नबिल इन्भेष्टमेण्ट बैंकिङको आम लगानीकर्ता लक्षित एन आई ३१


नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले भविष्यमा संचालन हुन सक्ने लगानी व्यवस्थापन सेवा तथा सामूहिक लगानी कोषको सहजता र विद्यमान लगानी व्यवस्थापन सेवा प्राप्त गरिरहेका ग्राहकलाई लक्षित गरी आन्तरिक प्रयोजनको लागि एन आई ३१ सुरु गरेको छ ।

नेपाल स्टक एक्स्चेन्जमा सूचीकरण भई कारोवार भैरहेका कम्पनीहरु मध्ये बिभिन्न आधारभूत सूचकको आधारमा छनौटमा परेका ३१ वटा कम्पनीहरुको अन्तिम मुल्यको आधारमा तयार गरिने एन आई ३१ को सूची नबिल इन्भेष्टको वेबसाइट तथा सामाजिक सञ्जालबाट सार्वजनिक गरिने बताइएको छ ।

छनौटमा परेका ३१ कम्पनीहरुको दैनिक कारोवारको आधारमा तयार गरिने एन आई ३१ दैनिक रुपमा सार्वजनिक हुनेछ ।

यो सेवाबाट आम लगानीकर्ताहरुलाई सूचीमा आउने कम्पनीहरुमा लगानीका लागि उचित निर्णय लिन सजिलो हुने नबिल इन्भेष्टले जनाएको छ ।

नेपाल स्टक एक्चेन्जबाट तयार हुने नेप्से ईन्डेक्स भारित औषत पूँजीगत मुल्यका आधारमा तयार हुन्छ भने एन आई ३१ नेपाल स्टक एक्सचेञ्जमा सूचिकरण भई दैनिकरुपमा कारोवार भैरहेका हरेक सेक्टरका कम्पनीहरुमध्यबाट विविधीकरणका आधारमा विभिन्न ३१ वटा कम्पनि छनौट गरी अन्तिम मुल्यको आधारमा तयार हुने कम्पनीले जनाएको छ ।

यो सूचकको सहयोगमा लगानीकर्ताहरुलाई मूल्य सूचकका आधारमा नेप्सेसँगको तुलनात्मक अध्ययन गर्न, मूल्य सूचकको आधारमा मूल्यमा हुने परिवर्तनको अध्ययन गर्न, नेप्से इन्डेक्सको भारित पूँजीगत औषतका कमीकमजोरी तथा विशेषताको तुलना गर्न र थोरै कम्पनिको मूल्यमा हुने परिवर्तनबाट समग्र पुँजी बजारको अध्ययन गर्न सकिने कम्पनीले जनाएको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।