नेशनल लाइफले साधारण शेयरधनीको हिस्सा बढाउने, साधारण सभा आह्वान

0
Shares

गत आर्थिक बर्षको लाभांश पारित गराउन साधारण सभा डाकेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले शेयर संरचना समेत परिवर्तन गर्ने भएको छ ।

कम्पनीले कात्तिक २४ गते १२ औं वार्षिक साधारण सभा डाकेको छ। उक्त साधारण सभाले अघिल्लो आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट शेयरधनीलाई चुक्ता पूँजीको २.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै कम्पनीले कर सहित १२ प्रतिशत नगद लाभांश पनि वितरण गर्नेछ । हाल कम्पनीको ३ अर्ब ७५ लाख रुपैयाँ चुक्ता पूँजी छ ।

साधारणसभाका लागि कम्पनीले कात्तिक १० गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ। कात्तिक ७ गतेसम्म दोस्रो बजारमा शेयर खरिद गर्ने लगानीकर्ताले साधारणसभामा भाग लिन पाउने छन्।

साथै कम्पनीले यही साधारण सभाबाट शेयर संरचना समेत परिवर्तन गर्ने भएको छ। कम्पनीले हाल सर्वसाधारण तर्फको ३५ प्रतिशत रहेको शेयर हिस्सालाई बढाएर ४९ प्रतिशत पुर्या्उने र संस्थापक तर्फको ६५ प्रतिशत रहेको शेयर हिस्सालाई ५१ प्रतिशतमा झार्न प्रबन्ध पत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव सभामा गर्ने छ।