नेपाल चीन लगानी सम्मेलनका लागि सहयोग गर्न महासंघको आग्रह

0
Shares


नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल चीन लगानी सम्मेलन गर्ने योजनामा महासंघ रहेकाले वेइजिङस्थित नेपाली दूतावासले यसमा सहयोग गर्न आग्रह गरेका छन ।

कार्यवाहक अध्यक्ष ढकाल र जनवादी गणतन्त्र चीनका लागि नवनियुक्त नेपाली राजदूत विष्णु पुकार श्रेष्ठबीच आज महासंघ सचिवालयमा भएको औपचारिक भेटवार्तामा सो आग्रह गरेका हुन् ।

महासंघले सम्मेलनलाई प्रमुख प्राथमिकतामा राखी आयोजना गर्न चाहेकाले त्यहां रहेर आवश्यक सहयोग गरिदिने कार्यमा राजदूतबाट नेतृत्वदायी भूमिकाको हामीले अपेक्षा गरेका छौं, कार्यवाहक अध्यक्ष ढकालले भने ।

नेपालमा चिनियां लगानी प्रवद्र्घन गर्न आवश्यक रहेकोमा पनि उहांको विशेष जोड थियो । कोभिड पछि आएको विश्वव्यापी मन्दीको परिवेशमा नेपालको बैंकिङ प्रणालीमा टेवा पुर्याउन पनि चिनिया लगानी ल्याउने कार्यमा हाम्रो कुटनीति सक्रिय रुपमा लाग्नुु पर्ने उनको सुुझाव थियो । कार्यवाहक अध्यक्ष ढकालले नेपाली वस्तुहरुको चीनमा निर्यात प्रवद्र्धन गर्ने कार्यमा र नेपालमा चिनीया पर्यटन बढाउन राजदूतावासको सहयोगको अपेक्षा निजी क्षेत्रले गरेको बताए ।

कार्यवाहक अध्यक्षले महासंघ र अखिल चीन उद्योग वाणिज्य महासंघ र अन्तराष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चिनिया परिषदबीच प्रगाढ सम्बन्धलाई थप उपलब्धिमूलक बनाउनुपर्नेमा पनि जोड दिए र त्यसमा सहयोग गर्न राजदूत समक्ष आग्रह गरे ।

महासंघ सहसभापति रहेको दुवै देशका सरकारको सहयोगमा सन १९९६ मा स्थापित नेपाल चीन गैरसरकारी सहयोग मंच मार्फतबाट समेत दुई देश बीच आर्थिक व्यापारिक सम्बन्ध विस्तार, लगानी, प्रविधि, शीप आकर्षणमा सहकार्य गर्न महासंघ तयार रहेको र त्यसमा हाम्रो कुटनीतिक तवरबाट पनि सहयोग हुनुुपर्नेमा उनको जोड थियो ।

सो अवसरमा राजदूत श्रेष्ठले महासंघसंगको भेटघाट उपलव्धीमुलक भएको बताए । उनले भेटवार्ताका क्रममा महासंघबाट आएका सुुझावलाई आफूले प्राथमिकताका साथ अगाडि लैजाने विश्वास दिलाए । उनले कृषि क्षेत्रको विकासको लागि सहकार्य गर्न चिनियां प्रविधि तथा लगानी भित्राउनुका साथै अनुसन्धानमा सहकार्य गर्ने आफ्नो प्राथमिकताको एक पक्ष रहेको पनि सुनाए । साथै उनले नेपाली वस्तुको माग रहेका चीनका लक्षित प्रान्त एवं बजारसंग आर्थिक व्यावसायिक सम्बन्ध गास्ने रणनीति सहित नेपाली निर्यात चीनमा बढाउने आफ्नो योजना रहेको बताए ।

सो भेटवार्तामा महासंघका पूर्व अध्यक्ष एवं नेपाल चीन गैह्र सरकारी सहयोग मंचका सहसभापति बिनोद बहादुर श्रेष्ठ, महासंघका पूर्व अध्यक्ष सुरज बैद्य, महासंघका महानिर्देशक गोकर्ण राज अवस्थी र उपनिर्देशक अरुण श्रेष्ठको उपस्थिति थियो ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २३ असार २०७९, बिहिबार  १८ : ४० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।