नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक इञ्जिनीयर थानीले इन्धन आपूर्तिको हालको अवस्था बारेमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा जानकारी गराएका छन ।

आजको दिनसम्म पेट्रोल प्रतिलिटर १८१ र डिजेल १७२ रुपैयाँमा बिक्री भइरहेको छ । उनका अनुसार खरिदलागत (इण्डियन आयल कर्पोरेशनबाट आएको मूल्य र नेपाल सरकारको करसहित) पेट्रोलमा १९५ रुपैयाँ १९ पैसा र डिजेलमा १९३ रुपैयाँ ९२ पैसा छ ।
हालको बिक्री मूल्यलाई हेर्दा पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ १९ पैसा र डिजेलमा २१ रुपैयाँ ९३ पैसा तथा ग्यासमा ५८२ रुपैयाँ ४२ पैसा घाटाको व्यापार भइरहेको छ । कार्यकारी निर्देशक थानीले अहिले पेट्रोलमा प्रतिलिटर ६३ रुपैयाँ ३६ पैसा र डिजेलमा ४७ रुपैया ३ पैसा र ग्यासमा ३११ रुपैयाँ ७४ पैसा सरकारको कर रहेको रहेको जानकारी दिए ।
हालको बिक्री मूल्य हिसाब गर्दा निगमलाई मासिक चार अर्ब ३२ करोड घाटा भइरहेको उनले जानकारी दिए । निगमले आव २०७८/०७९ को असार मसान्तरसम्म नेपाल सरकारलाई एक खर्ब २० अर्ब छ करोड कर बुझाएको छ । पेट्रोलियम पदार्थको आयात पनि बढ्दो क्रममा रहेको उनले जानकारी दिए । आव २०७७/०७८ मा एक खर्ब ५८ अर्बको इन्धन ल्याइएकोमा आव २०७८/०७९ मा तीन खर्ब १० अर्बको आयात भएको जनाइएको छ ।
नेपाल सरकारबाट मूल्य अभिवृद्धिकर (भ्याट) वापत सात अर्ब ३५ करोड फिर्ता पाउनुपर्नेमा दुई अर्ब ७५ करोड मात्रै फिर्ता भएको पनि उनले बताए । आव २०७८र०७९ को असार मसान्तसम्ममा निगमलाई करिब करिब ५० अर्ब घाटा हुने देखिएको उनले समितिलाई जानकारी दिए । निगमले हाल इण्डियन आयल कर्पोरेशनलाई २२ अर्ब ४० करोड तिर्न बाँकी छ । ३१ अर्ब रहेकोमा ऋण लिएर अरु रकम घटाएको हो ।
निगमले नेपाल सरकारबाट गत असार ३१ गते पाँच प्रतिशत ब्याजदरमा सात अर्ब ऋण लिएको छ । उक्त ऋण पाँच वर्षका लागि लिइएको हो । निगमको टेकुमा रहेको जग्गा धितो राखेर राष्ट्रिय वाणिज्य बैंकबाट नौ प्रतिशत ब्याज तिर्ने गरी तीन अर्ब रुपैयाँ ऋण लिइएको समितिमा जानकारी गराइएको थियो । उक्त ऋण तीन महिनाका लागि हो ।
अन्तर्राष्ट्रिय बजारमा १७ जुलाईमा प्राप्त मूल्य सूचीअनुसार पेट्रोलमा साढे १५ रुपैयाँ र डिजेलमा साढे १६ रुपैयाँ घटेर आएको थियो । त्यसबेला पेट्रोलमा ३० रुपैयाँ र डिजेलमा ३८ रुपैयाँ घाटा रहेकेमा अहिले घटेर आउँदा पनि पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ १९ पैसा र डिजेलमा २१ रुपैयाँ ९३ पैसा घाटा रहेकाले मूल्य समायोजन गर्न नसकिएको पनि जानकारी दिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया