पुर्व अर्थमन्त्री डा. युवाराज खतिवडाले पब्लिक–प्राइभेट पार्टनसिप(पीपीपी) मोडल अनुसार पूर्वाधार निर्माण गर्ने प्रयास नेपालमा असफल भएको बताएका छन् । पीपीपी मोडल पूर्वाधार निर्माणका लागि राम्रो भए पनि नेपालमा सफल हुन नसकेको उनले बताएका हुन ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल उद्योग परिसंघले आयोजना गरेको नेपाल पूर्वाधार सम्मेलनको उद्घाटनमा बोल्दै डा. खतिवडाले दुई कारणले नेपालमा पीपीपी मोडल असफल भएको उनको भनाइ छ । “पहिलो त साझेदारी भन्ने वित्तिकै इमानदारिता चाहिन्छ । जुन दुबैतिर उत्तिकै हुनुपर्छ । तर नेपालमा यस्तो भइरहेको छैन । अर्काे भनेको हाम्रा कयौं कानून समय सान्दर्भिक छैनन्,” उनले भने । लगानी आकर्षित गर्न कयौं कानूनी सुधार भए पनि धेरै कुरामा अझै सुधार हुन बाँकी रहेको खतिवडाको बुझाइ छ ।
सम्मेलनको ‘इन्फ्रास्ट्रक्चर फर ग्रोथ– दी बिग पिक्चर पोस्ट कोभिड सिनारियोे’ सत्रमा विज्ञहरुले विकासका लागि आवश्यक पूर्वाधारको प्रकृति र प्राथमिकता परिवर्तन भएको बताए । कोभिड महामारीले अहिलेसम्मका पूर्वाधार, त्यस्ता पूर्वाधार निर्माणमा अपनाइएका मोडल, सहभागिताजस्ता विषयमा पुर्नविचार गर्नुपर्ने अवस्था आएको उनीहरुको भनाइ छ ।
अर्थतन्त्रलाई गतिशील बनाउन पूर्वाधार पहिलो शर्त भए पनि यसमा वृहत अध्ययन तथा अनुसन्धान, लक्ष्य निर्धारण, जोखिम तथा लाभको हेक्का राख्नुपर्ने राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष समेत रहेका भएका संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी)का वरिष्ठ आर्थिक सल्लाहकार अर्थशास्त्री डा स्वर्णिम वाग्लेले बताए । शासकीय सनकको भरमा अपारदर्शी पूर्वाधार निर्माणबाट बच्नुपर्ने अहिलेको टड्कारो आवश्यकता रहेको उनको भनाइ छ । भविष्यमूखी पूर्वाधार निर्माणमा नेपालले कदम चाल्नुपर्नेमा उनले जोड दिए ।
“पहिलोदेखि तेस्रो औद्योगिक क्रान्तिसम्म नेपालले पर्याप्त काम गरेको छैन । हरेक औद्योगिक क्रान्तिबाट संसारका धेरै देशले लाभ लिए पनि नेपालले यसमा लाभ लिन सकेको छैन । अहिलेको चौथो औद्योगिक क्रान्ति जुन एआई, सूचना प्रविधि, मसिन लर्निङको उदय भएको छ । यस्ता डिजिटल पूर्वाधारमा ध्यान दिन आवश्यक छ,” उनल भने ।
कोरोना महामारीकालमा एसियाली क्षेत्रका देशहरूले १.७ ट्रिलियन अमेरिकी डलरभन्दा बढी गुमाएको एसियाली विकास बैंकले अनुमान गरेको छ । एकातिर महामारीको क्षति अर्काेतिर आधुनिक पूर्वाधारमा गर्नेपर्ने लगानीको दबाब रहेकाले पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहभागिता आवश्यकता बढ्दै गएको छ । पूर्वाधार निर्माणमा निजी क्षेत्रको सहभागिता एसियाली क्षेत्रमा बढ्दै गएको एडीबीका उपाध्यक्ष अशोक लभासाले बताए ।
कोरोना महामारीकालमा एकातिर राजस्व घटेको र अर्कोतिर महामारी नियन्त्रणका लागि सरकारले गर्नुपर्ने खर्चका कारणले नेपालको सार्वजनिक ऋण बढ्दै गएको छ । यही कारणले पनि नेपालले पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई सहभागी गराउनुपर्ने उनको भनाइ छ ।
पूर्वाधारमा हुने लगानी ठूलो रकममा हुन्छ । यसको जोखिम पनि धेरै हुने तर त्यस्तोमा उल्टो हरेक आयोजनामा राजनीतिकरण हुने गरेको लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत राधेश पन्तले बताए । ‘निजी लगानी चाहिन्छ भन्ने कुरामा हामी सबै सहमत छौं । तर यहाँ जुन खालको राजनीतिकरण हुन्छ यो माइन्डसेट परिवर्तन हुन आवश्यक छ’ पन्तले भने ।
पूर्वाधार निर्माणमा लगानीका लागि स्रोतको अभाव तथा निजी क्षेत्रको अनिच्छा भन्दा पनि सरकारी नीति नियमकै कारण अवरोध भइरहेको नेपाल उद्योग परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले बताए । अनुमानयोग्य नीतिको अभावमा कयौं पूर्वाधारका परियोजना प्रभावित भएको उनको भनाइ छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया