अन्ततः मर्चेन्ट बैंकरलाई पनि पीइभीसीको अनुमति

0
Shares

नेपाल धितोपत्र बोर्डले मर्चेन्ट बैंकरलाई पनि प्राइभेट इक्वीटी र भेञ्चर क्यापिटल (पीइभीसी) को काम गर्न अनुमति दिएको छ । धितोपत्र बोर्डको सञ्चालक समितिले निर्णय गर्दै मर्चेन्ट बैंकरलाई विशिष्टिकृत लगानी कोषको ब्यवस्थापकको रुपमा काम गर्न अनुमति दिएको हो ।

धितोपत्र बोर्ड सञ्चालक समितिको बिहीबारको बैठकले मर्चेन्ट बैंकरलाई पनि पीइभीसीको काम गर्न अनुमति दिने निर्णय गरेको छ । यो निर्णयसँगै लामो समय देखि अन्योलमा रहेको मर्चेन्ट बैंकरलाई पीइभीसीको काम गर्न दिने नदिने विषयको समेत टुङ्गो लागेको हो ।

एनएमबि क्यापिटल लिमिटेड, एनआईसी एसिया क्यापिटल लिमिटेड, लक्ष्मी क्यापिटल मार्केट लिमिटेड, नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड, एनआईबिएल एस क्यापिटल लिमिटेड र प्रभु क्यापिटल लिमिटेडले बोर्डबाट कोष व्यवस्थापकको अनुमति दिने निर्णय भएको जानकारी बोर्ड अध्यक्ष रमेश हमालले दिए । मर्चेन्ट बैंकरको विषयमा रहेको अन्योलतालाई टुङ्गो लगाउँदै विशिष्टिकृत लगानी कोष योजनाको कोष व्यवस्थापकको रुपमा काम गर्न ६ मर्चेन्ट बैंकरलाई स्वीकृति दिएको बताए ।

धितोपत्र बोर्डले अन्तर्राष्ट्रिय अभ्यासलाई देखाउँदै विशिष्टिकृत लगानी कोष योजनाको कोष व्यवस्थापकको रुपमा काम नगरेको भन्दै अनुमति दिने नदिने निर्णय गर्न सकेको थिएन । तर, धितोपत्र बोर्डले नै ल्याएको विशिष्टिकृत लगानी कोष नियमावली-२०७५ मा भने मर्चेन्ट बैंकरलाई कोष व्यवस्थापको रुपमा काम गर्न दिन सकिने भन्ने व्यवस्था गरेको छ ।

सो व्यवस्था अनुसार आधा दर्जन मर्चेन्ट बैंकरले पीइभीसीको काम गर्ने अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका थिए । बोर्डले नियमावलीको व्यवस्था अनुसार आवेदक मर्चेन्ट बैंकरलाई सैद्धान्तिक सहमति दियो । तर, कोष सञ्चालनको अनुमति दिने विषयमा अन्तर्राष्ट्रिय अभ्यालाई देखाउँदै ढिला गरिएको थियो ।

बोर्डले मर्चेन्ट बैंकरले नभई सहायक कम्पनी वा छुट्टै कम्पनीले मात्र पीइभीसीको काम गर्न सक्ने तर्क दिँदै आएको थियो । यस विषयमा धितोपत्र बोर्ड र मर्चेन्ट बैंकरबीच बारम्बार छलफल पनि भएको थियो । अन्ततः धितोपत्र बोर्डले मर्चेन्ट बैंकलाई पनि पीइभीसीको काम गर्न अनुमति दिएको छ । यसभन्दा अघि २ पीइभीसी सञ्चालनका लागि नै भनेर स्थापना भएका अवसर र आध्यान्त इक्वीटीलाई विशिष्टिकृत लगानी कोष सञ्चालनको अनुमती प्रदान गरिसकेको छ ।

भेन्चर क्यापिटलले नयाँ र साना सुरुवाति कम्पनीहरुमा संयुक्त पूँजी लगानी गर्छन् । यसको विशिष्टता भने सुरुवाति स–साना कम्पनीहरुमा इक्वीटी र ऋणको लगानी गर्नु हो । आज लगानी गर्ने, व्यवस्थापन सम्हाल्ने, आम्दानी र मुनाफा बढाउने, अनि कम्पनी नै बिक्री गरेर नाफा कमाउने काम भेन्चर क्यापिटलले गर्छ ।

त्यसैगरी प्राइभेट इक्वीटीले पब्लिकमा रहेको कम्पनीको पूरै इक्वीटी खरिद गरेर प्राइभेटमा परिणत गर्छ । यसले विविध क्षेत्रमा लगानी गर्छ तर प्राथमिक रुपमा भने पब्लिक वा निजी कम्पनीहरुको सम्पूर्ण वा बहुमत सेयर किनेर प्राइभेट बनाउने काम गर्छ ।

भर्खरै स्थापना भएका कम्पनीहरु जसको भोलि ठूलो व्यवसाय हुने सम्भावना र सञ्चालनमा रहेका तर व्यवस्थापनको समस्याका कारण प्रतिफल दिन नसकिरहेको कम्पनीहरुमा लगानी गर्छ । समस्याग्रस्त कम्पनी सस्तोमा खरिद गर्ने, व्यवस्थापनमा सुधार गर्ने र आम्दानी/मुनाफा बढाएर बिक्री गर्ने काम प्राइभेट इक्वीटीले गर्छ । प्राइभेट इक्वीटीले एकै पटकमा एक वा धेरै कोष व्यवस्थापन गर्न सक्छ । प्राइभेट इक्वीटीको लगानी लामो समयको लागि हुन्छ ।

प्राईभेट इक्वीटी तथा भेन्चर क्यापिटल फण्डहरुले विशेष गरी यस्ता क्षेत्रको विस्तृत अध्ययन, जोखिम मूल्याङ्कन तथा व्यवसायको भविष्यका सम्बन्धमा उचित विश्लेषण गरी लगानी गर्ने हुँदा औधोगिकिकरणमा नवप्रवर्तन बढाउनका लागि महत्वपूर्ण योगदान गर्छ ।

त्यसैगरी साना तथा मझौला उद्योग तथा व्यवसायको प्रवर्द्धनमा समेत पीइभीसिको योगदान हुन्छ । साना तथा मझौला उद्योग तथा व्यवसायको प्रवर्द्धनका लागि कर्जा लगानी मात्र नभई पूँजी लगानी गरी व्यवसायको सञ्चालन तथा विस्तारमा प्राविधिक सहयोग गर्नुपर्ने हुन्छ ।

प्राईभेट इक्वीटी तथा भेन्चर क्यापिटल फण्डहरुले यस्ता उद्योगहरुमा आवश्यकता बमोजिम पूँजी लगानी गर्ने, यिनीहरुको विस्तारको सम्भावना हेरि आवश्यकता अनुसार प्राविधिक रुपले सहयोग गर्ने, सञ्चालन तथा वित्तीय सुशासन सुनिश्चित गर्ने लगायतका काम गर्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: १७ भाद्र २०७९, शुक्रबार  १५ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।