
तारागाउँ रिजेन्सी होटल्सले गत आर्थिक वर्ष २०७८/७९ मा १८ करोड ८० लाख ८३ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा होटल ३ करोड ५० लाख ७२ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।
गत आवको चौथो त्रैमासको वित्तीय विवरण अनुसार होटलले कुल आम्दानी ८५ करोड ८२ हजार रुपैयाँ आम्दानी गरेको छ । जसमध्ये ७० करोड ५ लाख ३५ हजार रुपैयाँ सञ्चालन आय र १४ करोड ९५ लाख ४६ हजार रुपैयाँ अन्य आय रहेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा होटलले सञ्चालन र अन्य आयबाट २७ करोड १४ करोड ८३ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
चुक्ता पुँजी १ अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ रहेको तारागाउँको जगेडा कोषमा ४४ करोड १६ लाख ३५ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवमा जगेडा कोषमा २४ करोड ३४ लाख १३ हजार थियो ।
होटलले वित्तीय विवरणमा गलत तथ्याङ्क उल्लेख गरेको छ । होटलको नाफा र चुक्ता पुँजीका आधारमा वार्षिक प्रतिसेयर आम्दानी ९.९७ पैसा हुन आउँछ तर होटलले वित्तीय विवरणमा २.४१ रुपैयाँ नोक्सानी देखाएको छ । होटलले नाफामा करअघिको नाफा मात्र उल्लेख गरेकाले करपछि नाफा ऋणात्मक भएको हुनसक्ने आधार बाँकी भएपनि सो सम्बन्धमा होटलले वित्तीय विवरणमा केही उल्लेख गरेको छैन ।
गत आवमा मात्र होइन अघिल्लो आवको इपिएसमा पनि होटलले गलत तथ्याङ्क देखाएर लगानीकर्तालाई झुक्याएको देखिन्छ । अघिल्लो आवमा पनि ३ करोड ५० लाख नोक्सानी रहेकोमा इपिएस १.८६ रुपैयाँ नोक्सानी हुने भएपनि सो वर्षमा पनि होटलले ४.१९ रुपैयाँ नोक्सानीमा रहेको वित्तीय विवरणमा देखाएको छ ।
यस्तै होटलको प्रतिसेयर नेटवर्थ १२३.४१ रुपैयाँ हुन आउने भएपनि वित्तीय विवरणमा प्रतिसेयर नेटवर्थ ११३.६४ रुपैयाँ उल्लेख गरिएको छ ।
यस्ता छन् होटलका समस्याहरू तथा आम्दानी बढाउने रणनीति
आन्तिरक रूपमा कुनैपनि समस्या नहरेको भनेको होटलले बाह्य समस्याहरू भने चाङ नै देखाएको छ । होटल सञ्चालनमा केही बाह्य समस्याहरु समेत उसले औंल्याएको छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ ले विश्व अर्थतन्त्रमा पारेको नकारात्मक प्रभाव स्वरुप आर्थिक वृद्धिदरमा आएको संकुचन, देशको राजनैतिक उताव चढावको कारणले गर्दा पर्यटन क्षेत्रमा पर्ने असर पर्ने देखिएको छ । अस्वभाविक रुपमा भएको मुद्रास्फीति,, देशमा नयाँ नयाँ पाँच तारे होटलहरु खुलेसँगै प्रतिस्पर्धा बढेको तर त्यसै अनुरुप गुणस्तरीय पर्यटक आगमनमा वृद्धि नभएकाले पनि होटलको आम्दानीमा असर पुग्ने देखिएको छ ।
यस्तै पर्यटन सम्बन्धि भौतिक पूर्वाधारहरुको विकास तथा स्तरोन्नती नहुनु, विदेशी मुद्राको विनिमयमा भईरहने उताव चढाव, प्राकृतिक तथा दैविक प्रकोपहरु र अप्रत्यासित रुपमा पर्यटन क्षेत्रमा हुने बन्द तथा हड्ताल जसको कारणले आन्तरिक तथा बाहृय पर्यटकमा पर्ने नकारात्मक प्रभावलाई होटल व्यवस्थापनले समस्याको रुपमा ग्रहण गरेको छ ।
होटलले ग्राहकहरुलाई सहज, ताजगी र नयाँपनको आवास हुने गरि अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय सेवा सुविधाहरु उपलब्ध गराई आम्दानीलाई उल्लेख्य सुधार गर्ने जनाएको छ । खर्चहरुमा मितव्ययीता अपनाई कटौती तथा नियन्त्रण गरि नाफामा सुधार गर्ने प्रयास जारी रहेको होटलको भनाई छ ।
यस्तै प्रतिस्पर्धी बजारमा आफुलाई अग्र स्थानमा अब्बल कायम राखी राख्न उपलब्ध अद्धितिय विशिष्ट स्रोत तथा साधनहरुको समुचित उपयोग गर्दै ग्राहक केन्द्रित सेवा रणनीति अपनाउने जनाएको छ । यस्तै होटलले सेयरधनीहरुलाई जति सक्दो छिटो बढी भन्दा बढी प्रतिफल वितरण गर्ने लक्ष्य रहेको छ ।
बढ्दो व्यवसायिक प्रतिष्पर्धालाई मध्यनजर गर्दै विगत वर्षों देखि चलिरहेका कोठाहरुलाई रेनोभेट तथा अपग्रेड गर्नको लागि नमुना कोठा (मकअप रुम) को रुपमा निमार्णाधिन कोठाहरुको नमुना डिजाइन र लागत निर्धारण गरि सबै कोठाहरु सोही अनुरुप निमार्ण गर्दै जाने जनाएको छ । होटलले तयारी अवस्थामा रहेको स्पेसियालिटी रेस्टुरेन्टमा आक्रामक विक्री रणनीति बनाई उपयुक्त समयमा सञ्चालन गरि बजारमा नयाँ स्वाद पस्कने र ग्राहकहरुलाई आकर्षित गर्ने भएको छ । स्वदेशी तथा विदेशी गाहकहरुलाई लक्षित गरि विभिन्न कार्यक्रम तथा योजनाहरु संचालन गरि विक्री तथा नाफामा उल्लेख्य सुधार ल्याउने रणनीति होटलको छ ।
होटलले आर्थिक वर्ष २०७६/७७ मा पर्यटन व्यवसाय मध्ये सबैभन्दा बढी आयकर दाखिला गरेकोमा राष्ट्रिय कर दिवस २०७८ को अवसरमा नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागद्धारा कदर स्वरुप होटल सम्मानित समेत भएको थियो ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया