पूँजी बजारलाई परिपक्क बनाउनु पर्नेमा सबै एक तर बनाउने कसले ?

0
Shares

धितोपत्र बजारलाई परिपक्क बनाउनु पर्नेमा संवद्ध सबै पक्ष सहमत जस्तै देखिएका छन् । तर, परिपक्क बनाउनु पर्ने कसले हो भन्ने अझै पनि निक्र्यौल हुन सकेको छैन ।

शुक्रबार नेपाल उद्योग बाणिज्य महासंघले आयोजना गरको परिपक्क पूँजीबजार सम्मेलनमा सहभागी सबै पक्षहरुले बजारलाई परिपक्क बनाउनु पर्ने आवाज उठाए । तर, बजारलाई कसरी परिपक्क बनाउने भन्ने सन्दर्भमा भने जिम्मेबार निकायहरु नै दुविधामा रहेको देखिन्छ ।

बजारलाई परिपक्क बनाउनका लागि अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डको सहकार्य जरुरी छ । तीनै निकायको बुझाई समेत धितोपत्र बजार प्रति एक भएको देखिदैन । सेयर बजार प्रति सरकारको बुझाइ, नेपाल राष्ट्र बैंकको नीति तथा धितोपत्र बोर्डको कच्चापनका कारण बजारमा आउने अस्वभाविक उतारचढावको विषयलाई कसैले पनि स्विकार गरेको देखिएन ।

कार्यक्रमलाइ सम्बोधन गर्दे नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले सेयर बजारसंग जोडिएका सबै पक्षले खोजेको धितोपत्र बजारको परिपक्कता रहेको बताए । “धितोपत्र बजारको परिपक्कतालाई सबै सम्बद्ध पक्षहरुले गहन रुपमा बुझन् जरुरी छ,” उनले भने,“धितोपत्र बजारलाई परिपक्क बनाउन धितोपत्र बोर्डबाट नै सुरु हुनु पर्छ ।”

धितोपत्र बजारमा आउने ठुला संस्थाले सर्वसाधारणलाई गलत प्रयोग गरेको भन्ने बुझाइलाई चिर्दै बुक विल्डिङ विधिलाई पारदर्शि र प्रभावकारी रुपमा अभ्यासमा ल्याउनु पर्ने उनले बताए । उनले धितोपत्र बजारको सन्तुलन कायम गर्नका लागि संस्थागत लगानीको सहभागिता बढाउन पर्ने बताए । उनले नेपाल सरकार पनि धितोपत्र बजारको परिपक्कताका लागि चासो देखाएको बताए ।

धितोपत्र बजारको विस्तार गर्दै वैदेशिक रोजगारीमा गएका नेपालीका लागि साधारण सेयरमा कोटा छुट्याइने भनेको विषय आगामी २ महिनासम्ममा कार्यान्वयनमा आउने ठोकुवा हमालले गरे । विदेशमा बस्ने नेपाली मुलका नेपालीहरुको बचतलाई पनि धितोपत्र बजारमा परिचालन गर्ने योजना अनुसार काम भैरहेको बताउँदै उनले भने,“आगामी ३ महिनामा यसलाई पनि कार्यान्वयन गर्ने गरी काम भैरहेको छ ।”

त्यसैगरी साना तथा मझौला उद्योगका लागि नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा छु्ट्टै प्लेटफर्म दिन जरुरी रहेको उनको बुझाई छ । त्यसका साथै कृषि क्षेत्रका साना तथा मझौला उद्योगलाई प्राथमिकतामा राखेर पूँजी तथा ज्ञान दिने गरी भेञ्चर क्यापिटल सञ्चालन गर्ने काम पनि अघि बढीरहेको उनले बताए ।

