अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा आकर्षक प्रतिफल वितरण गरेर चर्चा कमाएका अधिकांश म्युचुअल फण्ड प्रति यो वर्ष लगानीकर्ताको खास आकर्षण छैन ।
गत आवमा सेयर बजारमा आएको करिब एक हजार बिन्दुको गिरावट र बढेको बजारबाट फाइदा लिन योजना व्यवस्थापनमा चुक्दा फण्डको इकाई खरिदमा उदासिनता आएको हो । अर्कोतर्फ म्युचुअल फण्डको इकाईको बारेमा आम लगानीकर्तामा प्रयाप्त ज्ञानको अभावका कारण पनि इक्वीटी बजारको तुलनामा फण्डको बजार निकै सानो छ ।
सरकारले सेयर बजारमैत्री नीति अबलम्बन नगर्दा लगानी गरिएको सेयरमूल्य घट्दा कगत आर्थिक वर्ष २०७८/७९ मा अधिकांश म्युचुअअ फण्ड घाटामा पुगेका हुन् । दोस्रो बजारमा नोक्सानी ब्यहोर्दा ती फण्डको खुद सम्पत्तिमूल्य २०७९ असार मसान्तसम्म घटेर फण्डको आकारभन्दा तल झरेको हो ।
अंकित मूल्यभन्दा दोस्रो बजारमूल्य तल झर्दा फण्डको इकाई खरिद गर्ने नयाँ लगानीकर्तालाई भने अवसरको सिर्जना भएको छ । प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) को बखत अंकित मूल्यमा दश रुपैयाँमा खरिद गर्नुपर्ने फण्डको इकाई हाल अंकित मूल्यभन्दा २२ प्रतिशतसम्म तल झरेकाले छानीछानी किन्ने मौका लगानीकर्तामा छ ।
साउन ३१ गते बन्द भएको बजारमूल्यका आधारमा सञ्चालनमा रहेका २७ मध्ये २१ वटा म्युचुअल फण्डको बजारमूल्य अंकति मूल्य (दश रुपैयाँ) भन्दा तल झरेको छ । ती फण्डको बजार भाउ अंकित मूल्यभन्दा २२ प्रतिशतसम्म मुनी झरेको पाइएको हो । तथ्याङ्क अनुसार ११ म्यचुअल फण्डको खुद सम्पत्ति घटेर फण्डको आकारभन्दा तल झरेको हो । एनएमबि–५० र एनएमबि हाइब्रिड फण्ड एल–१ को साउन ३१ गते २१.०५२ प्रतिशत नगद लाभांशमा इकाईमूल्य समायोजन भएपछि मूल्य थप घटेको हो । बाँकी धेरै फण्डको लाभांश नै प्रस्ताव भएको छैन भने चारवटा फण्डको भदौ ७ गते बुकक्लोज मिति तोकिएको छ ।
मंगलबारको तथ्याङ्क अनुसार मेगा म्चुअल फण्डको बजारभाउ सबैभन्दा सस्तो रहेको छ । आम लगानीकर्तामा अंकित मूल्य १० मा बिक्री गरेको फण्डको इकाईको दोस्रो बजारमूल्य सबैभन्दा कम ७.८० रुपैयाँमा झरेको छ ।
पछिल्लो बजार भाउ अनुसार आरबिबि म्युचुअल फण्ड, सानिमा लार्ज क्याप फण्ड, एनआईबिएल समृद्धि फण्ड–२, सनराइज ब्लूचिप फण्ड, नबिल ब्यालेस्ड फण्ड ३, प्रभु सेलेक्ट फण्ड, एनआईसी एशिया सेलेक्ट–३०, सिटिजन्स म्युचुअल फण्ड –१, सिटिजन्स म्युचुअल फण्ड –२, कुमारी धनवृद्धि योजना, लक्ष्मी इक्वीटी फण्ड, कुमारी इक्वीटी फण्ड र लक्ष्मी उन्नति कोषको इकाई गरी १३ फण्डको इकाईमूल्य ९ रुपैयाँभन्दा कम छ ।
