सबैले विश्वास गर्ने गरी काम गर्न तथा अस्वस्थ प्रतिस्पर्धा नगर्न बीमा कम्पनीहरुलाई निर्देशन

0
Shares

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमाप्रतिको विश्वसनीयता बढाउनका लागि सबैले विश्वास गर्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएका छन।

बीमा समितिको आयोजनामा लुम्बिनी प्रदेशको बाँके जिल्लाको नेपालगञ्जमा आज बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयका प्रमुख एवम् कर्मचारीहरुसँग भएको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले नागरिकको जीवन तथा सम्पत्तिको बीमा गरेर आर्थिक जोखिम लिने काम बीमा कम्पनीहरुको भएको र त्यसमा सरकारले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए ।

अध्यक्ष सिलवालले देशका ग्रामीण तथा दुर्गम क्षेत्रका विपन्न, गरीव र पिछडिएका बर्गसम्म बीमाको पहुँच नपुगेकाले लघुबीमा कम्पनी स्थापनाको प्रक्रिया अगाडि बढाइएको उल्लेख गर्दै गरीव, विपन्न र पिछडिएका बर्गले आफ्नो क्षमता र चाहना अनुसार बीमा गर्न पाउनुपर्छ भन्नेमा समिति दृढ छ भने ।

अन्तरक्रिया कार्यक्रममा सोधिएका प्रश्नहरुको जवाफ दिदै अध्यक्ष सिलवालले कोरोना बीमाको दाबी भुक्तानीका सम्बन्धमा अर्थ मन्त्रालयमा निरन्तर छलफल भइरहेको र चाँडै नै दाबी भुक्तानी शुरु हुने जानकारी दिए ।

अध्यक्ष सिलवालले बीमा कम्पनीहरुको विद्यमान पूँजीले जोखिम धान्न नसक्ने भएकाले चुक्ता पूँजी वृद्धिको निर्णय गरिएको, बीमा कम्पनीहरुलाई प्रदेश तथा शाखा कार्यालयहरुमा दाबी भुक्तानी सहितको अधिकार प्रत्यायोजन गर्न निर्देशन दिइएको र बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा नगर्न कम्पनीहरुलाई सचेत गराइएको बताए ।

कार्यक्रममा बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले वित्तीय जोखिमांकन राम्रो भएमा आपराधिक घटना हुन नपाउने भएकाले बीमा कम्पनीहरु वित्तीय जोखिमांकन गर्दा बढी चनाखो हुनुपर्ने बताए ।

कार्यक्रममा सहभागीहरुले बीमा कम्पनीका प्रदेश तथा शाखा कार्यालयमा अधिकार प्रत्योजन नहुँदा ससानो दावी भुक्तानीका लागि केन्द्रमै जानुपर्ने बाध्यता रहेको, बीमा व्यवसायमा अस्वस्थ प्रतिस्पर्धा देखिएको, शाखा कार्यालयहरुमा कर्मचारीको अभाव भएको, विपन्न, गरीव र पिछडिएका बर्गको क्षमता र आवश्यकता अनुसारको बीमालेख नभएको, स्वास्थ्य जोखिमांकनको परीक्षणका लागि स्वास्थ्य चौकीहरुमा उपकरणको अभाव भएको लगायतका धारणा राखेका थिए ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।