नेपाल राष्ट्र बैंकका डेपुटि गभर्नर बम बहादुर मिश्रले परिपक्कता सबै क्षेत्रमा अति नै आवश्यक हुने बताए । धितोपत्र बजार अर्थतन्त्रको ऐनको रुपमा स्थापित हुन सकोस भन्दै मिश्रले भने,“धितोपत्र बजारको अवस्थालाई हेरेर धितोपत्र बोर्डका अध्यक्षको कुरा सुनेपछि मन शान्त भयो ।” उनले धितोपत्र बजार इथिक वाइज, ट्रान्जेक्सन वाइज, टेक्नोलोजी वाइज, पोलिसी वाइज र बजारमा सहभागि क्षेत्र अनुसार परिपक्कता आवश्यक रहेको बताए ।

धितोपत्र बजारमा बैंक वित्तीय संस्थाको बाहुल्यता रहेको छ । नेपाल राष्ट्र बैंकले ल्याउने सानो भन्दा सानो नीतिगत व्यवस्थाले धितोपत्र बजारलाई प्रभावित बनाउने यथार्थ विधितै भएपनि उनले केन्द्रीय बैंकको नीतिगत व्यवस्था सन्दर्भमा केही बोलेनन् । बजारका लागि चाहिने कुरामा औल्याएका मिश्रले रेमिट्यान्स पठाउने बैदेशीक रोजगारीमा गएकाहरुलाई सम्मान गर्न समेत आग्रह गरे । साथै उनले नेपाल राष्ट्र बैंकले गैर आवासीय नेपालीका लागि डलरमा खाता खोलेर राख्न र लैजान मिल्ने अफर सहितको नीतिगत व्यवस्था गरेको बताए ।

कार्याक्रममा उद्योग बाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योग बाणिज्य महासंघले ५० लाख जनताको चासो र चिन्तको विषयमा छलफल गरेको बताए । कोरोना महामारीपछि अर्थतन्त्रमा हरेक पक्षमा कर्जाको माग बढेको भएपनि अर्थतन्त्रको संरचनाले त्यसलाई सम्बोधन गर्न नसकेको उनले बताए ।

पछिल्लो समयमा अर्थतन्त्रमा परेको दवावको असर धितोपत्र बजारमा पनि देखिन थालेको बताउदै उनले भने, “पूँजीबजारलाई देश अर्थतन्त्रको ऐनको रुपमा हेरिन्छ, यसको विकास र विस्तारमा सबै पक्षहरुको सहकार्य आवश्यक छ ।” कोभिड महामारीमा समेत निरन्तर बढेको बजार अहिले उच्च दरमा घटेको छ । पछिल्लो समयमा ब्याजदरको वृद्धिले सेयर बजारमा नकारात्मक असर पारेको उनले बताए । साथै नेपाल राष्ट्र बैंकले मार्जिङ ल्याण्डिङ्गको सिङगल अब्लिगर लिमिटको व्यवस्था गरेपछि लगानीकर्ताको मनोबल झनै कमजोर भएको उनको भनाई छ ।

धितोपत्र बजारको परिपक्कता र स्थीरताका लागि विदेशी कम्पनीहरुले नेप्सेको सेयर खरिद गर्ने, इन्ट्रा डे टे«डिङ, सर्ट सेल, संस्थापक सेयरलाई साधारण सेयर सरहको कारोबार आवश्यक रहेको उनले औल्याए । धितोपत्र बजार संगै कमोडिटी मार्केटको पनि विकास गर्नुपर्ने बताउँदै उनले भने,“ब्रोकर संख्या बढाउनुका साथै वित्तीय औजार पनि बढाउनु पर्ने छ ।” धितोपत्र बजारमा गौरआवसीय नेपालीलाई भित्राउने, इन्साइडर कारोबारलाई नियन्त्रण गर्ने, बैंक मर्चेन्ट बैंक र ब्रोकरमा विदेशी साझेदार भित्र्याउन ध्यान दिनुपर्ने उनको सुझाव छ । अर्थतन्त्र सधै यस्तै नरहने भन्दै उनले आर्थिक सुधारमा पूँजी बजारले महत्वपुर्ण योगदान दिने बताए । अर्थतन्त्र विस्तार संगै पूँजी बजारको पनि विस्तार हुने उनको बुझाई छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ बैशाख २०७९, शुक्रबार  १३ : ३९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।