केही दिनका लागि देखिएको विद्युत आपूर्ति समस्यालाई राजनीतिकरण नगर्न उर्जामन्त्रीको आग्रह

0
Shares

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले केही दिनका लागि देखिएको समस्यालाई राजनीतिकरण नगर्न समेत आग्रह गरेकी छिन् ।

सोमबार मन्त्रालयमा भएको छलफलमा केही उद्योगमा विद्युत आपूर्तिमा गडबढी हुनुका कारणबारे नेपाल विद्युत प्राधिकरण र नेपाल उद्योग वाणिज्य महासङ्घका पदाधिकारीसँग छलफलमा सो आग्रह गरेकी हुन् ।

उनले अहिलेको विद्युत आपूर्तिमा देखिएको समस्यासमस्या क्षणिक मात्र रहेकाले मंगलबारदेखि नै विद्युत आपूर्ति सहज हुने बताइन् । उनले भनिन्, “विद्युत आपूर्तिमा देखिएको समस्या हाम्रो कारणबाट उत्पन्न भएको होइन, विश्वव्यापी समस्या हो । नेपालको सन्दर्भमा यसलाई सल्टाउन सरकार प्रतिबद्ध भएर लागेको छ, चाँडै समाधान हुन्छ ।”

विगतमा ऊर्जा सुरक्षाका लागि ठूला जलाशययुक्त आयोजना नबन्दा सुख्खा समयमा समस्या देखिने गरेको स्पष्ट पार्दै मन्त्री भुसालले भनिन्, “ऊर्जाकै कारण हामीले समस्या भोग्नु पर्दैन, विगतमा ऊर्जा सुरक्षालाई ध्यान नदिँदा क्षणिक समस्या आएको हो, आगामी दिनमा यस्ता समस्या सल्टिँदै जानेछन् ।”

मन्त्रालयका सचिव देवेन्द्र कार्कीले हाम्रो ऊर्जा प्रणालीमा देखिएको क्षणिक समस्या केही दिनमै हल हुने बताउँदै हात्तिनुपर्ने अवस्था नहरेको बताए । उनले भने, “यो समस्या क्षणिक हो, राज्यले यसलाई सम्बोधन गर्छ ।”

त्यसैगरी नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पछिल्लो समयमा विद्युत आपूर्तिमा देखिएको समस्या सामान्य भएको भन्दै उद्योगी व्यावसायीलाई नआत्तिन आग्रह गरे । उनले भने, “अहिलेको समस्या दुईचार दिनको हो, आत्तिनु पदैन, छिट्टै समाधान हुन्छ ।”

छलफलका क्रममा उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले विद्युत् आपूर्तिमा देखिएको समस्याबारे जानकारी गराएका थिए । उनले भने, “विद्युत आपूर्तिमा समस्या देखिएको छ, यसलाई सरकारले समाधान गर्नुप¥यो ।”

त्यसैगरी महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले विद्युत आपूर्ति सहज तुल्याउन सरकार र निजी क्षेत्रसँगसँगै मिलेर काम गर्नुपर्नेमा जोड दिए । उनले आगामी दिनमा विद्युतको गुणस्तरीयता सुधार हुने विश्वास व्यक्त गरे ।

उद्योग वाणिज्य महासंघले सोमबार आयोजना गरेको प्रि बजेट छलफल कार्यक्रममा ठूला उद्योगमा १२ घण्टा लोडसेडिङ्ग भैरहेको भन्दै आवाज उठेपछि उर्जामन्त्रीले सोही दिन केही ठूला उद्योगहरूमा विद्युत आपूर्तिमा देखिएको समस्याबारे उद्योगी तथा व्यावसायीसँग छलफल गरेकी हुन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० बैशाख २०७९, मंगलबार  १२ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।