उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले मन्त्रालयले रुग्ण ७ उद्योग सञ्चालन गर्नेगरी मोडालिटी तयार भएको बताएका छन्।
मन्त्रालय सम्हालेको ५ महिना अवधिमा आफुले गरेका कामबारे जानकारी दिन बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो बताएका हुन् ।
उनले रुग्ण उद्योगहरुको यसै वर्षदेखि पुनः सञ्चालन र व्यवस्थापनका सम्बन्धमा गठित कार्यदलले यसै वर्षदेखि ७ उद्योगहरु पुनः सञ्चालन र व्यवस्थापनका सम्बन्धमा अर्थ मन्त्रालयको निजीकरण इकाईमा पेस गरिएको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बडूले वर्षदेखि बन्द रहको ती उद्योगहरुमा हेटौंडा कपडा उद्योग, गोरखकाली रवर उद्योग, जनकपुर चुरोट कारखाना, नेपाल ओरियण्ड एण्ड म्याग्नेसाइट प्रालि, नेपाल मेटल कम्पनी, बुटवल धागो कारखाना, विराटनगर जुट मिल रहेको जानकारी दिए ।
मन्त्री बडूले कार्यदलले तयार गरेको मोडालिटी मन्त्रीपरिषद्बाट समेत पास भइ उद्योग सञ्चालन गर्नेगरी अर्थ मन्त्रालयको निजीकरण इकाईमा पेस गरिएको बताए । मंगलबारको मन्त्रिपरिषद बैठकले निजीकरण समितिको सदस्यमा सांसद राजेन्द्र कुमार केसी र कृष्णलाल महर्जनलाई मनोनयन गर्ने निर्णय गरिसकेको छ । यस्तै मन्त्री बडूका अनुसार मन्त्रालय सम्बन्ध १७ वटा सार्वजनिक संस्थानहरुमध्ये ७ वटाको चल–अचल सम्पत्ति यकिन गरी संरक्षणको लागि अभिलेखन कार्य सुरु गरेको छ ।
मन्त्री बडूले विदेशी लगानी प्रक्रियालाई थप सहज बनाउन एकल बिन्दु सेवा केन्द्रलाई प्रविधिमैत्री बनाउने काम अगाडि बढाइएको बताए । उद्योग, वाणिज्य र कम्पनी प्रशासनमा स्वचालित रुट प्रणाली अवलम्बन गर्ने कार्य अन्तिम चरण रहेको उनको भनाई छ । उद्योग विभाग, वाणिज्य विभाग र कम्पनी रजिष्ट्रारको कार्यालयबाट दिने सेवालाई स्वःचालित प्रणालीमा लैजाने अन्तिम चरणमा पुगेको उनले दाबी गरे ।
पाँच महिना अवधिमा नेपाल ढाका कपडालाई ब्राण्डिङ र लेबलिङ गरी स्वदेशी एवं विदेशी बजारमा माग बढाउन पाल्पा र तेह्रथुम जिल्लालाई ढाका राजधानी घोषणा गरी आवश्यक कार्यक्रम अगाडि बढाएको पत्रकार सम्मेलनमा उनले जानकारी दिए ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया