
साझा यातायातले बिहीबारदेखि तीनवटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ । साझाको पुल्चोकस्थित कार्यालयबाट ती बसहरुले औपचारिक रुपमा सेवा शुभारम्भ गरेका हुन् । बसलाई काठमाडौं उपत्यकाको सार्वजनिक यातायात प्रणालीमा समावेश गरिएको छ ।
अन्तराष्ट्रिय टेन्डर मार्फत चिनियाँ कम्पनी सीएचटीसीएचओसँग ४० वटा विद्युतीय बस खरिद सम्झौता गरेको साझा यातायातले त्यसमध्ये ३ वटा बस आजदेखि सञ्चालन गरेको हो ।
साझा यातायातले भित्र्याएका विद्युतीय बसमा महिला चालक र सहचालकको व्यवस्था गरिएको छ । त्यसका लागि ४ जना महिला चालक र पाँच जना महिला सह चालकलाई विद्युतीय बसको कार्यक्षमता र सुरक्षा प्रोटोकलबारे तालिम दिएर जनशक्ति तयार पारेको साझा सहकारी संस्था लिमिटेडले जनाएको छ ।
दुई बसहरु माछापोखरी, बालाजु, सोह्रखुट्टे, जमल, पुरानो बसपार्क, माइतिघर, नयाँ बानेश्वर, तिनकुने, सिनामंगल र एयरपोर्ट रुटमा सञ्चालन हुनेछ । यसैगरी एक विद्युतीय बसले लगनखेल, जावलाखेल, कुपण्डोल, त्रिपुरेश्वर, नेपाल वायुसेवा निगम, लैनचौर, शिक्षण अस्पताल, नारायणगोपाल चोक, बाँसबारी हुँदै बुढानिकलकण्ठसम्म पनि सेवा दिनेछ ।

प्रति बस डेढ करोड रुपैयाँ मूल्यमा साझाले ६१ करोड रुपैयाँ खर्चिएर ४० वटा बस खरिद गर्न लागेको हो । बस बिक्रेता कम्पनीसँग चार्ज सहित ५ वर्षको सबैखालको मर्मतको सुविधा पनि दिनुपर्ने गरी साझाले खरिद सम्झौता गरेको छ । थप ३७ वटा बस तीन चरणमा साउन मसान्तसम्म ल्याइसक्ने योजना रहेको साझाले जनाएको छ । सार्वजनिक सवारीतर्फ विद्युतीय गाडी गुडाउने उद्देश्य सहित साझाका लागि चीनको नान्जिङ स्थित कारखानामा आवश्यक बस निर्माण भइरहेका छन् ।
साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले निकट भविष्यमा थप नयाँ विद्युतीय बस ल्याउने र डिजेल बसहरुलाई रुपान्तरण गरेर विद्युतीय बसाउने साझाको योजना रहेको बताए । डिजेल बसहरुलाई विद्युतीय बसहरुमा रुपान्तरण गर्ने योजना अनुरुप एउटा बस परिक्षणको रुपमा डिजेलबाट विद्युतीयमा रुपान्तरण गरिने काम भैरहेको उनले जानकारी दिए । साझाको एउटा युनिटले सो काम गरिरहेको उनको भनाई छ ।
नेपाल सरकार पनि विद्युतीय बस सञ्चालनको बाटोमा रहेको जानकारी दिँदै उनले भने, “भविष्यमा डिजेलमा सञ्चालित भएका साना ठूला सवारी साधनहरु रुपान्तरण भएर विद्युतीयमा आउनेछन् । ठूला स्तरीय विद्युतीय बस ल्याउने साझाको योजना छ । ”

सरकारले २०७५ पुस ९ गते सरकारी लगानीमा ३०० वटा बिजुली बस किन्ने निर्णय गरेको थियो । विसं २०७६ साउनमा यातायात मन्त्रालयले साझालाई विद्युतीय बसहरु किन्न आधारभूत मापदण्ड पनि दिएको थियो । त्यसपछि बस किन्न चलखेल भएको आशंका गर्दै रकम फिर्ता लगेको सरकारले २०७७ माघमा फेरि ३ अर्ब रुपैयाँ फेरि साझालाई दिँदै विद्युतीय बस किन्न अनुमति दिने निर्णय लिएको थियो ।
अहिले २५ सिट र सोभन्दा बढी क्षमताका विद्युतीय बस काठमाडौंमा आएका हुन् । क्रमैसँग आधुनिक सुविधासहितको विद्युतीय बसहरु थप्ने जाने साझाले जनाएको छ । यसपछि अन्तरप्रदेश चल्नेगरी १२ मिटर लामा विद्युतीय बसहरु पनि ल्याउने साझाको योजना छ ।
सरकारकै बहुमत सेयर रहेको साझा यातायात सहकारीसँग ७१ वटा डिजेल बस रहेकोमा विद्युतीय सहित अहिले ७४ वटा ठूला बस छन् ।
साझाको विद्युतीय बसमा के के छन् सुविधा ?
अन्तराष्ट्रिय टेन्डर मार्फत चिनियाँ कम्पनी सीएचटीसीएचओसँग खरिद गरिएको विद्युतीय बसमा एक चालक सिट तथा शारिरिक अशक्तहरुका लागि १ सिट सहित कुल २६ सिट क्षमता रहेको छ ।
बसमा यात्रुका लागि आनन्ददायी सिट, उभिएर यात्रा गर्न ह्यान्डल बार, टिभी, वाइफाई, सीसीटीभी, डस्टबिन, इमर्जेन्सी एक्जिट र बस रोक्न विशेष बटनको सुविधा पनि छ ।
यस्तै एबीएस, प्यासेन्जर अनाउन्समेन्ट सिस्टम, डीभीआर प्लेयर र जीपीएस ट्र्याकिङ डिभाइस लगायतका विशेषता पनि छन् । जीपीएस ट्र्याकिङ डिभाइसले चालकलाई मद्दत गर्ने पनि अपेक्षा गरिएको साझा यातायातले जनाएको छ ।

बसमा १६१.२८ किलोवाटको ब्याट्री प्रयोग गरिएको छ । जसले ४५ किलोवाटको चार्जरमा पाँच घण्टा चार्ज गर्दा २०० किलोमिटर गुड्न सक्छ । सिटी बसको डिजाइनमा बनेको यो बस सेमी फ्लो बस हो । जुन वृद्ध, अशक्त, र बालबालिकाहरुको लागि उपयोगी मानिन्छन् ।
यी बसहरुको मुख्य प्रवेशद्धार फराकिलो रहेको छ । यो बस ह्वील चेयर फ्रेन्डली छ र बसमा रहेको र्याम्पलाई तल झारेपछि सजिलै ह्वील चेयलाई गुडाउँदै माथि बसभित्र लैजान सकिन्छ । बसमा ह्वील चेयर राखेर बस्न मिल्ने छुट्टै विशेष व्यवस्था रहेको छ । ह्वील चेयर नभउको खण्डमा फोल्ड गर्नमिल्ने दुईवटा सिट झारेर बस्न समेत सकिन्छ । अहिले ९ मिटर लामो बस किनिएको हो ।
ग्लोबल टेन्डर मार्फत खरिद गरिएका ४० वटा बसमध्ये ३ वटा बस यही बिहीबारबाट सञ्चालनमा आएको हो । बाँकी बसहरु केही महिनाभित्रै आइपुग्ने साझाले जानकारी दिएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया