नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालन नियमावली २०६४ संशोधन गर्ने निर्णय गरेको छ । बोर्डले नयाँ स्टक एक्सचेन्ज ल्याउने तयारी स्वरुप नियमावली संशोधन गरी अर्थमन्त्रालय पठाएको हो ।
बोर्डले संशोधनको निर्णय गर्दै अर्थमन्त्रालय पठाएको नियमावली मन्त्रीपरिषदले पारित गर्नुपर्ने हुन्छ । धितोपत्र बोर्डको गत बुधबार सम्पन्न सञ्चालक समितिको बैंठकले गरेको निर्णय अनुसार नयाँ आउने स्टक एक्सचेन्जको चुक्ता पुँजी ३ अर्ब हुुनु पर्नेछ । बोर्डले हाल ५ करोड रहेको चुक्ता पुँजीलाई ६० गुणाले बढाउने गरी संशोधन गरेको धितोपत्र बोर्डका प्रवक्ता रुपेश केसीले बताए ।

“संशोधित नियमावलीमा स्टक एक्सचेन्जको सेयर हिस्साको विषयलाई पनि बढाइएको छ,” उनले भने,“हाल स्टक एकसचेन्जको सेयर स्वमित्व लिने सक्नेमा बैंक वित्तीय संस्था, सुचिकृत कम्पनी, ब्रोकरहरु रहेकोमा अबदेखि पब्लिक तथा प्राइभेट लिमिटेड कम्पनीहरुले पनि सेयर स्वमित्व लिन सक्ने व्यवस्था थप भएको छ ।”
त्यसैगरी कुनै पनि संगठित संस्थाले स्टक एक्सचेन्जको सेयर स्वामित्व १० प्रतिशत मात्र लिन सक्ने व्यवस्थालाई समेत संशोधन गरी १५ कायम गरिएको उनले जानकारी दिए ।
यसभन्दा अघि पनि धितोपत्र बोर्डले निजी क्षेत्रलाई नयाँ स्टक एक्सचेन्जको अनुमति दिने भन्दै आवेदन पनि मागेको थियो । त्यसका लागि नेपाल सेक्युरिटिज एण्ड डेरिभेटिम एक्सचेन्ज, काठमाडौं स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र हिमालयन स्टक एक्सचेन्जले २०६६ सालमा आवेदन दिएका थिए ।
नयाँ स्टक एक्सचेन्जलाई अनुमती दिने भन्दा पनि अहिलेका लागि नियमावली मात्र संशोधन भएको केसीले बताए । नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिने विषयमा थप निर्णय गर्नु पर्ने जानकारी उनले दिए ।
तर, धितोपत्र बोर्डले नयाँ स्टक ल्याउन इच्छुक लगानीकर्ताको सहजताका लागि धितोपत्र बजार सञ्चालन नियमावली संशोधन गरेको हो । पछिल्लो समयमा नेपाल स्टक एक्सचेन्जको प्रतिस्पर्धि कम्पनी चाहिने भन्दै विभिन्न व्यवसायीक समुह निजी क्षेत्रको नयाँ स्टक एक्सचेन्ज ल्याउने कसरतमा लागेका छन् । सोही कसरतको नतिजा अनुसार धितोपत्र बोर्डले पनि नियमावली संशोधन गरी अर्थ मन्त्रालय पठाएको हो ।
यसभन्दा अघि धितोपत्र बोर्डले धितोपत्र दलाल नियमावलीको समेत संशोधन गर्दै स्वीकृतिका लागि अर्थमन्त्रालय पठाएको थियो ।
मन्त्रालय पठाइएको धितोपत्र दलाल व्यवसायी नियमावली मन्त्रीपरिषदको कानुन समितिमा पुगेको छ । बोर्ड नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिने तयारी स्वरुप धितोपत्र दलाल ब्यवसायी नियमावली संशोधनबाट सुरु गरेको हो ।
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया