दर्शकको मन जित्न सफल ‘प्रकाश’को शो थप्दै मल्टीप्लेक्स, ‘प्रचण्ड’ले पनि हेर्ने

0
Shares

गत भदौ १० गतेदेखि विश्वव्यापी रुपमा प्रदर्शनमा आएको चलचित्र ‘प्रकाश’ ले दर्शकको मन जित्न सफल भएपछि मल्टीप्लेक्सहरुले धमाधम शो बढाउन थालेका छन ।

चलचित्र हेरेका दर्शकले दिएको प्रतिक्रिया निकै अब्बल रहेकाले दर्शकको संख्या बढ्दै गएपछि हलहरुले शो बढाउन थालेका हुन ।

सामाजिक सञ्जाल फेसबुक र ट्वीटर प्रयोगकर्ताहरुले ‘प्रकाश’ हेरेपछि आफ्ना साथीहरुलाई चलचित्र हेर्न सिफारिस गरिरहेको देखिन्छ । चलचित्रका हरेक पक्ष उत्कृष्ट रहेको भन्दै चलचित्र हेर्न धेरैले आग्रह गरिरहेका छन् । माउथ पब्लिसिटीमा निकै अब्बल साबित चलचित्र ‘प्रकाश’ले शनिबार उत्साहजनक व्यापार गरेको थियो।

आइतबार र सोमबार शनिबारको तुलनामा केहि कम व्यापार भएपनि मंगलबार भने अधिकांश शोहरु हाउसफूल भएको निर्माता महेन्द्र अधिकारीले जानकारी दिए । मंगलबार हरितालिका तीज परेकाले पनि चलचित्र हेर्न अधिकांस महिला दिदीबहिनीहरु पुगेको पनि उनले बताए ।

चलचित्रको व्यापारमा ‘अफ डे’ मानिने आइतबार र सोमबार पनि चलचित्रको अकुपेन्सी उल्लेख्य रहेको भन्दै मंगलबारबाट चलचित्रको शो थपिएको हो। मंगलबार परेको हरितालिका तिजलाई समेत ध्यानमा राखेर मल्टीप्लेक्सहरुले शो थपेको बुझिएको छ।

सिभिल मलमा रहेको क्यूएफएक्सका म्यानेजर शंकर नेपालले त ‘कबड्डी ४’ पछि ‘प्रकाश’मा यतिका दर्शक आएको बताएका छन् ।

‘प्रकाश’ का लागि क्यूएफएक्स च्यानलले दुई शो थप गर्दै २८ शो उपलब्ध गराएको छ भने बिग मुभिजले पनि दुई शो थप गर्दै चार शो उपलब्ध गराएको छ।

यस्तै बिश्वज्योति सिनेप्लेक्सले पाँच शो, वान सिनेमाले आठ शो उपलब्ध गराएको छ। यस्तै बिएसआर, एफक्यूव, आइएनआई सिनेमा लगायतका मल्टीप्लेक्सहरुले पनि चलचित्रको शो थप गरेका छन्।

माउथ पब्लिसिटी बलियो हुँदा हलमा दर्शकहरूको संख्या दिनदिनै बढिरहेको निर्माण टिमले जनाएको छ। दर्शकको डिमान्ड बढेकै कारण हलहरूले शो थप गरेको निर्माण टिमको भनाई छ।

नियमित चलत्रिमा भन्दा फरक देखिएका अभिनेता प्रदीप खड्काको ‘प्रकाश’ अवतारलाई दर्शकले रुचाएका छन् । उनका फ्यान सामाजिक सञ्जालमा समेत फिल्मको प्रचारमा जुटेका छन् ।

चलचित्रले माओवादी द्वन्द्व पश्चात देश शान्ति प्रक्रियामा आइसकेपछि एक युवाले शिक्षक बन्न गर्ने सङ्घर्षको कथा प्रस्तुत गर्छ । समाज , राजनीति , पारिवारिक द्वन्द्वकै सेरोफेरोमा ‘प्रकाश’ को कथा र यात्रा छ ।

फिल्मलाई बिनिस इन्टरटेनमेण्टको ब्यानरमा महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दिया मास्के, रेनु योगी, प्रकाश घिमिरे, नीरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रको एसोसियट डाइरेक्टरमा अष्ट्रेलियमा फिलम सम्बन्धी अध्ययन गरिरेहका ज्ञान थापा रहेका छन्।

विकास सुबेदीको लेखन रहेको चलचित्रमा राजेश श्रेष्ठको छायाङ्कन, जीवन थापाको सम्पादन, सुवास भुसाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत, उत्तम न्यौपानेको साउन्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत रहेको छ ।

‘प्रचण्ड’ले पनि हेर्ने

यसै क्रममा पूर्व प्रधानमन्त्री एंवम नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड भदौ १५ गते बुधबार चलचित्र प्रकाश हेर्न जाने निमार्ण पक्षले जानकारी दिएको छ । प्रचण्डले बुधबार बिश्वज्योती हल जमल काठमाडौमा साझ ६ बजे चलचित्र “प्रकाश “ हेर्ने कार्यक्रम तय भएको छ ।

चलचित्र प्रकाशलाई अर्थमन्त्री जनार्दन शर्माले पनि सफलताको शुभकामना व्यक्त गरेका छन । चलचित्र निमार्ण टिमसँगको भेटमा अर्थमन्त्री शर्माले समय मिलाएर चलचित्र हेर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

यस्तै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चलचित्र ‘प्रकाश’को कथा निकै सशक्त रहेको बताएका छन् । गत आइतबार नाइट शोमा चलचित्र हेरेका थापाले ‘प्रकाश’ ले धेरै कुराहरु भनेको छ भन्दै आफुलाई बेपत्ता परिवारको कथा निकै सशक्त लागेको प्रतिक्रिया दिए ।

जुम्लाको जनजीवन, भाषा र त्यहाँको समाज बुझ्न चाहने जो कोहीलाई पनि यो चलचित्रले अन्तै बसेर जुम्ला देखाउन सक्षम रहेको उनको भनाई छ ।

चलचित्रले दर्शक, चलचित्रकर्मी र समिक्षक सबैबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ । दर्शकको प्रतिक्रिया अब्बल रहदा चलचित्रले आगामी दिनमा पनि उल्लेख्य व्यापार गर्न सक्ने देखिएको छ ।

कर्णालीको परिवेशमा एक युवाको शिक्षक बन्ने सपना र संघर्षको कथा भनेको चलचित्रलाई विदेशमा चलचित्र हेरेका दर्शकहरुले समेत रुचाएका छन् । बिभिन्न देशमा चलचित्र हेरेका दर्शकहरुले सामाजिक सञ्जालमा चलचित्रको खुलेरै तारिफ गरिरहेका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।