वीरगञ्ज चिनी कारखाना सञ्चालनका लागि उद्योगी व्यवसायीले सहयोग गर्नुपर्छः अर्थमन्त्री

0
Shares

अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले वीरगञ्ज चिनी कारखाना सञ्चालनका लागि आवश्यक प्रकृया अघि बढाएकाे भन्दै मिल सञ्चालनका लागि वीरगञ्ज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने बताएका छन् ।

वीरगञ्ज उद्योग वाणिज्य संघको ४६ औंसाधारण सभालाई शनिबार दिउँसो सम्बोधन गर्दै मन्त्री शर्माले किसानलाई प्रोत्साहन गर्न र कच्चा पदार्थको उपलब्धता बढाउन वीरगञ्ज क्षेत्रकै उद्योगी व्यवसायीले पनि सहयोग गर्नुपर्ने उल्लेख गरे ।  ‘वीरगञ्ज चिनी मिल चलाउने भनेर बजेटबाटै कुरा उठाइएको छ, यो कुनै मजाक गरेको होइन’ उनले भने, ‘६–७ महिनादेखि निरन्तर यसबारे गरेको अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा कार्यक्रम राखिएको हो ।’ उनले भने । 

वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रममा पुग्नुअघि शनिबार बिहान बीरगञ्ज चिनी उद्योगको निरिक्षण गरेका अथर्मन्त्रीलाइ सो अवसरमा कार्यरत कर्मचारीले चिनी मिल सञ्चालन योग्य रहेको जानकारी दिएका थिए । अर्थमन्त्री शर्मा, अर्थसचिव मधुकुमार मरासिनी, राजस्व व्यवस्थापन महाशाखा प्रमुख तथा सहसचिव भूपाल बराल लगायतको टोलीले चिनी उद्योगको निरिक्षण गरेको थियो।

कार्यक्रममा सो क्षेत्रका व्यवसायी र जनप्रतिनिधिले वीरगञ्जलाई वेवास्ता गरेको गुनासो गरेपछि उनले बजेट तथा सरकारको नीति–कार्यक्रमबाट वीरगञ्ज क्षेत्रका उद्योगी व्यवसायीलाई धेरै सम्बोधन गरेको विश्वास दिलाए । मन्त्री शर्माले पथलैया–बीरगञ्ज करिडोर, निजगढ विमानस्थल र द्रुत मार्ग, चिनी कारखाना खोल्ने विषय, सुख्खा बन्दरगाह, एकिकृत भन्सार जाँच चौकी निर्माण लगायतका माध्यमबाट बीरगञ्जका उद्योगीलाई सम्बोधन गरिरहेको बताए ।

त्यस्तै आन्तरिक उत्पादन वृद्धिका माध्यमबाट दिगो अर्थतन्त्र निर्माण गर्ने, विद्युतमा छुट दिएर स्वदेशी उद्योगको संरक्षण गर्ने, निर्यातमा ८ प्रतिशतसम्म प्रोत्साहन रकम दिने, तयारी र कच्चा वस्तुको आयातमा लाग्दै आएको भन्सार दरमा एक तहको अन्तर गर्नेलगायतका विषयबस्तु राखेर देशभरका उद्योगीलाई सम्बोधन गर्ने क्रममा वीरगञ्जका व्यवसायी पनि समेटिएको बताए ।

कार्यक्रममा अर्थमन्त्रीले बाराको निजगढमा अन्तर्राष्ट्रिय बिमानस्थल बनाउने प्रतिबद्धता जनाएका छन् । सर्वोच्च अदालतले निजगढ बिमानस्थल नबनाउन सरकारको नाममा अन्तरिमा आदेश दिएपनि अदालतको वेवास्ता गर्दै वीरगञ्ज उद्योग वाणिज्य संघको ४६ आंै साधारण सभा मार्फत मन्त्री शर्माले सो प्रतिबद्धता जनाएका हुन् ।

‘निजगढ बिमानस्थल बनाउनुपर्छ, बन्छ । यो जनार्दन शर्माको प्रतिबद्धता भयो’ उनले भने, ‘यो सरकारले निजगढ विमानस्थललाई उच्च प्राथमिकतामा राखेको छ ।’ उनले त्रिभुवन विमानस्थलको वैकल्पिक रुपमा मात्र नभएर मधेश र मुलुकै सर्वाङ्गीण आर्थिक विकासका लागि निजगढ विमानस्थल चाहिएको बताए ।

निजगढ बिमानस्थल र काठमाडौं–तराई द्रुत मार्गलाई सँगसँगै जोड्नु आवश्यक रहेको बताउँदै उनले भने, ‘मधेशलाई काठमाडौंसँग छोटो दुरीमा जोड्ने द्रुत मार्ग बनिरहेको छ । यसमा केवल गाडी मात्र कुदाउने होइन, सो द्रुतमार्गमा राष्ट्रिय–अन्तराष्ट्रिय यात्रुहरुलाई पनि आवात जावत गराउने हो ।’

सो कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनीले वीरगञ्ज क्षेत्र उद्योग व्यापारमा ‘लाइफ लाइन’ भएको बताए । उनले कठिन आर्थिक अवस्थामा बजेट आएको बताउँदै दबाबमा रहेको अर्थव्यवस्थालाई सही दिशामा ल्याएर नेपाल र नेपालीको भाग्य बदल्ने प्रयत्न गरिएको बताए ।

‘बजेटको माध्यमबाट आत्मनिर्भर हुने र उद्योग व्यापारलाई औद्योगिकरण गर्न खोजिएको छ’ अर्थ सचिव मरासिनीले भने, ‘निजी क्षेत्रलाई आर्थिक वृद्धिको इन्जिनको रुपमा लिने सम्भवत सरकारको यो पहिलो दस्ताबेज हो ।’

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।