वर्ल्ड बैंकले सन् २०२२ मा नेपालको आर्थिक वृद्धि दर ५.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।
म्याक्रो इकोनोमिक अपडेट सार्वजनिक गर्दै वर्ल्ड बैंकले नेपालको सन् २०२३ को आर्थिक वृद्धि दर ५.१ प्रतिशतबाट खुम्चिएर ४.९ प्रतिशत हुने अनुमान गरेको छ ।
कोभिड महामारीपछि पुनरुत्थान तर्फ जाँदै गरेको अर्थतन्त्र, पर्यटक आगमनमा वृद्धि, जलविद्युत उत्पादनमा भएको बढोत्तरीका कारण औद्योगिक उत्पादनमा आएको वृद्धि जस्ता सबल पक्ष र संकुचित मौद्रिक नीति, उच्च मूल्यवृद्धि जस्ता अर्थतन्त्रका मूलभूत पक्षहरुलाई ध्यानमा राखी वल्र्ड बैंकले उक्त प्रक्षेपण गरेको हो।
सन् २०२२ मा नेपालको सार्वजनिक ऋणमा सुधार आउने, विदेशी सञ्चिति केही हदले वृद्धि हुने भनिए तापनि कर प्रणाली आधुनिकिकरण गर्ने सम्बन्धमा संरचनात्मक चुनौती सामना गर्नुपर्ने वल्र्ड बैंकको उक्त प्रतिवेदनमा उल्लेख छ । यसैगरी नेपालको अर्थतन्त्रलाई दिगो र समावेशी बनाउन वित्तिय संघीयता पूर्णरुपमा लागु गर्नुपर्ने र विदेशी सञ्चिति वृद्धिका लागि प्रत्यक्ष वैदेशिक लगानी जस्ता स्रोतमा ध्यान दिनुपर्ने छ ।
विश्वव्यापी रुपमा उत्पादन हुने हरितगृह ग्यास उत्पादनमा नेपालको भूमिका शून्य रहेता पनि यसको प्रभावका कारण नेपाल जलवायु परिवर्तनको उच्च जोखिममा रहेको छ । वल्र्ड बैंकले गरेको विश्लेषण अनुसार सन् २१०० सम्ममा नेपालको ग्राहस्थ उत्पादन २४ प्रतिशतले खुम्चिने र यसको प्रभाव २१औँ शताब्दीको दोस्रो उत्तरार्ध देखि नै देखा पर्नेछ । जलवायु परिवर्तनको असर न्यूनिकरणका निमित्त एड्प्टीभ र मिटिगेटिभ गरी दुई तरिका अपनाउन सकिन्छ । हाल नेपालले एड्प्टीभ क्षमता विकासमा हरित, उत्थानशील र समावेशी विकास अवधारणा (ग्रीड अवधारणा) अघि सारेको छ ।
यसै सन्दर्भमा नेपाल, माल्दिभस र श्रीलंकाका लागि देशीय निर्देशक फेरिस हडाड जर्भिस भन्छन्, “भूमण्डलीय उष्मीकरणका कारण विश्वव्यापी तापक्रम बढ्दै जाँदा जलवायु परिवर्तनका असरहरु बढ्दै जाने छ । २१ औँ शताब्दीको तेस्रो दशकसम्म जलवायु परिवर्तनले अर्थतन्त्रमा सुस्त गतिमा असर पुराउँदै आएको छ तर पाँच दशक पछि नेपालको ग्रास्थ उत्पादनमा कमी आउदै जाने छ । त्यसकारण जलवायु परिवर्तनको सामना गर्न अवलम्बन गरेको ग्रीड विकास योजना पूर्णरुपमा लागू गर्नुपर्ने छ ।”
सन् २०२२ को अन्त्यसम्ममा नेपालको मूल्यवृद्धि दर ६.३ प्रतिशत कायम रहने अनुमान वर्ल्ड बैंकले गरेको छ भने सार्वजनिक ऋण सन् २०२२ मा जीडिपीको ४१.६ प्रतिशत रहने छ ।
वर्ल्ड बैंकले सार्वजनिक गरेको प्रतिवेदनमा दक्षिण एशिया क्षेत्रको सन् २०२२ को आर्थिक वृद्धि दर ५.८ प्रतिशत रहने उल्लेख छ । यस अघि सन् २०२१ मा दक्षिण एसियाको आर्थिक वृद्धि दर ७.१ प्रतिशत रहेको छ । दक्षिण एशियाका अधिकांश देशहरुको अर्थतन्त्र समस्यामा परेको समयमा भारतको अर्थतन्त्र सकरात्मक देखिएको छ । प्रशस्त विदेशी सञ्चिति हुँदा भारतीय अर्थतन्त्रमा बाह्य झड्काको असर कम देखिएको छ भने पाकिस्तान, श्रीलंका, नेपाल, माल्दिभस लगायतका देशहरु समस्यामा परेका छन् ।
कोभिड पछिको समयमा पर्यटन उद्योग मौलाउँदा माल्दिभ्सको अर्थतन्त्रमा सुधार आएको थियो भने रुस–युक्रेन युद्धका कारण पर्यटक आगमनमा कमी आउँदै गएपछि माल्दिभ्सको आर्थिक वृद्धिदरमा कमी आएको छ ।
यसैगरी शिथिल अर्थतन्त्र भएको श्रीलंकाको आर्थिक वृद्धि दर सन् २०२२ मा ९.२ प्रतिशतले र सन् २०२३ मा ४.२ प्रतिशतले खुम्चिने प्रक्षेपण वर्ल्ड बैंकले गरेको छ । यसैगरी विदेशी सञ्चितिमा कमी आउँदा आर्थिक असन्तुलन र जलवायु परिवर्तनका कारण देशको एक तिहाइ भूभाग नै डुबानमा परेको पाकिस्तानको अर्थतन्त्र अन्योलता तर्फ लम्किएको छ ।
यसैगरी दक्षिण एसिया क्षेत्रको मूल्यवृद्धि दरमा कमी आउनु अघि बढेर ९.२ प्रतिशत सम्म पुग्ने प्रक्षेपण वर्ल्ड बैंकले गरेको छ ।
? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया