नयाँ स्टक एक्सचेञ्ज आवश्यक छैनः सांसद दाहाल

0
Shares

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद तथा अर्थ समितिका सभापति कृष्णप्रसाद दाहालले सरकारले अनधिकृत तवरले नयाँ स्टक एक्सचेञ्जलाई अनुमतिपत्र दिन लागिएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै दाहालले त्यस्तो नयाँ संस्था आवश्यक नभएको भन्दै सरकारले गलत निर्णय गर्न लागेको आरोप लगाए । हाल सञ्चालनमा रहेका नेपाल स्टक एक्सचेञ्जलाई प्रभावकारी एवं सुदृढ गर्दै आधुनिकीकरण गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

नेपालको पुँजी बजारले नयाँ स्कट एक्सचेञ्ज धान्ने अवस्था नभएको तथा कारोबार घटेर १ अर्बमा सीमित हुन लागेको उनको भनाइ थियो । सांसद दाहालले अनधिकृत तवरले नयाँ स्टक एक्सचेञ्जलाई अनुमतिपत्र दिन लागिएको बताए ।

धितोपत्र बोर्डले हालै निजी क्षेत्रलाई स्टक एक्सचेन्जको लाइसेन्स दिन मिल्नेगरी ‘धितोपत्र बजार सञ्चालन नियमावली, २०६४’ संशोधन गरेको छ । नियमावलीमा बोर्डले एक्सचेन्ज कम्पनीको चुक्ता पुँजी बढाएर न्यूनतम ३ अर्ब बनाएको छ । हाल स्टक एक्सचेन्ज कम्पनीको चुक्ता पुँजी ५ करोड रुपैयाँ छ । हालको एक मात्र स्टक एक्सचेन्ज नेप्से सरकारी स्वामित्व भएकाले बोर्डले चाहेअनुसार सुधार गर्न सकेको छैन । यही कारण पटक पटक नयाँ एक्सचेन्ज कम्पनीको चर्चा उठ्ने गरेको छ ।

आजको सभामा सांसदहरुले राष्ट्रिय तथा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा किसानले समयमा मल तथा बिल पाउन नसकेकोमा उनीहरुले सरकारको ध्यानकर्षण गराए ।

सांसद खेमप्रसाद लोहनीले भूकम्प प्रभावित नागरिकको आवास निर्माणको काम पूरा नभएकाले भूकम्पपछिको पुनःनिर्माण प्राधिकरणको कामलाई व्यवस्थित बनाउन र ४० हजार भूकम्प प्रभावितको समस्याको समाधान गर्न माग गरे ।

सांसद गजेन्द्रबहादुर महतले महाअभियोग लागेका सर्वोच्च अदालतका प्रधानन्यायाधीशले पदीय मर्यादा विपरीत गएर अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाए । सांसद गणेशप्रसाद पहाडीले सिन्धुली जिल्लाका विभिन्न नदीले बस्ती कटान गरेकाले जनजीवन प्रभावित भएको भन्दै तत्काल तटबन्धको प्रबन्ध गर्न सरकारको ध्यानकर्षण गराए ।

सांसद घनश्याम खतिवडाले वास्तविक किसानले प्रभावकारी रुपमा राहत तथा अनुदान पाउन नसकेकामा गुनासो गरे । सांसद कृष्णभक्त पोखरेलले राष्ट्रिय सहमति जुटाएर नागरिकता विधेयक पारित गर्नुपर्नेमा त्यसो नभएकामा आपत्ति प्रकट गरेका छन् ।

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ भाद्र २०७९, मंगलबार  १४ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।