साढे ६ अर्बमा पाँच तारे होटल बनाउँदै राजेन्द्र शाक्य, एउटा कोठामै २.१५ करोड खर्चिने

0
Shares

व्यवसायीक समुह गुणले ६ अर्ब ५१ करोड रुपैयाँको लागतमा पाँच तारे होटल निर्माण सुरु गरेको छ । समुहले एक कोठामै २ करोड १५ लाख रुपैयाँ खर्चिने गरी उक्त होटलको निर्माण सुरु गरेको हो ।

हस्पिटालिटि विजनेसमा नव प्रवेशी गुण समुहको अध्यक्षमा व्यवसायी राजेन्द्र शाक्य रहेका छन् । समुहले ललितपुरको ग्वार्कोमा निर्माणाधीन उक्त होटलको काम करिब ४२ प्रतिशत सम्पन्न भैसकेको छ । समुहले उक्त योजनाको नाम ‘दी म्यासीफ होटल’ राखेको छ ।

होटलको कुल क्षेत्रफल मध्ये कोठाले ओगटेको जमिनको मूल्य समेत समावेश गर्दा एक कोठाको निर्माण खर्च २ करोड १५ लाख लाग्ने कम्पनीले जनाएको छ । ३०२ कोठा भएको उक्त होटलको कुल निर्माण खर्च ६ अर्ब ५१ करोड ११ लाख रहेको छ । होटल निर्माणको लागि सञ्चालक समूहले सन् २०१८ को अगस्टमा अनुमति लिएको थियो ।

सन् २०१८ देखि निर्माण कार्य सुरु भएयता पनि सन् २०२२ को अन्त्यसम्ममा आइपुग्दा आधा काम पनि हुन सकेको छैन । सन् २०२२ को मध्य जुलाई सम्म होटलका लगानीकर्ताले ३५ प्रतिशत मात्रै वित्तीय जोहो गर्न सफल भएका छन् । होटल निर्माणमा लाग्ने कुल पुँजीमा ७५ प्रतिशत कर्जा र २५ प्रतिशत इक्युटी हुनेछ ।

सन् २०२२ को मध्ये जुलाई सम्म कुल कर्जाको ४० प्रतिशत र कुल इक्युटीको ३१ प्रतिशत मात्रै संकलन भएको छ । निर्माण सुरु गरेको चार वर्षसम्ममा पनि वित्तीय कोषको जोहो बलियो रुपमा गर्न नसक्दा वित्तीय अन्तर भने बढेको छ ।

पुँजी संकलनमा समस्या हुँदा निर्माण कार्य एकरुपताका साथ अघि बढ्न सकेको छैन । विभिन्न व्यवसायमा सफलता हासिल गरेको गुण ग्रुप नै यस होटलको प्रवद्र्धक रहेता पनि होटल व्यवसायको बारेमा पर्याप्त अनुभव नभएका कारण होटल निर्माण कार्यमा आलटाल भइरहेको छ ।

यसका साथै उपत्यका क्षेत्रमा बढ्दै गएका पाँच तारे होटलको सङ्ख्या र बढ्दो प्रतिस्पर्धा दि म्यासीफ होटलका थप चुनौती हुन । होटल निर्माणका लागि आवश्यक पर्ने वित्तको संकलन समयमा नहुनु र निर्माण कार्य एकरुपताका साथ अघि नबढ्दा योजना सम्पन्न गर्न तोकिएको समय बढ्ने सम्भावना उच्च रहेको छ । जसकारण वित्तीय लागत थपिने भएको छ ।

अहिले सम्म होटलको संरचना निर्माण अन्तिम चरणमा पुगेको छ भने इन्टेरियर डिजाइन तथा फर्निसिङको काम सुरु समेत भएको छैन । यसकारण योजना सम्पन्न गर्न दिइएको अवधि लम्बिने भएको छ । वर्तमान परिपेक्षमा बैंकहरुमा तरलता अभावको समस्या देखा परेको छ । यस अवस्थामा ६० प्रतिशत कर्जाको जोहो गर्नु होटलका लगानीकर्तालाई ठूलो चुनौतीको रुपमा देखा परेको छ ।

यस्तै चुनौतीहरुका माझमा दी म्यासीफ होटलले दीर्घकालीन तथा अल्पकालीन ऋणको लागि इक्रा रेटिङ एजेन्सीबाट एलबी र ए४ रेटिङ ग्रेड पाएको छ । होटलले १ अर्ब ९५ करोड बराबरको दीर्घकालीन कर्जाको लागि एलबी रेटिङ पाएको छ भने अल्पकालीन फन्ड आधारित १ अर्ब ९५ करोड ऋण तथा गैर फन्ड आधारित २८ करोड कर्जाको लागि ए४ रेटिङ ग्रेड पाएको छ ।

पाटन दरबार स्क्वायरदेखि २ किलोमिटरको दूरीमा रहेको उक्त होटलले विदेशी तथा स्वदेशी पर्यटकलाई आकर्षण गर्न सक्ने देखिन्छ । पर्यटन क्षेत्रको स्तरोन्नति तथा वृद्धिविकासमा नेपाल सरकारले नै सहयोग गरिरहेको हुँदा यस होटल निर्माणमा पनि सरकारले सहयोग गर्ला भन्नेमा आशावादी हुन सकिन्छ ।

रियल स्टेट, एयरलाइन्स, मिडिया लगायतका विविध क्षेत्रमा सफल मानिएको गुुप प्रवद्र्धक रहेको यो होटल सन् २०२३ को अन्तिमबाट सञ्चालनमा आउने प्रक्षेपण लगानीकर्ताले गरेका छन् । ‘दी होटल म्यासीफ’ कुनै पनि विदेशी वा स्वदेशी होटलसँग आवद्धता नजनाई स्वतन्त्र रुपमा सञ्चालनमा आउने पाँच तारे होटल हुनेछ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।