दुई महिनामा २८ अर्ब ३६ करोडको धितोपत्र थपियो, आईपीओ मात्रै झण्डै २१ अर्बको

0
Shares

चालु आर्थिक वर्षको पहिलो दुई महिनामा धितोपत्र बजारमा २८ अर्ब ३८ करोड रुपैयाँ बराबरको धितोपत्र थपिएको छ ।

साउन र भदौ महिनामामा गरी साधारण सेयर (आईपीओ), बोनस, हकप्रद, डिबेन्चर र अन्य शेयर समेत गरी सो मात्राको धितोपत्र थपिएको राष्ट्र बैंकले जनाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार यसवधिमा २० अर्ब ९४ करोड रुपैयाँ बराबरको आईपीओ, चार अर्ब ४८ करोड रुपैयाँ बराबरको बोनस र एक अर्ब ४५ करोड रुपैयाँ बराबरको हकप्रद शेयर नेप्सेमा थपिएको छ ।

त्यसैगरी, साउन र भदौमा गरी ३५ करोडको डिबेन्चर(ऋणपत्र) र एक अर्ब १४ करोडको अन्य धितोपत्र नेप्सेमा सूचीकृत भएको हो । उक्त अवधिमा नेपाल धितोपत्र बोर्डले विभिन्न बैंकहरुलाई एक अर्ब ८० करोड बराबरको ऋणपत्र निष्काशनको अनुमति दिएको छ ।

भदौ मसान्तमा सूचीकृत ४ अर्ब ३७ करोड शेयरको चुक्ता मूल्य ४२८ अर्ब ५० करोड रुपैयाँ रहेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ । सो अवधिसम्म नेप्सेमा सूचीकृत कम्पनीको संख्या २१८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा २२ कम्पनी थपिएका हुन् । २०७५ भदौमा सूचीकृत कम्पनीको संख्या १९६ रहेको थियो ।

सूचीकृत कम्पनीमध्ये १५५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ३२ जलविद्युत् कम्पनी, १९ उत्पादन र प्रशोधन उद्योग, ४र४ होटल तथा व्यापारिक संस्था र ४ अन्य समूहका रहेका छन् ।