नेशनल हाइड्रोले ५० प्रतिशत हकप्रद पारित गर्न डाक्यो विशेष साधारण सभा


नेशनल हाइड्रो पावर कम्पनीले हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित गर्न विशेष साधारणसभा आह्वान गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव सहित आगामी भदौ १० गते विशेष सधारण सभा बोलाएको हो ।

अघिल्लो आर्थिक वर्षको बोनस बितरण तथा सुनकोसी हाइड्रो पावर कम्पनी लिमिटेडलाई प्राप्ति गरे पछि कायम हुने एकीकृत चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद निष्काशनको प्रस्ताव विशेष साधारण सभाबाट पारित गराउँदैछ ।

सुनकोशी हाइड्रोपावरलाई प्रतिसेयर २५ रुपैयाँका दरले प्राप्ति गरेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १९.५० प्रतिशत बोनस सेयर बितरण गरेको थियो । सुनकोशी प्राप्ति तथा बोनस सेयर बितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैंया कायम भएको छ । कम्पनीले उक्त पुँजीको ५० प्रतिशतले हुने ५७ करोड रुपैंया बराबरको हकप्रद निष्काशन गर्न लागेको हो ।

भदौ १० गते बालुवाटारस्थित डेलिश ओपरा रेष्ट्रो एण्ड बैंक्वेटमा ११ बजे बोलाइएको साधारण सभाले सय रुपैयाँ अंकित मूल्यका २२ हजार ४ सय ७० कित्ता साधारण सेयर व्यवस्थापन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि भदौ २ गते एक दिन बुक क्लोज गर्नेछ । जसअनुसार भदौ १ गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।

कम्पनीले सिन्धुपाल्चोकमा ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ भने भोजपुरमा सहायक कम्पनीमार्फत १४.१५ मेगावाटको तल्लो इर्खुवा जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।