वाणिज्य बैंकमा एकैदिन थपियो १३ अर्ब निक्षेप, साढे ३ अर्ब पुँजीगत खर्च

0
Shares

सरकारले पुँजीगत खर्च अत्याधिक गर्दा वाणिज्य बैंकहरुमा बुधबार एकैदिन १३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । चालु आर्थिक वर्ष सकिन एक साताभन्दा केही मात्र बढी समय बाँकी रहँदा समग्र बैंकिङ्ग प्रणालीमा भने दैनिक १५ अर्ब रुपैयाँ हाराहारीमा निक्षेप थपिन थालेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार बुधबारसम्म वाणिज्य बैंकहरुमा निक्षेप ४४ खर्ब ७० अर्ब रुपैयाँ पुगेको हो । मंगलबारसम्ममा वाणिज्य बैंकहरुमा ४४ खर्ब ५७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । यस अवधिमा विकास बैंक तथा फाइनान्स कम्पनीहरुमा १ अर्बले निक्षेप बढेको छ ।

असार २२ गते बुधबारसम्म विकास बैंक र फाइनान्सहरुको कुल निक्षेप संकलन ५ खर्ब ९२ अर्ब रहँदा कर्जा लगानी ५ खर्ब ३१ अर्ब रहेको छ । समीक्षा अवधिमा बैंकिङ्ग क्षेत्रको अन्तरबैंक सापटी दर औसतमा ७ प्रतिशत रहेको छ ।

बुधबार वाणिज्य बैंकहरुको कर्जा लगानी अघिल्लो दिनको तुलनामा ४ अर्बले घटेर ४१ खर्ब ७६ अर्ब रुपैयाँमा झरेको छ । यस्तै विकास बैंक र फाइनान्समा भने अघिल्लो दिनभन्दा १ अर्बले कर्जा लगानी बढेको छ ।

समग्र प्रणालीमा बुधबारसम्म १४ अर्बले निक्षेप बढेर ५० खर्ब ६१ अर्ब रुपैयाँ पुगेको छ । मंगलबारसम्म ५० खर्ब ४७ अर्ब रहेको थियो । चालु आर्थिक वर्ष सकिन लाग्दा सरकारले आर्थिक वर्षमा भएको विकास निर्माणको भुक्तानी तीव्र रुपमा बढाएको छ । यसले पनि बैंकिङ्ग प्रणालीमा आकर्षक रुपमा निक्षेप वृद्धि देखिन थालेको हो ।

सरकारी खर्चको लेखा राख्ने महालेखा नियन्त्रकको कार्यालयका अनुसार असार २२ गते बुधबार मात्रै ३ अर्ब ५७ कराेड १५ लाख रुपैयाँ खर्च भएको हो । यसदिनसमम कुल १ खर्ब ६४ अर्ब २९ लाख ५८ हजार रुपैयाँ खर्च भएको छ । यो कुल विनियोजित बजेटको ४३.४५ प्रतिशत हो ।

सरकारले चालु आर्थिक वर्षमा पुँजिगत शीर्षकमा ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो ।  असार २१ गते मंगलबारसम्म (४२.५१ प्रतिशत) १ खर्ब ६० अर्ब ७२ करोड ४३ लाख रुपैयाँ पुँजीगत खर्च भएको थियो । पछिल्लो दिन मात्रै करिब एक प्रतिशत पुँजीगत खर्च भएको हो ।

सरकारी खर्च बढ्दा बैंकहरुको कर्जा निक्षेप अनुपात (सिडी रेसियो) पनि घटेर बुधबारसम्ममा ८८.०६ प्रतिशतमा झरेको नेपाल राष्ट्र बैंकको तथ्याङ्क छ । असार २१ गते मंगलबार ८८.३५ प्रतिशत रहेको बैंकहरुको सिडी रेसियो असार २२ गते थप ०.२९ प्रतिशत बिन्दुले तल आएको हो । यसले बैंकहरुलाई असार मसान्तभित्र सिडी रेसियो ९० प्रतिशतको सीमाभित्र ल्याउन सहज हुने भएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ असार २०७९, बिहिबार  १८ : ३८ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।