बैंकहरुले समस्यालाई अवसर मानेर कमाउन थाले : शेखर गोल्छा

0
Shares

नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष शेखर गोल्छाले बैंकले समस्यालाई अवसर मानेर कमाउन थालेको आरोप लगाएका छन् ।

‘नाडा इभी एक्स्पो २०२२’ को उद्घाटन सत्रमा बोल्दै अध्यक्ष गोल्छाले वर्तमान समस्यालाई बैंकहरूले अवसरको रुपमा उपयोग गरेर बैंकहरुले जथाभावी रुपमा ब्याजदर र ऋणको प्रिमियम वृद्धि गरिरहेको बताए । व्यवसायीहरुलाई पेलेर बैकहरु नाफा कमाउने ढंगमा अगाडि बढेको भन्दै अध्यक्ष गोल्छाले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

विश्व महामारी कोभिड–१९ र तरलता संकटको भुमरीमा परिरहेका व्यवसायीहरुलाई बैंकहरुको ब्याजदर वृद्धिले थप मारमा परेको उनको भनाई छ । बैंकहरुले जथाभावी ब्याजदर बढाइरहेकाले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकलाइ तत्काल हस्तक्षेप गरेर नियन्त्रण गर्न उनले माग गरे ।

कोभिडपछि नेपाल राष्ट्र बैंकले लिएको नीतिका कारण अर्थतन्त्रमा संकट पुगेको उनको भनाई छ । हालको अर्थतन्त्रमा देखिएको संकट बाह्य कारण भन्दा आन्तरिक समस्या बढी भएको उनको भनाई छ । अहिले पनि अर्थतन्त्रका आधारहरु बलिया रहेकाले सबै क्षेत्रले आत्मासाथ गरेर संकटलाई समधान गर्नुपर्ने उनले बताए । तरलता संकटको बोझ सबैले बोक्नुपर्ने बताएका अध्यक्ष गोल्छाले रेमिट्यान्स पठाउने युवाहरु विदेशिने क्रम १० प्रतिशत बढीले बढेकाले शोधानान्तर स्थितिमा पनि क्रमिक रुपमा सुधार आउँदै गरेको बताए ।

नेपाल राष्ट्र बैंकले कर्जा पुँजी निक्षेप (सीसीडी) अनुपात हटाएर कर्जा निक्षेप अनुपात (सीडी) लागू गर्दा समेत समस्या आएको उनको बुझाई छ । अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकबीचको चिसिएको सम्बन्धले पनि समस्या ल्याएको उनले बताए । आयात प्रतिबन्ध समस्याको समाधान नभएको भन्दै उनले सरकारलाई आयात प्रतिबन्ध खुलाउन आग्रह गरे । अर्थमन्त्री शर्मा प्रतिलक्षित गर्दै उनले आयात रोक्ने निर्णयले अर्थतन्त्र ठिक बाटोमा नजाने र राजस्व वृद्धिमा समेत असर पुग्ने भन्दै उनले तत्काल गाडी आयात खुला गर्न माग गरे । अन्य वस्तुहरुको आयात रोकेपनि सवारी साधनको प्रतिबन्ध तत्काल खुलाउनुपर्ने उनको माग थियो ।

यस्तै उनले वस्तु आयातका लागि प्रतितपत्र खुला गर्दा राख्नुपर्ने आयातको नगद मार्जिन हटाउन अर्थमन्त्री समक्ष माग गरेका छन् । राजस्व वृद्धि गर्न पनि आयात खुलाउन आवश्यक रहेको उनको भनाई छ । सरकारले बजेट मार्फत लिएको ८ प्रतिशतको नगद अनुदानले निर्यातकर्ता उत्साहित रहेकाले निर्यात वृद्धि हुँदै जान थालेकाले अगामी समयमा राम्रो हुनेमा उनले विश्वास व्यक्त गरे ।

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जाको ब्यवस्था पुनरावलोकन गर्न समेत माग गरेका छन् । नेपाल राष्ट्र बैंकले दुई करोड वा सोभन्दा कम रकमको चालु पुँजी कर्जा जारी गर्दा यस्तो कर्जाको सीमा कम्पनीको अनुमानित वार्षिक कारोबारको अधिकतम २० प्रतिशतले हुन आउने रकमसम्म मात्र कायम गर्नुपर्ने गरी तोकेको छ । दुई करोडभन्दा माथिको चालु पुँजी कर्जा जारी गर्दा भने यस्तो कर्जा स्थायी रूपमा चाहिने वा आवश्यकता अनुसार हो निर्धारण गर्नुपर्ने हुन्छ ।

आवश्यकता अनुसारको मागमा यस्तो कर्जा जारी गर्दा कम्पनी वा संस्थाको वार्षिक कारोबारको अधिकतम २५ प्रतिशतले हुन आउने रकमसम्म सीमा कायम गर्नुपर्छ । एक वर्ष वा सोभन्दा कम अवधिका लागि जारी हुने यस्तो कर्जा लिनेको सञ्चालन चक्र आदीको विश्लेषण गर्दा विशेष प्रकृतिको आवश्यकता देखेमा कर्जा फाइलमा सो कारणहरू उल्लेख गरी अनुमानित वार्षिक कारोबारको अधिकतम ४० प्रतिशतसम्म कुल चालु पुँजी कर्जा सीमा कायम गर्नसक्ने व्यवस्था चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, २०७९ मा गरिएको छ ।

नेपाल राष्ट्र बैंकले भदौ पहलिो साता जारी गरेको सो मार्गदर्शन आगामी कात्तिक १ गतेदेखि बैंक तथा वित्तीय संस्थाबाट प्रदान हुने चालू पुँजी प्रकृतिका कर्जा सम्बन्धमा लागू हुनेछ ।

बिहीबारदेखि नाडा अटोमोबाइल्स अफ नेपालले विद्युतीय सवारीसाधन (इलेक्ट्रिक भेइकल–इभि) को प्रदर्शनी ‘नाडा इभी एक्स्पो २०२२’ थालेको हो । उक्त एक्स्पो असोज ६ गतेदेखि चारदिनसम्म अर्थात असोज ९ गतेसम्म चल्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।