९४ प्रतिशत स्वामित्व ट्रस्टसँग रहेको चर्चित ब्राण्ड बोसले नेपालमा खोल्यो बिक्री सम्पर्क कार्यालय


मोबिलिटी इकोसिस्टममा नेतृत्वदायी प्रविधि तथा सेवा प्रदायक कम्पनी बोस लिमिटेडले काठमाडौंको नक्सालमा सम्पर्क कार्यालय खोलेको छ ।

भारतमा सय वर्षभन्दा लामो विरासतपछि यो सम्पर्क कार्यालय मार्फत बोसले नेपालमा सशक्त उपस्थितिको प्रयास गरेको हो ।

नेपाल सरकार पूर्वाधार विकासका कार्यमा केन्द्रित भइरहेको तथा विकास निर्माणका क्रियाकलापमा भएको वृद्धिले सवारीसाधन उद्योगमा माग उच्च बनाएका बेला बोसले नेपालमा नयाँ कदम चालेको हो ।

एसिया र प्रशान्त क्षेत्रमा इन्जिनियरिङ तथा उत्पादनमूलक क्षेत्रको विस्तार र स्थानीयकरणमा गतिशील विकासले गर्दा प्रगतिका अवसरहरु बढेका छन् । यस क्षेत्रमा लामो इतिहास र परम्परा बोकेको बोसले स्थानीय बजारमा आफ्ना उत्पादनको सशक्त उपस्थिति गराएर पदचाप बलियो बनाउने प्रयास निरन्तर जारी राखेको छ ।

नेपालमा बोसका क्रियाकलाप विशेष गरी अटोमोटिभ पार्टपुर्जाको बजार, पावर टुल्स, निर्माण प्रविधि, बोस रेक्सरोथ र बोस साइमेन्स होम अप्लाइन्सेस सेग्मन्टका वस्तु र सेवा प्रदानमा केन्द्रित हुनेछ ।

११ सर्भिस पार्टनर र २५ कर्मचारीको बलमा बोसले सन् २०२४ सम्ममा आफ्नो बिक्री पहुँच तेब्बर बनाउने लक्ष्यका साथ नेपालभरका हजारभन्दा बढी सेकेन्डरी रिटेल ग्राहकलाई सेवा दिनेछ ।

सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै बोस लिमिटेडका म्यानेजिङ डाइरेक्टर तथा बोस ग्रुप भारतका प्रेसिडेन्ट सौमित्र भट्टाचार्यले सञ्चालनको आकार विस्तार गर्ने अभियानमा रहेको बोस प्राकृतिक सुन्दरता र समृद्ध संस्कृतिका लागि प्रशिद्ध मुलुक नेपालमा सेवा सुरु गर्ने पर्खाइमा रहेको बताए । बोसले श्रीलंका, बंगलादेश र भारतमा प्राथमिक कार्यालय र भुटानमा आपूर्ति कार्यालयहरुका साथ सार्क मुलुकसँग सदैव सहयोगपूर्ण सम्बन्धको लाभ लिइरहेको बताएका भट्टाचार्यले अत्याधुनिक र विशिष्ट रुपमा निर्मित उत्पादन तथा सलुसन्सका साथ नेपालको मोबिलिटी र त्यसबाहिरको क्षेत्रमा जर्मन इन्जिनियरिङको अब्बल उत्पादनमार्फत सेवा दिने लक्ष्य राखेका बताए ।

नेपालमा कार्यालय उद्घाटनसँगै बोसले सामाजिक सहभागिताको आफ्नो प्रतिबद्धता लगायत ओखलढुंगा र पोखरामा स्वास्थ्य सचेतना र बालिकाहरुका लागि कार्यक्रम सुरु गर्नुका साथै आफ्नो सेकेन्डरी सेल्समा संलग्न जनशक्तिलाई सीप सिकाउन सुरु गरेको छ ।

समय क्रममा बोसले जीवनस्तरलाई अझ माथि उकास्ने लक्ष्य लिएर उपयोगी र रोमाञ्चक उत्पादन तथा समाधान विकास गर्ने उद्देश्य प्राप्तिका लागि अनुसन्धान र विकासमा अर्बौं युरो लगानी गरेको छ ।

