मधेस प्रदेशको कुल निक्षेपमा पर्साको योगदान उच्च, रौतहटको सबैभन्दा कम

0
Shares

चालु आर्थिक वर्षको पुस महिनासम्ममा मधेस प्रदेशका बैंक तथा वित्तीय संस्थाले साढे २ खर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । यो निक्षेप गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.२४ प्रतिशतले धेरै हो ।

मधेस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरुमा रहेको निक्षेपमा रौतहटका सर्वसाधारणको योगदान सबैभन्दा थोरै देखिएको हो । २०७८ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाले मधेश प्रदेशबाट परिचालन २ खर्ब ४७ अर्ब ९ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । मधेश प्रदेशबाट परिचालित कुल निक्षेपमा पर्सा जिल्लाको हिस्सा सबैभन्दा बढी २६.८५ प्रतिशत र रौतहट जिल्लाको हिस्सा सबैभन्दा कम ६.६१ प्रतिशत रहेको राष्ट्र बैंकको अध्ययनले देखाएको छ ।

सो अवधिमा बैंक तथा वित्तीय संस्थावाट कर्जा प्रवाह ४ खर्ब २४ अर्ब १४ करोड पुगेको छ । यो कर्जा रकम गत आवको सोही अवधिको तुलनामा ३७.२९ प्रतिशतले बढेको हो । कुल कर्जा प्रवाह तर्फ पर्सा जिल्लाको अंश सबैभन्दा बढी ३७.३४ प्रतिशत र सप्तरी जिल्लाको सबैभन्दा कम ४.९७ प्रतिशत रहेको केन्द्रीय बैंकले जनाएको छ ।

चालु आवको ६ महिनामा यस प्रदेशमा बैंक वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात औसतमा १७१.६५ प्रतिशत रहेको छ । यो नेपाल राष्ट्र बैंकले तोकेको सीमा भन्दा धेरै हो । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाको कर्जा निक्षेप अनुपात ९० प्रतिशत भन्दा धेरै हुनु हुदैन ।

चालु आवको पुससम्ममा बैंक तथा वित्तीय संस्थाबाट मधेश प्रदेशमा ४४ अर्ब ६८ करोड रुपैयाँ सहुलियतपूर्ण कर्जा प्रबाह भएको छ । गत आवको सोही अवधिमा यस्तो कर्जा ८ अर्ब ५७ करोड रुपैयाँ रहेको थियो ।

चालु आवको पहिलो ६ महिनामा सहुलियतपूर्ण कर्जा प्रवाहमा ठूलो वृद्धि आउनुमा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंक तथा वित्तीय संस्थाले धितोमा आधारित भई अन्य कर्जा सरह सहुलियतपूर्ण कर्जा प्रवाह गरेकाले उल्लेख्य सुधार आएको छ । प्रवाहित कुल कर्जा मध्ये सबैभन्दा बढी २६ अर्ब ११ करोड अर्थात् ५८.४४ प्रतिशत धनुषा जिल्लामा र सबैभन्दा कम ९७ करोड अर्थात् २.१७ प्रतिशत सप्तरी जिल्लामा रहेको राष्ट्र बैंकको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

चालु आवको पुसम्ममा मधेस प्रदेशका प्रमुख उद्योगहरूको उत्पादन क्षमता उपयोग औसतमा ४९.९२ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाबाट औद्योगिक क्षेत्रतर्फ प्रवाह भएको कुल कर्जा २०.४३ प्रतिशतले वृद्धि भई १ खर्ब १२ अर्ब ३४ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ । गत आर्थिक वर्षको यसै अवधिमा यस्तो कर्जा ९३ अर्ब २८ करोड रुपैयाँ थियो । २०७८ पुस मसान्तमा मधेश प्रदेशमा रहेका बैंक तथा वित्तीय संस्थाबाट कृषि, माछापालन र वन क्षेत्रमा ५० अर्ब १ करोड कर्जा प्रवाह भएको छ जुन कुल कर्जाको ११.७८ प्रतिशत हो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २२ असार २०७९, बुधबार  २० : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।