
लगानी बोर्ड नेपालले यही २०७९ भाद्र २९ गते काठमाडौँमा दिगो पूर्वाधार लगानी फोरम (एसआइआइएफ) को आयोजना गर्ने भएको छ ।
दिगो विकास लक्ष्य प्राप्तिका लागि जिआरआईडी अर्थात् हरित, उत्थानशील र समावेशी विकास हासिल गर्ने सम्बन्धमा पूर्वाधार संरचनाहरूको निर्माण तथा लगानी प्रवर्द्धन गर्ने उद्देश्यले दिगो पूर्वाधार लगानी फोरम आयोजना गर्ने भएको हो।
नेपालले विश्व जलवायु सम्मेलन (कोप–२६) मा नेट जीरो कार्बन अर्थात् शून्य कार्बन उत्सर्जनको लक्ष्य प्राप्तिका लागि जाहेर गरेको प्रतिबद्धताका लागि साधन स्रोतको परिचालनमा उक्त फोरम कोशेढुंगा सावित हुने लगानी बोर्डले अपेक्षा गरेको छ ।
यस कार्यक्रमको उद्देश्य हासिल गर्ने पक्षलाई विचार गर्दै लगानीकर्ता/निजी क्षेत्र, नीति निर्माता, विकास साझेदार, बैंक तथा वित्तीय संस्था, विज्ञ/विशेषज्ञ, सञ्चारक्षेत्र लगायत सरोकारवालाहरू साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विशिष्ठ व्यक्तित्वहरू, विकास तथा पूर्वाधार क्षेत्रका विज्ञहरूको सहभागितालाई जोड दिइएको छ ।
कार्यक्रमको समुद्घाटन प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्षबाट हुनेछ । एक दिनका लागि सञ्चालन हुने यस कार्यक्रममा सार्वजनिक–निजी साझेदारी (पीपीपी) परियोजना बैंक, परियोजना विकासका सम्बन्धमा गरिने समझदारीपत्र तथा सम्झौता, परियोजना विकासका अवधारणा, सम्भाव्यता अध्ययन भएका र लगानी सम्भाव्य परियोजनाहरूको बारेमा विज्ञहरू बीचमा सैद्धान्तिक बहस हुनेछ ।
रणनीतिक योजना तथा लगानीकर्ताका लागि व्यवसायिक निर्देशिका (विजनेस गाइड) सार्वजनिक गरी गत वर्ष लगानी बोर्डले दशौं वार्षिकोत्सवको कार्यक्रम आयोजना गरेको र उक्त रणनीतिक योजना कार्यान्वयनको चरणमा रहेको सन्दर्भमा यस कार्यक्रमले उक्त रणनीतिक योजनाको उद्देश्य हासिल गर्न समेत सार्थक हुने अपेक्षा गरिएको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया