एफएनसीसीआई र नेपाल पर्यटन बोर्डले पर्यटन प्रवर्द्धनमा सहकार्य गर्ने

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल पर्यटन बोर्ड बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । पर्यटन उद्योगको प्रवर्द्धन र अवधारणा विकासमा सहकार्य गर्ने उद्देश्य अनुरुप दुई संस्थाहरुबीच समझदारी भएका हुन् । समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले हस्ताक्षर गरेका छन् ।

आपसी समझदारी अनुसार पर्यटन विकासमा विभिन्नतहमा सरोकारवालाहरूको बैठक आयोजना गरी उदीयमान पर्यटकिय प्रवृत्तिहरूको अवधारणा विकास गर्ने र तीनको आदान प्रदान गर्ने, नेपालका विभिन्न अन्तर्राष्ट्रिय र आन्तरिक विमानस्थलहरूको सौन्दर्यकरण र सेवा सुधारमा सहकार्य गरिने सम्झौतापत्रमा उल्लेख छ ।

त्यसैगरी नेपाली पर्यटनको डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय बजारीकरण, पर्यटनसँग सम्बन्धित सरोकारवालाहरूको क्षमता विकास, सम्भावित पर्यटन उत्पादनहरू (हिल स्टेशन, पार्क लगायत अन्य पर्यटकीय गतिविधिहरू) मा सहकार्य हुनेछ ।

समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई सम्वोधन गर्दै महासंघका अध्यक्ष गोल्छाले मुलुकको पर्यटन उद्योगलाई नयां दिशा दिन यो सहमति कोशेढुंगा हुने विश्वास व्यक्त गरे ।

अध्यक्ष गोल्छाले समझदारीपत्रको अक्षरश कार्यान्वयनको प्रतिबद्धता पनि जनाए । कोभिडले थलिएको पर्यटन उद्योगको पुनरूत्थानका लागि पर्यटनसँग आबद्ध सबै संस्थाहरूको सहभागितामा छिट्टै एउटा बृहद कार्यक्रम आयोजनाको प्रस्ताव पनि गरे ।

कार्यक्रमबाट यस क्षेत्रलाई माथि उठाउन कम्तिमा ठोस कार्ययोजना तयार गरी सोही अनुसार अगाडि बढ्नुुपर्नेमा उनको जोड थियो । पर्यटन पूर्वाधार विकास, सार्वजनिक सवारी साधन एवं स्थानहरुको गुणस्तर सुधार अत्यावश्यक भएको भन्दै यसमा केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष गोल्छाले भैरहवा विमानस्थललाई यस क्षेत्रकै सस्तो र सुलभ विमानस्थल बनाउनेतर्फ पहल हुनुुपर्नेमा जोड दिँदै भने –यो सम्भव पनि छ । यसका लागि सरकारको सहयोग आवश्यक छ । साथै नेपालले गुणस्तरीय पर्यटक भित्रयाउनेतर्फ पहल गर्नुपर्ने सुुझाव अध्यक्षको थियो ।

काठमाडौं विमानस्थललाई अलि बढी पर्यटन लक्षित गरी सेवा विस्तार, गुणस्तर सुुधारमा जोड दिनुुपर्ने धारणा उनको थियो । अध्यक्ष गोल्छाले छिट्टै नेपाल भारत लगानी सम्मेलन गर्ने तयारी रहेको र सो क्रममा भारतीय शहरहरुमा रोड शो गरिने योजना रहेकाले यसमा पर्यटनलाई पनि संगै लैजान सकिने बताए ।

बोर्डका प्रमुख कार्यकारि अधिकृत डा. रेग्मीले निजी क्षेत्रको छाता संस्थासँग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । पर्यटन विकासमा महासंघका अध्यक्षले राखेको सुुझाव निकै मननीय भएकाले कार्यान्वयनमा लैजानेतर्फ पहल गर्ने विश्वास दिलाए ।

पर्यटनसँग सम्बन्धित कार्यक्रम आयोजना गर्ने सम्बन्धमा महासंघको प्रस्तावलाई छिट्टै अगाडि बढाउन उनंले आग्रह गरे । सो अवसरमा दुबै जनाले भारतीय र चिनियाँ पर्यटक आकर्षणमा विशेष कार्यक्रम ल्याउनुुपर्नेमा जोड दिए ।

महासंघको पर्यटन तथा हवाई यातायात समितिका सभापति ज्योत्सना श्रेष्ठले थलिएको पर्यटन उद्योगलाई माथि उठाउन यो सहकार्य गरिएको बताइन् । महासंघका महानिर्देशक गोकर्ण राज अवस्थीले धन्यवाद मन्तव्य दिंदै समझदारी अनुसारका कामलाई छिट्टै अगाडि बढाइने प्रतिबद्धता जनाए ।

सो अवसरमा महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठ, पर्यटन तथा हवाई यातायात समितिका सदस्यहरू, बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापा, निर्देशक मणिराज लामिछाने, महासंघ सचिवालयका वरिष्ठ अधिकृतहरूको उपस्थिति थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १५ बैशाख २०७९, बिहिबार  १६ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।