आवश्यक जानकारी नदिएपछि श्री एयरको रेटिङ वीथड्रल

0
Shares

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले श्री एयरलाइन्सको रेटिङ विथड्रल गरेको छ । कम्पनीले रेटिङका लागि आवश्यक सूचना नदिएपछि विगतमा गरेको रेटिङ फिर्ता लिएको हो ।

कम्पनीले गतवर्ष बैंक ऋणका लागि गरेको रेटिङको समीक्षा गरी पुनःपुष्टि गर्ने क्रममा आवश्यक सूचना नदिएपछि इक्राले रेटिङ नै विथड्रल गरेको जनाएको छ । श्री एयरलाइन्सले दीर्घकालीन र अल्पकालीन ऋणको लागि रेटिङ गर्ने क्रममा आवश्यक कागजात तथा सूचना प्रदान नगरेको इक्राले जनाएको छ ।

आर्थिक गतिविधिको विवरण, आय, व्यय जस्तो जानकारी आवश्यक परेर श्री एयरलाई सम्पर्क गर्न खोज्दा कम्पनीले सहकार्य नगरेपछि क्रेडिट रेटिङ नियमावली अनुरुप रेटिङ वीथड्रल गरेको हो । यस अघि पनि आवश्यक जानकारी नदिएको र कम्पनीले रेटिङ गर्दा सहयोग नगरेकोमा इक्राले ६ महिना अघि रेटिङ वीथड्र गर्ने सूचना सार्वजनिक गरेको थियो । ६ महिनाको समयअवधि भर श्री एयरले रेटिङ कार्य अघि बढाउन कुनै सहयोग नगरेको एजेन्सीको गुनासो छ।

गतवर्ष २ अर्ब ७४ करोड ८४ लाख बराबरको दीर्घकालीन ऋण, १ अर्ब ३५ करोड ४४ लाख बराबरको फन्ड बेस्ड र २२ करोड बराबरको नन्–फन्ड बेस्ड अल्पकालीन कर्जाको लागि क्रमशः एलबी प्लस र ए४ रेटिङ पाएको थियो । ६ महिना अघि रेटिङको समीक्षा गरी पुनःपुष्टि गर्न इक्राले श्री एयरसँग सम्पर्क गर्न खोजेको तर कम्पनीले सहकार्य नगरेपछि रेटिङ घटाएको थियो ।

 १९९९ बाट सञ्चालनमा आएको श्री एयरलाइन्सले डोमेस्टीक ट्रङक रुटमा उडान गर्दै आएको छ । यसका साथै श्री एयरले हेलिकप्टर चार्टडको सुविधा पनि दिँदै आएको छ । गत वर्ष रेटिङ गर्ने क्रममा श्री एयरले ६ बम्बार्डियर एयरक्राफ्टबाट उडान भर्दै आएको थियो । रोटर वीङ क्षेत्रमा श्री एयरका ६ वटा एमआई हेलिकप्टर र दुई एयरबस हेलिकप्टर सञ्चालनमा रहेका छन् ।

सुधीर मित्तलको एकल स्वामित्वमा रहेको श्री एयरले माउन्टेन फलाइटको सुविधा पनि दिँदै आएको छ । विशेषगरी श्री एयरले सिमरा, पोखरा, जनकपुर, नेपालगन्ज, धनगढी, भद्रपुर, बिराटनगर, भैरहवासम्म उडान भर्दै आएको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।