नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकः नेपालबाट तल्काल ५० मेगावाट विद्युत किन्ने

0
Shares

नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) मा नेपालबाट तत्कालका लागि बंगलादेशले ५० मेगावाट बिजुली खरिद गर्ने सहमति भएको छ । बंगलादेशमा विद्युतको माग धेरै भएपनि भारत र बंगलादेशबीच हाल उपलब्ध प्रसारण लाईनको क्षमताले थप ५० मेगावाट जति मात्रै धान्ने भएकाले हाल ४० देखि ५० मेगावाट मात्र खरिद गरिने भएको हो ।

ऊर्जा मन्त्रालयका सह–सचिव एवं प्रवक्ता मधु भेटुवालले बआगामी तीन महिनाभित्र नेपाल, भारत र बंगलादेशबीच त्रिपक्षीय बैठक बसेर बंगलादेशको भेडमारा–एचपीडीसीको संरचनामा नेपालबाट ४० देखि ५० मेगावाट हाई भोल्टेज डारेक्ट करेण्ट लैजाने सम्बन्धमा टुंगो लगाउने निर्णय बैठकले गरेको ताए ।  दीर्घकालीन विद्युत् खरिद बिक्री सम्झौताका लागि भारतीय भूमिका महत्वपूर्ण हुने भएकाले नेपाल विद्युत प्राधिकरण, भारतीय विद्युत व्यापार कम्पनी (एनभीभीएन) र बंगलादेश पावर डेलभपेन्ट बोर्डबीच बैठक बसेर टुङ्गो लगाउनेछ ।

नेपालले ६८३ मेगावाटको सुनकोसी–३ जलविद्युत आयोजना निर्माणका लागि बंगलादेश सरकारलाई विस्तृत सम्भाव्यता प्रतिवेदन हस्तान्तरण गरेको छ । सम्भव भए यस्तो बैठक ६ महिनामा नै गर्ने र आगामी बैठकमा निर्माणको मोडालिटी तय हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण र बंगलादेश पावर डेलभपमेन्ट बोर्डबीच संयुक्त कम्पनी स्थापना गरेर सुनकोसी–३ अगाडि बढाउने सहमति भएको छ । लगानी गर्न बंगलादेश तयार भएपछि बिहीबार राजधानीमा सम्पन्न नेपाल र बंगलादेशबीच ऊर्जा सहकार्यका लागि गठित सचिवस्तरीय संयुक्त सञ्चालन समिति (जेएससी) को बैठकमा जलाशय जलविद्युत आयोजना प्रवद्र्धन गर्न संयुक्त कम्पनी स्थापना गर्ने सहमति भएको हो ।

यस्तै बेठकले जीएमआर अप्पर कर्णालीको ५०० मेगावाट विद्युत् खरिदका लागि बंगलादेश पावर डेभलपमेन्ट बोर्डले १ महिना भित्र विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गर्ने भएको छ ।

बिहीबार बसेको जेएससी बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव शुशीलचन्द्र तिवारी र बंगलादेशको तर्फबाट विद्युत, ऊर्जा र खनिज स्रोत मन्त्रालयका सचिव मोहम्मद हबिबुर रहमानको नेतृत्वमा रहेको टोली बीच छलफल भएको थियो ।

सम्झाैता कार्यान्वयन भएपछि दुई देशबीचको बिजुली व्यापारका लागि ठूलो कोशेढुंगा सावित हुने विश्वास गरिएकाे छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ भाद्र २०७९, बिहिबार  १९ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।