‘नाफा हुँदा निगमको, घाटाको भार उपभोक्तामा’, यो कहाँको न्याय हो ?

0
Shares

भारतबाट दुई–दुई पटक इन्धनको मूल्य घटेर आयो तर नेपाल आयल निगमले सार्वजनिक सूचना नै जारी गरी घाटा रहेको जनाउँदै उपभोक्ताका लागि मूल्य नघटाएको जनायो ।

प्रतिनिधिसभाका सांसदले त्यस विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन । प्रतिनिधिसभाको आजको बैठकमा सांसद प्रदीपकुमार ज्ञवालीले तत्काल इन्धनको मूल्य घटाउन माग गरे ।

सदनको विशेष समयमा सांसद ज्ञवालीले मूल्य ३१ रुपैयाँ घटेर आए पनि उपभोक्ताले महँगोमै इन्धन किन्नुपर्ने अवस्था रहेको बताए । “नाफा हुँदा नाफा जति आयल निगमको पोल्टामा घाटा हुँदा त्यसको भार उपभोक्ताकामा, यो कहाँको न्याय हो, सभामुख महोदय”, ज्ञवालीले प्रश्न गरे।

उनले तत्काल मूल्य घटाएर उपभोक्तालाई राहत दिन र सरकार भएको अनुभूति दिन आग्रह गरे । उनले आयल निगमलाई विवादित बनाउन मूल्य नघटाएको आरोप पनि लागए।

सांसद ज्ञवालीले निर्वाचनको सन्दर्भ जोड्दै मिति घोषणा भइसकेपछि सरकार काम चलाउ भएको र उसले संसद्लाई नयाँ ‘विजनेश’ दिन नमिल्ने जिकिर गरे । यस्तो अवस्थामा सदनको कार्यवधि सकिने बेलामा प्रधानन्यायाधीशमाथिको महाअभियोगको विषय ल्याउनु उचित नभएको पनि बताए । उनले विप्लब नेतृत्वको नेकपाका कार्यकर्तालाई पक्राउ पुर्जी जारी गरेर गलत गरिएको जिकिर गरे।

सांसद ज्ञवालीले ताइवानको घटनाप्रति गम्भीर हुन आग्रह गर्दै एक चीन नीतिमा अडिक रहन सरकारसँग आग्रह गरे । आन्तरिक मामिलामा कसैले पनि हस्तक्षेप गर्न हुँदैन भन्ने धारणा सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराए ।

उनले देशको अर्थतन्त्र गम्भीर अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै करको दर हेरफेरका सन्दर्भमा छानविन समितिले सम्पूर्ण अङ्ग पूरा गर्न नपाएको र त्यसको असर भोलि पनि अर्थमन्त्रालयमा पर्ने दाबी गरे।

विशेष समयमा सांसद योगेशकुमार भट्टराईले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न माग गरे । अहिले १७ लाख परिवार यसमा आबद्ध रहेका र सरकारले २० अर्बभन्दा बढी भुक्तानी गरिसकेको अवस्थामा अहिलेको बजेटमा स्वास्थ्य बीमामाथि गम्भीर आघात परेको बताए ।

उनले बीमा कार्यक्रम पूर्ववत् अवस्थामा सञ्चालन गर्न ध्यानाकर्षण गराए । उनले बीमाको दायरा फराकिलो गरी १० लाख बनाउन माग गरे । उनले कोरोनाबापतको बीमासमेत भुक्तानी नभएको बताए । रासस

? समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।