै मन्त्रालयले भाडदर समायोजन गरेको जनाएको छ ।
यस्तै उपत्यका बाहेकका स्थानमा चल्ने यात्रुवााहक सार्वजनिक सवारी साधनको हकमा बागमती प्रदेश सरकारले २०७८ कार्तिक १ गते देखि यात्रुवाहक सवारी साधनमा लागू गरेको भाडादरमा १० प्रतिशत भाडावृद्धि गरी कायम हुन आउने भाडादरमा दशमलवमान सम्याई समायोजन गरिएको मन्त्रालयले जनाएको छ । उपरोक्त भाडादरमा यात्रुले १५ किलोसम्म निःशुल्क र सो भन्दा बढि १० किलोसम्म प्रतिकिलो ५ रुपैयाँका दरले भाडा भुक्तानी गरी (सवारी साधनको उत्पादक कम्पनीद्वारा तोकिएको ग्रस भेइकल वेटभन्दा ननाघ्ने गरी) सरसामानरगुन्टा लिई जान पाउने व्यवस्था गरिएको छ ।
मन्त्रालयले मालवाहक सवारी साधनको हकमा प्रदेश भाडा निर्धारण।समायोजन तथा विद्युतीय माध्यमवाट भाडा भुक्तानी नियमावली, २०७८ को दफा ४ बमोजिमको भाडा निर्धारण।समायोजन सिफारिस समितिले साविकको भौतिक पूर्वाधार विकास मन्त्रालयलाई मिति २०७८ असोज ६ गते पेश गरेको प्रतिवेदनका आधारमा ११.९१( प्रतिकिमि प्रतिटनको लागि सिफारिस गरिएको भाडामा १३ प्रतिशतले वृद्धि गरी १३.४५ (प्रतिकिमि प्रतिटन) कायम गरिएको जनाएको छ ।


? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया