एनसेलले सुरु गर्यो फोरजी एलटीई प्रविधिमा आधारित भाेल्टे सेवा


दूर सञ्चार सेवाप्रदायक कम्पनी एनसेलले फोरजी एलटीई प्रविधिमा आधारित भाल्टे सेवा सुरु गरेको छ ।

यो सँगै एनसेलका सेवाग्राहीले स्पष्ट सुनिने हाई डेफिनिसन (एचडी) भ्वाइस कल सेवा प्रयोग गर्न पाउने भएका हुन् ।

आफ्नो भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) सेवा ‘एनसेल भोल्टे’ तीन ब्राण्डका केही मोबाइल सेटबाट व्यावसायिक रुपमा दिन शुरु गरेको एनसेल आजियाटा लिमिटेडले जनाएको छ ।

हाललाई सामसङ, भिभो र ह्वावेका केही मोबाइल सेटहरुमा सेवा उपलब्ध गराएको एनसेलले आफ्नो नेटवर्कभित्र कुरा गर्न १०० मिनेट भोल्टे टक टाइम बोनस दिने भएको छ ।

दूरसञ्चार सेवाका क्षेत्रमा भोल्टे नयाँ प्रविधि हो । यसले उच्च गुणस्तरको हाई डेफिनिसन र छिटो कनेक्ट हुने भ्वाइस कल सेवा प्रदान गर्दछ । भोल्टेमा फोरजी नेटवर्क प्रयोग गरी गुणस्तरीय भ्वाइस कल गर्न सकिन्छ । ग्राहकले अब फोरजी नेटवर्कमा रही फोन गर्दा थ्रीजी नेटवर्कमा नझरी हाल लाग्दै आएको सामान्य कल शुल्कमा नै उच्च गुणस्तरको भ्वाइस कलका साथै डेटा सेवा चलाउन सक्छन् ।

भोल्टे सेवाको सफलतापुर्वक सफ्ट लन्च सम्पन्न गरि एनसेलले भदौ १६ गते बिहीबार देखि व्यवसायिक रुपमा भोल्टे सेवाको सुरुवात गरेको हो । हालको सुरुवाती चरणमा ग्राहकहरुले सामसङका ग्यालेक्सी ए ५१, ग्यालेक्सी ए ३३ र ग्यालेक्सी ए ५३, भिभोको वाई ५५, भी २३ र ह्वावेको नोभा ३ आई, वाई ९ प्राइम २०१९ मा भोल्टे सेवा चलाउन सक्नेछन् ।

एनसेलको फोरजी सिम अर्थात यूसिम भएका र माथि उल्लेख गरिएका मोबाइल सेट प्रयोग गर्ने ग्राहकहरुले एस्ट्रिक्स १७२०१ ह्यास डायल गरि एनसेल भोल्टे सेवा सुचारु गर्न सक्छन् । यो सेवा सुचारु गरेसँगै ग्राहकले एनसेल नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेट भोल्टे टक टाइम बोनस स्वरुप प्राप्त गर्ने एनसेलले जनाएको छ । उल्लेखित मोबाइल सेटहरु प्रयोग गर्ने ग्राहकले मोबाइलको सफ्टवेयरको पछिल्लो संस्करण भने आफ्नो मोबाइलमा इन्स्टल गरेको हुनुपर्दछ ।

व्यावसायिक रुपमा भोल्टे सेवा संचालनमा ल्याई ग्राहकलाई नयाँ प्रविधिमार्फत सेवा प्रदान गर्न पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ । यो सेवा देशभर धेरै भन्दा धेरै ग्राहकमाझ पुर्याउन भोल्टे चल्ने ब्राण्ड र मोबाइल सेटका मोडलहरु थप गर्दै जाने एनसेलले जनाएको छ ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।