अपर अरुणमा एचआइडीसीएलले ५३ अर्ब लगानी गर्ने, यस्तो बन्नेछ आयोजना

0
Shares

अपर अरुण जलविद्युत आयोजनामा स्वदेशी लगानी तर्फ जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको नेतृत्वको सहवित्तीयकरण मार्फत ५३ अर्ब १४ करोड लगानी हुने भएको छ । यस सम्बन्धी समजदारी पत्रमा २०७९ भदौ ३० गते हस्ताक्षर भएको छ ।

हाल अर्थ मन्त्रालयको नेतृत्वमा आयोजनाको लागि ऋण लगानी जुटाउन समन्वय भईरहेको छ। आयोजनाको अध्ययनको लागि आर्थिक सहयोग गरिरहेको विश्व बैंकले आयोजना निर्माणको लागि ऋण लगानी गर्ने आशय व्यक्त गरेको छ।

नेपाल सरकारबाट जलविद्युत आयोजनाहरुमध्ये रुपान्तरणकारी आयोजनाको रुपमा घोषित अपर अरुण जलविद्युत आयोजना (१०६१ मेगावाट) नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी अपर अरुण हाइड्रो-इलेक्ट्रिक कम्पनीबाट प्रवर्धन तथा विकास भईरहेको छ।

संखुवासभा जिल्ला भोटखोला गाउँपालिकामा अवस्थित यस पिकिंग रन-अफ-रिभर आयोजनाको हाल सम्मको अध्ययन अनुसार अरुण नदीमा १८३ मी. लामो र करिव १०० मी उचाईको बाँध निर्माण गरी ८.५ किमी लामो सुरुङ्ग मार्फत पानी ल्याई छोंग्राक स्थीत भूमिगत जलबिद्युतगृहमा खसालिने छ।

आयोजनाबाट बार्षिक करिब ४ अर्ब ५१ करोड युनिट विद्युत उत्पादन हुनेछ। जसमध्ये करिब ३०५ सुक्खायाममा उत्पादन हुनेछ क्ष् उत्पादित विद्युतलाई पावर हाउसदेखि करिब ६ किमी ४०० केभी डबल सर्किटको प्रशारण लाइन निर्माण गरी हाइटार संखुवासभास्थित सबस्टेसनमा जोडिने योजना छ।

हाल सम्मको अध्ययन अनुसार आयोजनाको कुल लागत निर्माण अवधिको ब्याज, मूल्यवृद्धि लगायत सहित १ अर्ब ७५ करोड अमेरिकी डलर (करिब २ खर्ब १४ अर्ब नेपाली रुपैयाँ) रहेको छ । सन् २०२४ को अन्त्य तिर सुरु भई सन् २०३० को अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको हाल सम्भाव्यता अध्ययन कार्य सम्पन्न भई टेन्डर डिजाईन तथा निर्माण सुपरिवेक्षण कार्यको लागि परामर्शदाता छनौट गर्ने कार्य भईरहेको छ।

आयोजनाको पूर्व तयारी कार्य मध्ये आयोजनाको २१ कि.मि. लामो पहुँचमार्ग निर्माण कार्यको लागि बोलपत्रदाता छनौट गर्न प्राप्त बोलपत्रहरुको मुल्यांकन कार्य भईरहेको छ भने आयोजनाको लागि आवश्यक करिव २२५ हेक्टर जग्गाको मुआब्जा निर्धारण भई वितरण गर्ने क्रममा रहेको छ । आयोजनाबाट करिव २२ घरधुरी भौतिक रुपमा बिस्थापित हुनेछन भने आयोजनाको निर्माणबाट वातावरणीय तथा सामाजिक प्रभावहरु तुलनात्मक रुपमा न्यून रहेको अध्ययनबाट देखिएको छ । पहुँच मार्गको निर्माण कार्य सन् २०२३ को पुर्वार्धबाट शुरु गर्ने योजना रहेको छ ।

जलविद्युतको विकास तथा निर्माणमा नेपाली जनताको सहभागिता र स्वामित्व भाव कायम गरि आन्तरिक पुँजिबजारको माध्यमबाट प्रत्येक नेपाली नागरिकलाई जलविद्युत आयोजनाको विकास हेतु शेयर लगानी गर्ने अवसर प्रदान गर्ने र त्यसको समुचित प्रतिफल प्राप्त गर्ने अवसर तयार गर्न सरकारले यस आयोजनालाई जनताको जलविद्युत कार्यक्रम “नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युतको सेयरधनी” मा समावेश गरेको छ ।

आयोजना निर्माणको लागी वित्तिय व्यवस्थापन सहुलियत ऋण तथा शेयर लगानीवाट गरिने छ । हाल अर्थ मन्त्रालयको नेतृत्वमा आयोजनाको लागि ऋण लगानी जुटाउन समन्वय भईरहेको छ । आयोजनाको अध्ययनको लागि आर्थिक सहयोग गरिरहेको विश्व बैंकले आयोजना निर्माणको लागी ऋण लगानी गर्ने आशय व्यक्त गरेको छ ।

यही परिप्रेक्ष्यमा बिदेशी वित्तीय संस्थाहरुबाट ऋण लगानी जुटाउन विश्व बैंकको नेतृत्वमा पहल भईरहेको छ भने स्वदेशी लगानी तर्फ जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडको नेतृत्वको सहवित्तीयकरण मार्फत ५३ अर्ब १४ करोड लगानी गर्ने समजदारी पत्रमा हस्ताक्षर भएको हो ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: ३० भाद्र २०७९, बिहिबार  १८ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।