नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अर्थतन्त्रमा देखिएको समस्याबाट लयमा फर्किन अझै केही समय लाग्ने बताएका छन।
आइतबार नेपाल उद्योग वाणिज्य महासंघसँग विज्ञापन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष गोल्छाले अर्थतन्त्रमा अहिले देखिएका समस्या फण्डामेन्टल भएको भन्दै लयमा फर्किन केही महिना लाग्ने बताएका हुन ।
अध्यक्ष गोल्छाले लामो समयदेखि अर्थतन्त्रमा समस्याहरु आइरहेको उल्लेख गर्दै अहिलेको अर्थतन्त्रको अवस्थालाई दीर्घकालीन रुपमा समाधान गर्नुपर्ने आवश्यक्ता रहेको बताए। अहिले मुलुकको आर्थिक सूचकहरु चिन्ताजनक अवस्थामा रहेको उनको भनाई थियो ।
उनले उद्योग व्यवसायहरु फस्टाए मात्रै विज्ञापन व्यवसाय बढ्ने बताउँदै अर्थतन्त्र संकुचन हुने अवस्था रहेकाले उद्योग र विज्ञापन व्यवसायसमेत संकुचनमा रहेको टिप्पणी गरे ।
अध्यक्ष गोल्छाले उद्योग वाणिज्य महासंघको भिजन पेपरले नेपालको विज्ञापन बजारको दायरालाई फराकिलो बनाउने कार्यमा ठूलो भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे। उनले कोभिडको कारण विज्ञापन बजार पनि सोचेको जस्तो विस्तार हुन नसकेको बताए।
गोल्छाले नेपालको विज्ञापन बजार कोभिडको प्रभाव नपरेको भए २० अर्ब पुग्ने अवस्थामा रहेको बताए। उनले नेपालमा स्वदेशी विज्ञापन ६० प्रतिशत र विदेशी विज्ञापनको ४० प्रतिशत रहेको बताए।
उनले कम्पनी रजिस्टारको कार्यालयमा २६ सय विज्ञापन एजेन्सीहरु दर्ता भएको पनि बताए। अध्यक्ष गोल्छाले विज्ञापन व्यवसायले ३५ हजार युवालाई रोजगारी दिएको बताए।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया