गाडीको ठक्करबाट र स्काभेटरले किचेर दुईको मृत्यु

0
Shares

चितवनमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत रत्ननगर नगरपालिका–३ मा गाडीको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको हो । ठक्कर दिने गाडी फरार रहेको र खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।

ठक्करबाट घाइते अन्दाजी ३०/३२ वर्षीय पुरुषको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनको पहिचान खुलेको छैन ।

स्काभेटरले किचेर एकको मृत्यु

डडेल्धुराको आलिताल गाउँपालिका–४ जालटुडामा स्काभेटरले किचेर एकजनाको मृत्यु भएको छ । स्काभेटरको ठक्करबाट मृत्यु हुनेमा आलिताल गाउँपालिका–४ का ५२ वर्षीय मानबहादुर बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

आइतबार राति परशुराम नगरपालिकाको जोगबुडाबाट डोटीको बुडरतर्फ आइरहेको बा२क ५४६४ नंको स्काभेटरले किच्दा पैदल यात्री बोहराको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए। घटना राति घटेको र चालक फरार रहेकाले कसरी भयो भन्नेबारे केही खुल्न सकेको छैन ।

घटनाको अनुसन्धानबाट सबै कुरा तथ्यसहित छानबिन गरिने प्रहरीले जनाएको छ । उक्त स्काभेटर राजेन्द्र निर्माण सेवा प्रालि, कैलालीको रहेको जनाइएको छ । स्काभेटर चालक शेरबहादुर महरा भने फरार रहेको र उनको खोजी तीव्र पारिएको प्रहरी नायब उपरीक्षक न्यौपानेले जानकारी दिए ।