यस अवधिमा नबिल इक्वीटी फण्ड, नबिल ब्यालेन्स्ड फण्ड–२, एनआईबिएल प्रगति फण्ड, एनएमबि हाइब्रिड फण्ड एल–१, ग्लोबल आईएमई समुन्नत स्कीम–१, सिद्धार्थ इक्वीटी फण्ड, र सिद्धार्थ इन्भेष्टमेन्ट ग्राथ स्कीम–२ को इकाईमूल्य पनि अंकित मूल्यभन्दा तल झरेको हो । माथिका सात फण्डको इकाई दोस्रो बजारमा ९ रुपैयाँभन्दा धेरै १० रुपैयाँभन्दा कम छ ।
यस अवधिमा ५ फण्डको इकाईमूल्य मात्र अंकित मूल्यभन्दा माथि छ । मंगलबारको बजार भाउ अनुसार सानिमा इक्वीटी फण्डको इकाईमूल्य दोस्रो बजारमा सबैभन्दा धेरै १२.५७ रुपैयाँ रहेको छ । दोस्रो धेरै मूल्य भएको एनआईसी एशिया ग्राथ फण्डको ११.३५ रुपैयाँ, सनराइज फस्ट म्युचुअल फण्डको ११.३२ रुपैयाँ, एनआईसी एशिया ब्यालेस्ड फण्ड १०.५८ रुपैयाँ र एनएमबि ५० को इकाईमूल्य १०.११ रुपैयाँ रहेको छ । हालै मात्र बिक्रीमा आएर सूचीकृत हुन बाँकी एनआईसी एशिया फ्लेक्सी क्यापको प्रतिइकाई खुद सम्पत्तिमूल्य ९.९७ रहेको छ । फण्डको इकाई सूचीकृत हुन बाँकी रहेका कारण बजार भाउ निर्धारण हुन बाँकी छ ।
तेह्र फण्डको न्याभ दश रुपैयाँभन्दा कम
सञ्चालनमा रहेका २७ म्युचुअल फण्डमध्ये गत आव २०७८/७९ मा १३ म्युचुअल फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य (न्याभ) दश रुपैयाँभन्दा कम रहेको छ । १४ फण्डको न्याभ भने १० रुपैयाँभन्दा बढी छ ।
वि.सं. २०७९ असार मसान्तमा दश रुपैयाँभन्दा कम न्याभ हुने म्युचुअल फण्डमध्ये पनि एनआईबिएल समृद्धि फण्ड २ को सबैभन्दा कम ८.५६ रुपैयाँ रहेको छ । नबिल ब्यालेन्स्ड फण्ड ३, मेगा म्युचुअल फण्ड १, सनराइज ब्लूचिप फण्ड, सानिमा लार्ज क्याप फण्ड र आरबिबि म्युचुअल फण्ड गरी ६ वटा फण्डको न्याभ ९ रुपैयाँभन्दा कम रहेको छ ।
थप ७ वटा फण्डको न्याभ ९ रुपैयाँभन्दा बढी १० रुपैयाँभन्दा कम रहेको छ । यी फण्डहरुमा सिटिजन्स म्युचुअल फण्ड १, ग्लोबल आईएमई समुन्नत स्कीम, एनआईसी एशिया सेलेक्ट–३०, प्रभु सेलेक्ट फण्ड, सिटिजन्स म्युचुअल फण्ड २, एनआईसी एशिया फ्लेक्सी क्याप र कुमारी धनवृद्धि योजनाको न्याभ दश रुपैयाँमा कम रहेको हो । जसमध्ये एनआईसी एशिया फ्लेक्सी क्याप र कुमारी धनवृद्धि योजना केही महिना अघि मात्रै इकाई बिक्री गरी सञ्चालनमा आएका हुन् ।
| S.N. | Mutual Funds | NAV | Price |
| 1 | Sanima Equity Fund (SAEF) | 14.40 | 12.57 |
| 2 | NMB 50 (NMB50) | 13.28 | 10.11 |
| 3 | NMB Hybrid Fund L-1 (NMBHF1) | 13.12 | 9.65 |
| 4 | NIC Asia Growth Fund (NICGF) | 12.81 | 11.35 |
| 5 | Sunrise First Mutual Fund (SFMF) | 12.76 | 11.32 |
| 6 | NIC Asia Balanced Fund (NICBF) | 12.17 | 10.58 |
| 7 | Siddhartha Investment Growth Scheme – 2 (SIGS2) | 11.02 | 9.80 |
| 8 | Siddhartha Equity Fund (SEF) | 10.92 | 9.71 |
| 9 | NABIL BALANCED FUND-2 (NBF2) | 10.85 | 9.50 |
| 10 | Nabil Equity Fund (NEF) | 10.59 | 9.40 |
| 11 | Laxmi unnati Kosh (LUK) | 10.56 | 8.79 |
| 12 | Laxmi Equity Fund (LEMF) | 10.52 | 8.74 |
| 13 | NIBL Pragati Fund (NIBLPF) | 10.42 | 9.61 |
| 14 | Kumari Equity Fund (KEF) | 10.33 | 8.77 |
| 15 | Kumari Dhanabriddhi Yojana (KDBY) | 9.98 | 8.71 |
| 16 | NIC ASIA Flexi CAP Fund (NICFC) | 9.97 | – |
| 17 | CITIZENS MUTUAL FUND 2 (CMF2) | 9.93 | 8.41 |
| 18 | Prabhu Select Fund (PSF) | 9.82 | 8.18 |
| 19 | NIC Asia Select – 30 (Index Fund) (NICSF) | 9.81 | 8.26 |
| 20 | Global IME Samunnat Scheme-1 (GIMES1) | 9.79 | 9.71 |
| 21 | Citizens Mutual Fund -1 (CMF1) | 9.14 | 8.36 |
| 22 | RBB Mutual Fund 1 (RMF1) | 8.97 | 8.00 |
| 23 | Sanima Large Cap Fund (SLCF) | 8.89 | 8.00 |
| 24 | Sunrise Bluechip Fund (SBCF) | 8.82 | 8.06 |
| 25 | Mega Mutual Fund-1 (MMF1) | 8.64 | 7.80 |
| 26 | Nabil Balanced Fund-3 (NBF3) | 8.58 | 8.15 |
| 27 | NIBL Samriddhi Fund 2 (NIBSF2) | 8.56 | 8.05 |
वि.सं. २०७९ असार मसान्तसम्ममा प्रकाशित मासिक वित्तीय विवरण अनुसार सानिमा इक्वीटी फण्डको न्याभ १४.४० रुपैयाँ रहेको छ । एनएमबि ५० को १३.२८ रुपैयाँ तथा एनएमबि हाइब्रिड फण्ड एल–१ को १३.१२ रुपैयाँ रहेको छ ।
तथ्याङ्क अनुसार एनआईसी एशिया ग्रोथ फण्ड, सनराइज फस्ट म्युचुअल फण्ड र एनआईसी एशिया ब्यालेन्स्ड फण्डको न्याभ १२ रुपैयाँभन्दा धेरै हुँदा सिद्धार्थ इन्भेष्टमेन्ट ग्राथ स्कीम–२ को ११.०२ रुपैयाँ रहेको छ ।
सिद्धार्थ इक्वीटी फण्ड, नबिल ब्यालेन्स्ड फण्ड २, नबिल इक्वीटी फण्ड, लक्ष्मी इक्वीटी फण्ड, लक्ष्मी उन्निति कोष, एनआईबिएल प्रगति फण्ड र कुमारी इक्वीटी फण्डको न्याभ दश रुपैयाँभन्दा माथि छ ।
दोस्रो बजारमा सस्तो पाउन थालेपछि प्राथमिक बजारमै बिक्रीमा कठिनाई
अधिकांश म्युचुअल फण्डको इकाई अंकित मूल्यभन्दा दोस्रो बजारमा सस्तो भएपछि प्राथमिक बजार अर्थात आईपीओमा हुने फण्डको इकाई बिक्री हुन पनि कठिनाई पर्न थालेको छ । यसभन्दा अघि चार दिनमै निष्काशन बन्द हुने गरेको म्युचुअल फण्डको इकाई बिक्री नभएपछि ढिलो समयसम्म लम्बिन थालेको छ ।
लक्ष्मी क्यापिटलले साउन १९ गतेदेखि निष्काशन गरेको खुलामुखी योजना छिटोमा २३ गते नै बन्द हुने भएपछि फण्डको इकाई नबिकेपछि भदौ २ गतेसम्म म्याद थपिएको थियो । यस्तै एनएमबि क्यापिटलले निष्काशन गरेको बन्दमुखी योजना एनएमबि सुलभ इन्भेष्टमेन्न्ट २ को इकाई पनि छिटो समय (साउन ३१) भित्र सबै इकाई बिक्री नभएपछि भदौ ९ गतेसम्म आवेदन गर्न पाउनेगरी म्याद थपिएको छ ।
बन्दमुखीभन्दा खुलामुखी फण्डको इकाई बिक्री गर्न योजना व्यवस्थापकलाई अझै सकस देखिन्छ । बन्दमुखी योजना नेप्सेमा सूचीकृत भएर धितोपत्रको दोस्रो बजारमा सजिलै खरिद बिक्री गर्न सकिन्छ भने खुलामुखी योजनाको खरिद बिक्री भने योजना व्यवस्थापकले तोकेको केन्द्र र कतिपय योजना व्यवस्थापकले अनलाईन माध्यमबाट पनि खरिद बिक्री गर्न सकिने सेवा सुचारु भएको छ । यद्यपी खुलामुखी म्युचुअल फण्डको फाइदा, यसको महत्व आदीमा आम लगानीकर्तामा सूचना प्रवाह गराउन नसक्दा सानो आकारमा फण्ड बिक्री गर्नुपर्ने बाध्यता छ ।
बन्दमुखी योजना एक अर्बदेखि डेढ अर्बसम्मको सहजै बिक्री हुने नेपालको पुँजी बजारमा बन्दमुखी योजना भने त्यसलाई टुक्राएर चार वा पाँचपटकसम्म बिक्री गर्नुपर्ने अवस्था छ । दोस्रो बजारबाट नोक्सानी ब्यहोरेपछि फण्डको खुद सम्पत्तिमूल्य कतिपय योजनाको आकारभन्दा तल झरेपछि यो आर्थिक वर्षमा इकाईधनीले पाउने लाभांश समेत घटेको छ । अघिल्लो आव २०७७।७८ मा शतप्रतिशतसम्म लाभांश वितरण गरेका फण्डले गत आवबाट एक चौथाईभन्दा कम लाभांश मात्र वितरण गर्नसक्ने अवस्था देखिएको छ ।
एनएमबि क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित दुई वटा फण्ड एनएमबि ५० र एनएमबि हाइब्रिड फण्ड एल–१ ले आर्थिक वर्ष २०७८।७९ बाट समान २१.०५२ प्रतिशतका दरले नगद लाभांश वितरण गरेको छ । फण्डले साउन ३१ गते प्रतिफल वितरणका लागि बुकक्लोज समेत गरिसकेको छ ।
यस्तै सिद्धार्थ क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित सिद्धार्थ इक्वीटी फण्डले इकाईधनीलाई कर सहित ९ प्रतिशतका दरले र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम फण्ड–२ ले कर सहित १० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
गत आवबाट लक्ष्मी क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटी फण्डले कर सहित ५ प्रतिशत मात्र लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । सिद्धार्थ इक्वीटी फण्ड, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम फण्ड–२, लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्वीटी फण्ड गरी चारवटै फण्डले भदौ ७ गते प्रतिफल वितरणका लागि बुकक्लोज मिति तोकेका छन् । यसअनुसार चारवटै फण्डको प्रस्तावित नगद लाभांश भदौ ६ गते सोमबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका इकाईधनीहरुले मात्र पाउनेछन् ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया