उर्जा मन्त्रीलाई २५ रुग्ण जलविद्युत आयोजनाको चाबी बुझाउने कार्यक्रम स्थगित


स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इपान) ले उर्जामन्त्रीलाई रुग्ण जलविद्युत आयोजनाको चाबी बुझाउने कार्यक्रम स्थगित गरेको छ । बिहीबार उर्जामन्त्री वर्षमान पुनसँगको भेट पश्चात भएको सहमति अनुसार इपानले बिरोधको कार्यक्रम स्थगित गरेको हो ।

बिहीबार उर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन र सचिव दिनेश कुमार घिमिरेसँग मन्त्रालयमा रुग्ण जलविद्युत आयोजना समन्वय समिति इपानका बिचमा समस्या समाधानका विषयमा छलफल भएको थियो ।

छलफलमा रुग्ण जलविद्युत आयोजनाका समस्या समाधानका लागि नेपाल विधुत प्राधिकरणसँग सम्वन्धीत मागहरु आउटेज एण्ड लस, अनडेलिभर्ड इनर्जी, अभाइबेलिटी डिक्ल्यारेशन र लेट सीओडी पेनाल्टी लगायत समस्याका बारेमा अध्ययनगर्न सञ्चालक चेतराज जोशीको नेतृत्वमा समिति गठन गरिएको छ ।

विद्युत नियमन आयोगबाट जारी विनियमालीबाट अभाइबेलिटी डिक्ल्यारेशन हटाउने विषयमा मन्त्रालय सकरात्मक बनेको इपानले जनाएको छ ।

जलविद्युतमा दिर्घकालिन रिफाईनान्सिङका लागि नेपाल राष्ट्र बैक समक्ष सिफारिस गरिएकोमा मन्त्रालयले भर्खरै ६५ करोड रकम केही आयोजनालाई पोष्टेड रेट वापत उपलब्ध गराएको उर्जा मन्त्री पुनले इपान प्रतिनिधिलाई जानकारी गराएका थिए ।

यसका साथै रुग्ण जलविद्युत् आयोजनाका अरु मागहरु, प्रति मेगावाट ५० लाख रुपैंया भ्याट फिर्ता, विद्युत खरिद दरमा पुनरावलोकन, व्याजदर नियन्त्रणका दिर्घकालिन उपाय लगायबारे अध्ययन गरि सुझाव प्रतिवेदन तयार गर्न मन्त्रालय सहमत भएको छ । यसका लागि उर्जा मन्त्रालयको नेतृत्वमा अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैक, रुग्ण जलविद्युत आयोजना समन्वय समिति लगायत सरोकारवालाको सहभागीतामा एक उच्चस्तरीय समिति गठन गर्ने समितिको प्रतिवेदनका आधारमा अगाडि बढ्ने सहमति भएको इपानले जनाएको छ ।

उल्लेखित विषयमा मन्त्रालय सहमत भएका कारण २५ रुग्ण जलविद्युत् आयोजनाको चावि शुक्रबार उर्जामन्त्रीलाई हस्तान्तरण गर्ने कार्यक्रम स्थगित गरिएको इपानले जानकारी दिएको हो ।