‘फोर्सफुल’ भन्दा स्वेच्छाले बीमा गर्नेहरुको संख्या बढ्दै

0
Shares

बीमाको कभरेज बढे अनुसार दवावमा (फोर्सफुल) बीमा गर्ने भन्दा स्वेच्छाले बीमा गर्नेहरुको संख्या बढ्दै गइरहेको एक अध्ययनले देखाएको छ ।

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले गरेको बीमा सम्बन्धी एक सर्भेले बीमामा जनचेतना अभिवृद्धि हुँदै गएको पाइएको हो। नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले जीवन बीमा सम्बन्धी देशै भरि सर्भे सम्पन्न गरेको छ । पछिल्लो समयमा बीमा प्रतिको आकर्षण बढेको र जनचेतना पनि अभिबृद्धि भइरहेको अनुसन्धानको निष्कर्ष छ।

बीमा समितिले दिएको तथ्याङ्कमा बीमाको कभरेज १० वर्ष भित्र ७ प्रतिशतबाट बढेर ३५ प्रतिशत माथि पुगिसकेको छ । कभरेज बढे अनुसार दवावमा (फोर्सफुल) बीमा गर्ने भन्दा स्वेच्छाले बीमा गर्नेहरुको संख्या बढ्दै गइरहेको नेक्सजेनको भनाई छ ।

सर्भेमा संलग्न व्यक्तिहरुलाई बीमा किन गर्नु भएको भन्ने प्रश्नमा ८९ प्रतिशतले आवश्यकता बुझेर गरेको भने, ८ प्रतिशतले अभिकर्ताको दवावमा बीमा गरेको र ३ प्रतिशतले देखासिखिमा गरेको जवाफ दिएका छन ।

बीमा कसरी गर्नु भएको भन्ने प्रश्नमा ३७ प्रतिशतले आफैले सम्पर्क गरेर गरेको, ६१ प्रतिशतले अभिकर्ताले सम्पर्क गरि बुझाए पछि गरेको र ३ प्रतिशतले अरुले गरेको देखेर बीमा गरेको पाइएको छ।

खरिद गरेको बीमा पोलिसीको छनोट कसरी गर्नु भयो भन्ने प्रश्नमा ८० प्रतिशतले आफैले पोलिसी विषयमा बुझेर गरेको , १८ प्रतिशतले अभिकर्ताले भने अनुसार खरिद गरेको र २ प्रतिशतले पोलिसी विषयमा केही थाहा नभएको बताएका छन।

त्यसै गरी बीमा गर्ने कम्पनीको बारेमा प्रश्नमा ७९ प्रतिशतले थाहा छ भने, २७ प्रतिशतले अलि अलि थाहा भएको र ३ प्रतिशतले केही थाहा नभएको जानकारी दिएका छन ।

बीमितले खरिद गरेको पोलिसीको छनौट विषयमा सोधेको प्रश्नमा ६७ प्रतिशतले सावधिक, १५ प्रतिशतले मनिव्याक, १२ प्रतिशतले आजिवन, ४ प्रतिशतले एकल भुक्तानी र २ प्रतिशतले म्यादी बीमा खरिद गरेको जानकारी दिएका छन ।

बीमा पोलिसी बिक्री पछि अभिकर्ता सम्पर्कमा रहे नरहेको बारेको प्रश्नमा ८० प्रतिशतले सम्पर्कमा रहेको, १२ प्रतिशतले किस्ता तिर्ने बेला मात्र सम्पर्क गर्ने गरेको र ८ प्रतिशतले पोलिसी विक्रि पछि कुनै सम्पर्कमा नरहेको बताएका छन ।

त्यसैगरी बीमा विक्रि पछि कम्पनीले आवश्यक सुचना सम्प्रेषण बारेमा प्रश्न गर्दा ७० प्रतिशतले एस एम एस र फोन आउने गरेको, २८ प्रतिशतले एस एम एस मात्र आउने गरेको र २ प्रतिशतले कुनै सूचना नआएको जानकारी दिएका छन ।

बीमाको आवश्यकता बारेमा ८५ प्रतिशतले अति आवश्यक, १४ प्रतिशतले बचत छ भने गर्दा हुने र १ प्रतिशतले खासै जरुरी नरहेको बताएका छन । सर्र्भेमा बीमालाई अझै आकर्षित बनाउन ७६ प्रतिशतले जनचेतना बढाउनु पर्ने, ५ प्रतिशतले गरिवको लागि सरकारले केही राहत (सवसिडी) दिनु पर्ने र १९ प्रतिशतले राम्रो प्रोडक्ट र गुणस्तरीय सेवामा जोड दिनु पर्ने जानकारी दिएका छन।

समग्रमा हेर्दा जीवन बीमा क्षेत्रमा आवश्यकता भन्दा कम्पनीहरु बढी भई अस्वस्थ प्रतिस्पर्धाको कारण केही विकृति आएको पाइन्छ । तर बीमा प्रतिको आकर्षण बढेको र जनचेतना पनि अभिबृद्धि भइरहेको अनुसन्धानले पुष्टि गरेको पाइएको नेक्सजेन म्यानेजमेन्टको भनाई छ ।

नेक्सजेन म्यानेजमेन्ट बैंक बीमा कम्पनी र उद्योग व्यवसायलाई सहयोग र सल्लाह दिने उद्देश्यले स्थापित भएको कम्पनी हो।

कम्पनीले गएको चैत्र महिनामा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी ३१ जिल्लाको ४८ स्थानमा बीमा सम्बन्धी गतिविधिलाई लिएर सर्भे सम्पन्न गरेको थियो। जीवन बीमा गरिसकेका ४९२ जना विमित संग गरिएको सर्भेमा १९० जना महिला र ३०२ जना पुरुष सहभागि थिए।

प्रत्येक क्षेत्रबाट न्यूनतम ५ र बढीमा १० जना बीमितहरुलाई सर्भेमा समावेश गरिएको थियो। पचास जना सहयोगि कर्मचारीहरुलाई सहभागि गराइएको सर्भेको तथ्याङ्कहरु परिष्कृत गरि हेर्दा जीवन बीमा प्रतिको जनचेतना र आकर्षण बढ्दै गइरहेको नेक्सजेनको निष्कर्ष छ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।