देशकै प्रमुख व्यापारिक नाका वीरगञ्ज क्षेत्रलाई प्रयोग गरी स्वदेश तथा विदेशतर्फ हुने कारोबारमा गत आर्थिक वर्ष २०७८÷७९ मा सङ्कुचन देखिएको छ ।
वीरगञ्जलाई प्रयोग गरी हुने मालबस्तुको आयात निर्यात २८ प्रतिशतले घटेपछि यसको नाकारात्मक प्रभाव भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको हो ।
गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट कुल १६ हजार ४३७ वटा प्रज्ञापनपत्र मार्फत कारोबार भएको तुलनामा चालु आवको सोही अवधिमा ४ हजार ५८९ कम अर्थात् ११ हजार ८४८ वटा प्रज्ञापनपत्रमात्र कारोबारका लागि प्रयोग भएका छन् । यो समीक्षा अवधिको तुलनामा २७.९१ प्रतिशत कम हो ।
वीरगञ्ज भन्सार नाकाबाट ग्रीन च्यानलमार्फत हुने कारोबारमा ३९ प्रतिशत, एलो च्यानलबाट हुने कारोबारमा २० प्रतिशत र रेड च्यानलमार्फत हुने कारोबार २७ प्रतिशतले कमी आएको भन्सार कार्यालयले जनाएको छ ।
गत आवको साउन महिनामा ग्रीन च्यानलबाट ४ हजार ६६, एलो च्यानलबाट ४ हजार ३६० र रेड च्यानलबाट ८ हजार ११ वटा प्रज्ञापनपत्र मार्फत कारोबार भएको तुलनामा चालु आवको सोही अवधिमा ग्रीन च्यानलबाट १ हजार ५८०, एलो च्यानलबाट ३ हजार ५१२ र रेड च्यानलबाट ५ हजार ८५० प्रज्ञापनमार्फत कारोबार भएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।
उनले वैदेशिक मुद्राको सञ्चितिलाई सन्तुलित गर्न नेपाल सरकारले १० वटा विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्धकै कारण कारोबार कम भई राजस्व सङ्कलनमा समेत असर परेको बताए ।
असार ३१ गते नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी चारपाङ्ग्रे सवारीसाधन लगायतका विलासीय वस्तुको आयातमा प्रतिबन्ध लगाएपछि वीरगञ्ज नाकाको कारोबारमा कमी हुँदै गएको सूचना अधिकारी गुप्ताले जानकारी दिए ।
उनले आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलन तथा कारोबारमा केही गिरावट देखिए पनि आउने दिनमा राजस्व सङ्कलनमा सुधार हुँदै जाने बताए । सरकारले राजपत्रमा प्रकाशित गरी लगाएको प्रतिबन्ध हटाइएकाले कारोबारमा बढोत्तरी हुँदै जाने विश्वास गरिइएको छ ।
कारोबारमा देखिएको सङ्कुचनकै कारण भन्सारले राजस्व सङ्कलनको मासिक लक्ष्य हासिल गर्न सकेको छैन ।
वि.सं २०७९ साउन महिनाका लागि भन्सार विभागले १५ अर्ब २० करोड सात लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य दिएको तुलनामा कार्यालयले २ अर्ब २१ करोड ८ लाख कम अर्थात् १२ अर्ब ९८ करोड ९९ लाख रुपैयाँ मात्र राजस्व हासिल गरेको अधिकृत गुप्ताले जानकारी दिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया