ओम मेगाश्री फर्मास्यूटिकल्सले साधारण सेयर निष्काशन गर्ने, बिक्री प्रबन्धक चयन


ओम मेगाश्री फर्मास्यूटिकल्सले सर्वसाधारणमा सेयर निष्काशन गर्ने भएको छ । कम्पनीले सेयर निष्काशन गर्नका लागि प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

बुधबार भएको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्झौतामा ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ तथा प्रभु क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार ओम मेगाश्री फर्मास्युटिकल्सको १० करोड रुपैंया बराबरको १० लाख कित्ता सेयर प्रभु क्यापिटलले निष्काशन गर्नेछ । कम्पनीले जारी पुँजी ४० करोड रुपैंया मध्ये ३० करोड रुपैंया संस्थापकहरुबाट चुक्ता भईसकेको अवस्थामा १० करोडको सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।

गैर आवसीय नेपाली, औषधी व्यवसायमा विज्ञता हासिल भएका व्यक्ति तथा विशेषज्ञ डाक्टरहरु आवद्ध रहेको तथा इयु फर्मा टेक्निकल सपोर्ट रहेको फर्मास्यूटिकल्सले भरतपुर २९, चितवनमा रहेको उद्योगबाट औषधी उत्पादन गर्ने तयारी गरिरहेको छ । कम्पनीले युरोपियन गूड म्यानुफ्याक्चरिङ प्राक्टिस (जीएमपी) स्टाण्डर्ड अनुसार औषधी उत्पादन गर्ने र औषधी व्यवस्था विभागमा ५६ प्रकारका औषधी उत्पादनको लागि प्रकृया शुरु गरेकोमा हाल ३१ प्रकारका औषधीहरु उत्पादन गर्नको लागि अनुमती प्राप्त भईसकेको छ । बाँकी २५ किसिमका औषधी उत्पादन स्वीकृतिको प्रकृयामा रहेको कम्पनीले फर्मास्यूटिकल्स क्षेत्रमा पहिलो पटक सर्वसाधारणमा शेयर जारी गर्न लागेको हो ।

आफुहरु सर्वसाधारणमा गएसँगै अन्य फर्मास्यूटिकल्सलाई समेत सेयर जारी गर्ने बाटो खुलेको कम्पनीका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले बताए ।

अब प्रभु क्यापिटलले थप प्रकृया पुरा गरी नेपाल धितोपत्र बोर्ड समक्ष सेयर निष्काशनका लागि अनुमति माग्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।