
मुलुककाे तेस्रो अन्तर्राष्ट्रिय विमानस्थल पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अक्टुबरमा यान्त्रिक परीक्षण (क्यालिब्रेसन) उडान हुने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले क्यालिबे्रसन फ्लाइटपछि २०२३ जनवरी १ मा उडान सुरु गर्ने निर्णय गरिसकेको छ । प्राधिकरणको आइतबार बसेको सञ्चालक समिति बैठकले २०२३ जनावरी १ बाट यो विमानस्थल पूर्णरुपमा सञ्चालनमामा ल्याउने निर्णय गरेको हाे । विमानस्थल सञ्चालनमा आएसँगै त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाण्डाैंमा हुँदै आएको एयर ट्राफिक चाप न्यून गर्न थप मद्दत पुग्ने प्राधिकरणको अपेक्षा छ। विमानस्थलमा न्यारोबडी सिरिजसम्मका जहाज उडान सञ्चालन हुनेछन् ।
विमानस्थल आयोजना प्रमुख विनेश मुनाकर्मीले सोहीअनुसार अक्टुबरभित्र क्यालिब्रेसन उडानको तयारी गरिएको बताए । सरकारले उक्त विमानस्थल बनाउन एक्सपोर्ट इम्पोर्ट बैंक अफ चाइना (एक्जिम बैंक) बाट २१५.९६ मिलियन अमेरिकी डलर सहुलियतपूर्ण ऋण लिएको छ । नेपाल सरकार र चीन सरकारबीच २०१७ मार्चमा ऋण सम्झौता भएको थियो । २० वर्ष अवधिका लागि लिएको उक्त ऋणमध्ये ७५ प्रतिशतको ब्याज २ प्रतिशत र २५ प्रतिशतको शून्य ब्याजदर रहेको छ । नेपालले ७ वर्षसम्म त्यसको ब्याज तिर्नुपर्दैन ।
चीनको ऋण नेपालमा हुने वैदेशिक लगानीमा सबैभन्दा महँगो ब्याजको ऋण हो । कुल २२ अर्ब रुपैयाँ लागत रहेको आयोजनामा १८ अर्ब भुक्तानी भैसकेको छ ।
विमानस्थलको भौतिक निर्माण सकिएको भएपनि रिठेपानी डाँडा काट्ने कार्य भने हालसम्म सुरु भएको छैन । पोखरा विमानस्थलको विस्तृत अध्ययन प्रतिवेदन अनुसार जहाज अवतरणका लागि डाँडाको ४० मिटर उचाइ काट्नुपर्ने हुन्छ । सो काम निर्माण चिनियाँ ठेकेदार कम्पनीलाई दिने कि कसलाई भन्नेमा टुंगो लागिनसकेको आयोजना प्रमुख मुनाकर्मीले बताए ।
हाल रिठेपानी डाँडामा रुख भने कटान मात्र भएको छ । निर्माणाधीन विमानस्थलको पूर्वपट्टि करिब दुई हेक्टर क्षेत्रफलमा रिठेपानी डाँडा फैलिएको छ । यान्त्रिक परीक्षणका लागि भने डाँडाको १४ मिटर उचाइ कटान गर्दा हुने बताइएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया