पहिलो त्रैमासमा निक्षेप संकलनको तुलनामा कर्जा विस्तार दोब्बर बढी

0
Shares

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुले निक्षेप संकलनको तुलनामा दोब्बर भन्दा धेरै कर्जा प्राबाह गरेका छन् । यस अवधिमा बैंकहरुले ४६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १०५ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन् ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुले ५३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर १३५ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका थिए ।

आर्थिक वर्षको पहिलो त्रैमासमा बैकहरुले निक्षेपको दोब्बर भन्दा धेरै कर्जा प्रबाह गर्न सक्नुको कारण भने अघिल्लो आर्थिक वर्षको अन्त्यमा सरकारी खर्च वढ्ने भएकाले बैंकहरुसंग निक्षेप वढेको हुन्छ । त्यसको मद्दतले बैंकहरुले निक्षेपलाइ भन्दा कर्जा विस्तारलाई महत्व दिने गर्छन । त्यसका साथै बैंकहरुले आर्थिक वर्षको पहिलो त्रैमासमा धेरै नै कर्जा प्रबाह गर्नका लागि जोड दिन्छन । पहिलो त्रैमासमा प्रबाह भएको कर्जाले वर्षभरका लागि ब्याज आम्दानी गर्ने भएकाले आम्दानी वढाउनका लागि पनि पहिलो त्रैमासमा कर्जा प्रबाहका लागि धेरै जोड दिने गरेका छन् ।

तर, विगतका वर्षहरुमा बैंकहरुले पहिलो त्रैमास आक्रामक भएर लगानी गर्दा कर्जा लगानी योग्य रकम अभावको समस्या हरेक वर्ष झेल्दै आएका छन् । चालु आर्थिक वर्षमा पनि पहिलो त्रैमास देखिएको आक्रामक कर्जा विस्तारको असर देखिइसकेको छ ।

असोज महिनाको मध्ये देखि नै केही बैंकहरु कर्जा प्रबाह गर्न नसक्ने अवस्थामा पुगिसकेका छन । बैंकहरुले आगामी दिन निक्षेप नवढाएसम्म कर्जा विस्तार गर्न सक्ने अवस्था छैन । बैंकहरुले नयाँ निक्षेप नल्याएको खण्डमा कर्जा प्रवाह गर्न नसक्ने अवस्था देखिन्छ । पछिल्लो समयमा अधिकासं बैंकहरुको पुँजी, कर्जा तथा निक्षेप(सिसिडि) अनुपात ७९ प्रतिशतको हाराहारीमा रहेको छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई सिसिडि रेसियो ८० भन्दा माथि जान नहुने व्यवस्था गरेको छ ।

बैंकहरुले चालु आर्थिक वर्षको पहिलो महिनामा साउनमा २३ अर्ब निक्षेप झिकिएको थियो । सो अवधिमा बैंकहरुले ९ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका थिए । त्यसैगरी भदौ महिनामा बैंकहरुले १० रुपैयाँ निक्षेप संकलन गरेर ४४ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्तिम महिना असोज २४ गते सम्ममा बैंकहरुले ५८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ५२ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका छन । यो तथ्याङकले पनि बैंकहरुले निक्षेपका लागि भन्दा पनि कर्जामा धेरै जोड गरेको स्पष्ट हुन्छ । त्यसका साथै बैंकहरुले चालु आर्थिक वर्ष सुरु भएदेखि बैंकहरुले प्रबाह गरेको कर्जाको तुलनामा निक्षेप संकलन न्यून छ । यसले पनि आगामी दिन नयाँ निक्षेप विना कर्जा प्रबाह गर्ने अवस्था नहुने निश्चित छ ।

दशैं लगत्तै बैंकिङ प्रणालीमा ४ अर्ब निक्षेप थपिएको छ । दशै भन्दा अघिको साता ६ अर्ब निक्षेप झिकिएको बैकिंङ प्रणालीमा दशैंपछि निक्षेप थपिएको हो । असोजको पहिलो र दोस्रो सातामा मात्रै वाणिज्य बैंकहरुमा ६० अर्ब निक्षेप थपिएको थियो ।

विदेशमा रहेका नेपालीहरुले आफ्ना आफन्तहरुलाई दशैं तिहार खर्च वापत रेमिट्यान्स पठाउँदा वाणिज्य बैंकको निक्षेपमा असोज पहिलो र दोस्रो साता सुधार आएको थियो । असोजको पहिलो साता २० अर्ब निक्षेप थपिएको थियो भने दोस्रो साता वाणिज्य बैंकहरुमा ४० अर्ब निक्षेप बढेको थियो । त्यसैगगरी तेस्रो साता ६ अर्ब निक्षेप झिकिएको थियो भने चौथो सातामा भने ४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।

असोज २४ गतेसम्म वाणिज्य बैंकहरुमा कुल निक्षेप २९ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ । यस अवधिमा बैंकहरुले कुल २६ खर्ब ३ अर्ब कर्जा प्रवाह गरेका छन्।

असोज पहिलो साता वाणिज्य बैंकहरुले ११ अर्ब रुपैयाँ बराबरले कर्जा प्रवाह गरेकोमा दोस्रो सातमा ३६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । असोजको तेस्रो सातामा ११ अर्ब रुपैयाँ कर्जा प्रबाह गरेका बैंकहरुको असोजको चौथो सातामा भने ५ अर्ब कर्जा घटेको छ ।