
संसारकै धनाढ्य व्यक्ति बिल गेट्सले अन्तर्राष्ट्रिय समाचार माध्यम सीएनएनले लिएको अन्तरवार्तामा विश्वव्यापी अर्थतन्त्र सुस्त हुँदा आर्थिक मन्दी हुन सक्ने संकेत गरेका छन् ।
माइक्रोसफ्टका संस्थापक तथा संसारकै धनाढ्य व्यक्ति बिल गेट्सले फैलिएको कोभिड–१९ महामारीका कारण विश्वव्यापी अर्थतन्त्र पूर्णरुपमा रिकभर नभएको र रुस–युक्रेन युद्धका कारण विश्व अर्थतन्त्र अझ जटिल बन्दै जाने बताएका हुन् ।
महामारीका कारण विभिन्न राष्ट्रहरु पहिले नै ऋणमा छन् र आपूर्ति श्रृङखलाको अवरोध, मुद्रास्फीति जस्ता समस्याबाट ग्रसित छन् । मुद्रास्फीति चार दशक यताकै उच्च हुन पुगेको छ । जसलाई नियन्त्रणमा ल्याउन अमेरिका, बेलायत लगायतका केन्द्रीय बैंकहरुले औसत ब्याजदर बढाइरहेका छन् ।
विकसित अर्थतन्त्र भएका केन्द्रीय बैंकले औसत ब्याज दर बढाउदै गर्दा विकासशील तथा विकासोन्मुख अर्थतन्त्र भएका देशहरुले भोग्नु पर्ने समस्याबारे आपूm चिन्तित रहेको बिल गेट्सले अन्तरवार्तामा बताएका छन् ।
गेट्स भन्छन्, “विकसीत राष्ट्रहरु आर्थिक समस्याबाट ग्रसित हुँदा विकासोन्मुख राष्ट्रको मूलत: स्वास्थ्य सेवा प्रभावित हुने छ ।” अप्रिल महिनामा प्रकाशन भएको एक ब्लगमा बिल गेट्स लेख्छन्, “यदि हामीले अर्को महामारी रोक्न चाहन्छौं भने, हामीले कोभिड–१९को समय अगाडि स्वास्थ्य क्षेत्रमा गरिएको लगानी बढाउनु पर्छ जसकारण धनी र गरिब बीचको स्वास्थ्य पहुँच समान रहोस् ।”
यसैगरी मुद्रास्फीति नियन्त्रण गर्न अमेरिकी केन्द्रीय बैंक, फेडरल रिजर्भ लगायतका केन्द्रीय बैंकहरुले बढाएको औसत ब्याज दरका कारण आर्थिक गतिविधिमा ह्रास आउने हुँदा आर्थिक मन्दी समेत हुन सक्ने जनाएका छन् । मुद्रास्फीति दर वृद्धि र आर्थिक मन्दीको सम्भावनाको सन्दर्भमा वाल स्ट्रीट बैंकहरु पनि आफ्नो विचारलाई लिएर विभाजित भएका छन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया