उवा संघ काठमाण्डौंको मागः कामपाले डोजर चलाएर साना व्यवसायी विस्थापित गर्ने काम बन्द गरोस्

0
Shares

नेपाल उद्योग वाणिज्य संघ काठमाण्डौंले काठमाण्डौँ महानगरपालिकाले साना व्यवसायीहरुलाई पूर्ण रुपमा विस्थापित हुनेगरी काम गरेको भन्दै उक्त कार्य बन्द गर्न माग गरेको छ ।

काठमाण्डौँ महानगरपालिकाले नगर प्रहरी ट्राफिक प्रहरी र मिडियालाई सँगसँगै राखी डोजर चलाई जबर्जस्ती नक्सा पास बमोजिम घर बनेको पाईएन भन्दै निर्वाध रुपमा सञ्चालन हुँदै गरेको करोडौंको व्यवसायलाई बन्द गराउने कार्य गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

व्यवसायीहरु विस्थापित हुने गरि एकतर्फी रुपमा जबर्जस्ती बन्द गर्ने कार्य महानगरपालिकाले तत्कालै बन्द गरि उचित समधानको लागि समेत संघले अनुरोध गरेको छ ।

महासंघका अध्यक्ष दिनेश श्रेठद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘विस्थापित व्यवसायीहरुलाई प्रक्रियागत तवरले उचित क्षतिपूर्तिको व्यवस्था गर्न र व्यवसायलाई अन्य स्थानमा पुनः स्थापना गर्नका लागि सार्वजनिक सूचना पर्याप्त नभएको हुनाले समयावधि थप गरि यो प्रक्रियामा वास्तविक दोषीलाई कानुनी कठघरामा ल्याई कानुन बमोजिम कारवाही गरी व्यवसायीलाई क्षतिपूर्तिको व्यवस्था र नयाँ स्थानमा व्यवसाय पुनः स्थापित गर्न समय सीमा उपलब्ध गराउनुपर्नेमा निजि क्षेत्रको तर्फबाट यस संघ हार्दिक अपिल गर्दछ ।’

तीन वर्षदेखि कोरोना महामारीबाट थलिएर भर्खरै मात्र ब्युतिँन खोज्दै गरेको संवेदनशिल अवस्थामा चाडपर्व लक्षित गरी तयारीमा रहेका व्यवसायीहरुलाई एकाएक व्यवसाय बन्द गर्नु पर्दाको पीडा अकल्पनीय रहेको संघले जनाएको छ ।

महानगरपालिकाले व्यवसायीलाई मात्र एकतर्फी रूपमा व्यवसाय पूर्ण रुपमा विस्थापित हुने गरि जबर्जस्ती खाली गराउँदा व्यवसायीहरुले ठूलो क्षति व्यहोर्नुपर्ने अवस्थाको सिर्जना भएको संघले जनाएको छ ।

महानगरपालिका आफैँले व्यवसाय सञ्चालन गर्न अनुमति दिने, व्यवसाय कर संकलन गर्ने, घरधनीबाट घर भाडा कर असुल गर्ने र घरधनीले नक्सा पास बमोजिम घर भाडामा नलगाएको अवस्थामा सार्वजनिक सुचनाको भरमा व्यवसायीलाई मात्र विस्थापित गर्ने काम भएको संघको ठहर छ ।

उद्योगी व्यावसायीहरु काठमाडौँ महानगरपालिकाको सर्वपक्षिय विकासको लागी सधैं सक्रिय र क्रियाशिल रहँदै आएका समेत विज्ञप्तीमा जनाइएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ भाद्र २०७९, बिहिबार  १८ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।