बैंकहरुको ऋणपत्र सञ्चय कोषका लागि असुरक्षीत, लगानी गर्न ऐन बाधक

0
Shares

-सुरेन्द्र थापा ।

कर्मचारी सञ्चय कोषले बैंक/वित्तीय संस्था तथा अन्य संगठित संस्थाले निष्काशन गरेको डिवेञ्चर लगानीका लागि असुरक्षीत ठहरीएको छ । कर्मचारी सञ्चय कोष ऐन २०१९ अनुसार सुरक्षीत वित्तीय औजारमा मात्र लगानी गर्ने व्यवस्थाले बैंक वित्तीय संस्थाको ऋणपत्रमा लगानी गर्न नपाउने भएको हो ।

कोषले चाहेर पनि बैंक वित्तीय संस्थाको डिवेञ्चरमा लगानी गर्न नसक्ने कर्मचारी सञ्चय कोषका सह प्रशासक राजेन्द्र काफ्लेले बताए । “ऐन अनुसार सुरक्षीत किसिमको अर्थता सम्पत्तीले ब्याक सर्पोट गरेको ऋणपत्रमा मात्र लगानी गर्न सकिने व्यवस्था छ,” उनले भने,“त्यसलाइ शंशोधन नगर्दा सम्म बैंक वित्तीय संस्थाको डिवेञ्चरमा लगानी गर्न मिल्दैन, २०७३ सालमा भएको ऐनको नवौ संशोधनमा छुटेछ ।”उनले भने ।

सरकारले वण्ड मार्केटलाइ पनि विस्तार गर्ने भनेपछि नेपाल राष्ट्र बैंकले चुक्ता पूँजीको २५ प्रतिशत बराबर ऋणपत्र जारी गरिसक्नु पर्ने अवधि २०७८ असार मसान्त कायम गरेको छ । त्यसका साथै हरेक बैंकले चुक्ता पूँजीको २५ प्रतिशत अनिवार्य रुपमा डिबेञचर निष्कासन गर्नुपर्ने व्यस्था समेत गरेको छ । डिवेञ्चर निष्कासन गर्ने बैंकहरुको ऋणपत्रको शतप्रतिशत रकम कर्जा प्रवाहका लागि उपयोग गर्न सक्ने व्यवस्था समेत मौद्रिक नीतिले गरेको छ ।

तर, संस्थागत डिवेञ्चरमा लगानी गर्ने संस्थागत लगानीकर्ता कर्मचारी सञ्चयकोषले यसरी निष्कासीत डिवेञ्चरमा लगानी गर्न सक्दैन । देशको सवैभन्दा ठुलो कोष भएको कर्मचारी सञ्चय कोषले लगानी गर्ने अवस्था भएको खण्डमा डिवेञ्चर सब्सक्राइ नहुने समस्या समेत अन्त्य हुने बैंकरहरु बताउँछन । संचयकोषसँग तीन खर्ब भन्दा बढीको कोष छ ।

कर्मचारी सञ्चयकोष ऐन २०१९ अनुसार “डिवेन्चर” भन्नाले कम्पनीले आफ्नो जायजेथा धितो वा जमानत राखी लिएको ऋणको तमसुक सम्झनु पर्छ । कोषले उपयुक्त ठह¥याएको प्रचलित कानून बमोजिम संस्थापित कम्पनी वा सङ्गठित संस्थाले जारी गरेको डिबेन्चरमा लगानी गर्ने, तर त्यसरी डिबेन्चरमा लगानी गर्दा त्यस्तो कम्पनी वा सङ्गठित संस्थाले जारी गरेको कुल डिबेन्चरको पच्चीस प्रतिशतमा नबढ्ने गरी लगानी गर्नु पर्ने व्यवस्था छ । त्यसका साथै ऐनमा “ऋणपत्र” भन्नाले राष्ट्र ऋण ऐन, २०५९ अन्तर्गत नेपाल सरकारले निष्काशन गरेको ऋण सम्झनु पर्छ र यो शब्दले विदेशी सरकरको ऋणपत्र समेतलाई जनाउँछ ।

कोष ऐनको उक्त व्यवस्थाले पछिल्लो समयमा बैंक तथा वित्तीय संस्थाले निष्कासन गरेको डिवेञ्चरमा लगानी गर्ने अवस्था रहदैन । कोषले लगानी गर्नका लागि बैंक वित्तीय संस्थाले निष्कासन गरेको ऋणपत्र कोषको सुरक्षीत लगानी अन्तर्गत पर्दैन । कोषले सरकारी ऋणपत्र, विदेशी सरकारी ऋणपत्र र ब्यकमा सम्पत्तीले सर्पोट गरेको डिवेञ्चरमा लगानी गर्न मात्र सुरक्षीत मान्छ ।

बुधबारदेखि सनराइज बैंकले तीन अर्ब रुपैयाँ तथा विहीबारदेखि प्रभु बैंकले एक अर्ब रुपैयाँ बराबरको डिबेञ्चर निष्काशन गरेका छन् । अन्य केहि वाणिज्य बैंकहरु पनि डिबेञ्चर निष्कासन गर्ने तयारीमा छन् ।