बोसको ९४ प्रतिशत स्वामित्व रोबर्ट बोस इन्डस्ट्रिएट्रेउहान्ड केजी ट्रस्टसँग

द बोस ग्रुप प्रविधि र सेवाको नेतृत्वदायी विश्वव्यापी आपूर्तिकर्ता हो । सन् २०२१ को डिसेम्बर ३१ सम्मको आँकडा अनुसार यसले विश्वभर ४ लाख १ हजार ३०० जनालाई रोजगारी दिएको छ । प्रारम्भिक तथ्यांकअनुसार यो कम्पनीको सन् २०२१ को बिक्री ७८.८ अर्ब युरो बराबर छ ।

यसको सञ्चालन व्यवसायका चार क्षेत्रमा विभाजित छन्ः मोबिलिटी सोलुसन्स, औद्योगिक प्रविधि, सर्वसाधारणले प्रयोग गर्ने वस्तु (कन्जुमर गुड्स) र ऊर्जा तथा भवन प्रविधि हुन् । प्रमुख आईओटी प्रदायकको रुपमा बोसले स्मार्ट घर, इन्डस्ट्री ४.० र कनेक्टेड मोबिलिटीका लागि नयाँ नयाँ सोलुसन्सहरु प्रदान गर्दछ ।

बोसले दीर्घकालीन, सुरक्षित र रोमाञ्चकारी मोबिलिटीको भिजन पछ्याइरहेको छ । यसले आफ्नो विज्ञता सेन्सर प्रविधि, सफ्टवेयर र सेवामा प्रयोग गर्दछ । यसको आफ्नै आइओटी क्लाउड छ । यसको उद्देश्य आफ्ना ग्राहकलाई एउटै स्रोतबाट संयोजित, क्रस–डोमेन समाधानहरु प्रस्तुत गर्नु हो ।

बोस समूहको रणनीतिक उद्देश्य कृत्रिम बौद्धिकता (एआई) युक्त वा यसको सहयोगमा उत्पादित वा विकसित वस्तु र समाधानसँग जोडिएको जीवनलाई सहजीकरण गर्नु हो । बोसले नवीन उत्पादन र सेवामार्फत विश्वभरको जीवनको गुणस्तर सुधार गर्दै उमंग जागृत गराउँछ ।

द बोस ग्रुपमा रोबर्ट बोस जिएमबिएच र यसका करिब ४४० भगिनी संस्था तथा ६० देशमा छरिएका क्षेत्रीय कम्पनीहरु छन् । सेल्स एन्ड सर्भिस पार्टनरसहित बोसको ग्लोबल म्यानुफ्याक्चरिङ, इन्जिनियरिङ र बिक्री सञ्जालले विश्वका लगभग सबै मुलुकलाई समेट्छ । विश्वभर ४०० भन्दा बढी ठेगाना रहेको बोस ग्रुप सन् २०२० को पहिलो त्रैमासदेखि कार्बन न्युट्रल (कार्बन तटस्थ) बनेको छ । कम्पनीको भावी प्रगतिको आधार यसको नवप्रवर्तन शक्ति हो । विश्वका १२८ ठेगानामा बोसले ७६ हजार ३०० जनशक्तिलाई अनुसन्धान र विकासमा खटाएको छ, जसमा ३८ हजारभन्दा बढी सफ्टवेयर इन्जिनियर छन् ।

यो कम्पनी सन् १८८६ मा स्टुटगार्टमा रोबर्ट बोसले ‘वर्कसप फर प्रिसिसन मेकानिक्स एन्ड इलेक्ट्रिकल इन्जिनियर’ को नामबाट स्थापना गरेका थिए । रोबर्ट बोस जिएमबिएचको विशेष स्वामित्व संरचनाले बोस समूहको उद्यमसम्बन्धी स्वतन्त्रताको ग्यारेन्टी गर्छ, जसले गर्दा कम्पनीलाई दीर्घकालीन योजना बनाउन र आफ्नो भविष्यको सुरक्षामा महत्वपूर्ण अग्रिम लगानीहरु गर्न सम्भव बनाउँछ ।

रोबर्ट बोस जिएमबिएचको ९४ प्रतिशत सेयर पुँजी परोपकारी फाउन्डेसन रोबर्ट बोस स्टिफ्टुङ जिएमबिएचसँग छ । बाँकी शेयर रोबर्ट बोस जिएमबिएचसँग र बोस परिवारको स्वामित्वमा रहेको एउटा निगमसँग छ । बहुमत मताधिकार रोबर्ट बोस इन्डस्ट्रिएट्रेउहान्ड केजीसँग छ । यो औद्योगिक ट्रस्ट हो । उद्यमसम्बन्धी स्वामित्वको काम सोही ट्रस्टबाट हुन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।