बैंकहरुमा तरलता अभाव बजेट खर्च निराशाजनक, पहिलो त्रैमासमा साढे ११ प्रतिशत मात्रै खर्च

0
Shares

वित्तीय प्रणालीमा लगानी योग्य रकमको अभाव भईरहेका बेला यता सरकारको बजेट खर्चको अवस्था भने विगतका वर्षहरुमा जस्तै निराशाजनक रहेको छ ।

सरकारले चालु आर्थिक बर्षको पहिलो त्रैमास अर्थात तीन महिनाको अवधिमा कूल बजेटको ११.६१ प्रतिशत मात्र बजेट खर्च गरेको छ ।

सरकारले चालू आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको बजेट ल्याएको थियो।

तर तीन महिनाको अवधिमा एक खर्ब ७७ अर्ब ९८ करोड मात्रै बजेट खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार असोज ३० गतेसम्म सो बजेट खर्च गरेको हो ।

सरकारले पहिलो त्रैमासिक अवधिमा एक खर्ब ५६ अर्ब ७३ करोड चालु खर्च, १८ अर्ब ३६ करोड पूँजीगत खर्च र २ अर्ब ८८ करोड वित्तीय खर्च गरेको छ ।

३ महिनाको अवधिमा कूल बजेटको १६.३८ प्रतिशत चालु खर्च गरेको छ भने पूँजीगततर्फ ४.४१ प्रतिशत र वित्तीय व्यवस्थातर्फ १.७२ प्रतिशत बजेट खर्च भएको छ।

सरकारले चालू आवमा ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ चालू खर्च गर्ने लक्ष्य राखेको छ भने ४ खर्ब ८ अर्ब रुपैयाँ पूँजीगत बजेट छुट्याएको थियो । वित्तीय व्यवस्थापनको लागि चालू वर्षमा १ खर्ब ६७ अर्ब ८५ करोड रुपैयाँमा बजेट विनियोजन गरिएको छ ।

राजश्व संकलन पनि सुस्त

सरकारले चालू आर्थिक वर्षको ३ महिनामा १ खर्ब ८२ अर्ब ७० करोड ०२ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । जुन लक्ष्यको १६.४३ प्रतिशत हो ।

सरकारले यस अवधिमा कर शीर्षक अन्तर्गत १ खर्ब ७२ अर्ब १८ करोड ८४ लाख र गैरकर शीर्षक अन्तर्गत १० अर्ब ५१ करोड १८ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । सरकारले चालू आर्थिक वर्षमा ११ खर्ब १२ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ ।