दश वाणिज्य बैंकको औषत लाभांश साढे १६ प्रतिशत, कसको कति ?

0
Shares

नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचिकृत २७ मध्ये हालसम्म १० वटा वाणिज्य बैंकले गत आर्थिक बर्षको लाभांश घोषणा गरेका छन् । अझै १७ वटा वाणिज्य बैंकहरुले लाभांश घोषणा गर्न बाँकी छ ।

लाभांश घोषणा गरेकामध्ये एनआईसी एशिया, सिटिजन्स र कुमारी बैंकले घोषित लाभांश साधारणसभा बाट पारित पनि गरिसकेका छन् । एनआईसी एशियाले नगद लाभांश शेयरधनीको खातामा पठाउन समेत सुरु गरिसकेको छ ।

सिटिजन्स र एनआईसी एसियाले गत शुक्रबार साधारणसभा गरेर लाभांश लगायतका एजेण्डा पारित गराएका थिए । कुमारी बैंकले शनिबार साधारण सभा सम्पन्न गरेको हो ।

हालसम्म सिटिजन्स, सानिमा, एनआइसी एसिया, जनता, माछापुच्छ्रे, सनराइज, सिद्धार्थ, कुमारी, बैंक अफ काठमाण्डू र मेगा बैंकले गत आर्थिक बर्षको लाभांश घोषणा गरेका छन् ।

दश वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै सिद्धार्थ बैंकले २५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सिद्धार्थले चुक्ता पुँजीको १० प्रतिशत बोनस र १५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । यस्तै सबैभन्दा कम कुमारीले १० प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ । दश वाणिज्य बैंकको औषत लाभांश १६.५४ प्रतिशत रहेको छ ।

दश बैंकमध्ये ५ बैंकले दश प्रतिशतका दरले बोनस घोषणा गरेका छन् । सिद्धार्थ, सानिमा, एनआइसी एसिया, सनराइज र कुमारी बैंकले दश प्रतिशतका दरले बोनस घोषणा गरेका छन् । मेगा बैंकले नगद लाभांश मात्र प्रस्ताव गरेका छ । सिद्धार्थले सबैभन्दा धेरै १५.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ, सबैभन्दा कम बोनस सिटिजन्सको ३ प्रतिशत र सबैभन्दा कम नगद लाभांश जनताको ६ प्रतिशत रहेको छ । । कुमारीले करका लागि मात्र नगद लाभांश दिने भएको छ ।

हालसम्म नविल, नेपाल इन्भेष्टमेन्ट, स्ट्याण्डर्ड चाटर्ड, नेपाल एसबीआई, एभरेष्ट, हिमालयन, कृषि विकास, नेपाल बैंक, ग्लोबल आइएमई, प्राइम, एनसीसी, सिभिल, प्रभु, लक्ष्मी, सेन्चुरी, एनएमबी र नेपाल बंगलादेश बैंकले लाभांश घोषणा गरेका छैनन् ।