सेयरबजारबाट नाफा कमाउन कस्ता कम्पनीमा लगानी गर्ने र कसरी छान्ने सेयर ?

0
Shares

नेपालीका महान् पर्व दशैं, तिहार, छठ बिदा भएर गइसकेका छन् । तिहारपछिको केही दिन बजार बढ्दा हर्षित देखिएका लगानीकर्ताहरुको खुशी धेरै दिन टिक्न भने पाएन । नेपाली सेयरबजारले बियरिस चक्रमा थोरै गेन गरेता पनि बजारमा बुलिस चक्र आउन सकेको छैन । जसकारण नेपाली लगानीकर्ताहरुको मुहारमा खुशी छैन।

नेपाली सेयरबजारमा बियरिस ट्रेन्ड कायम रहिरहनुको पछाडि आन्तरिक र बाह्य दुवै कारणहरु रहेका छन् । बाह्य दबाबका कारण नेपाली अर्थतन्त्र प्रभावित हुँदा त्यसको प्रभाव वित्तीय क्षेत्रमा समेत परेको छ । बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर बढाउँदा त्यसको प्रत्यक्ष असर पुँजीबजारमा परेको छ । नेपालको पुँजीबजारको अधिकांश हिस्सा बैंक तथा वित्तीय संस्थाले ओगटेको छ ।

वि.सं २०७२ माघदेखि नेपाल धीतोपत्र बोर्डले पूर्णरुपमा अभौतिक धीतोपत्रको कारोबार सुरु गरेपछि दोस्रो बजार स्वचालित भएको छ । जसकारण सेयर कारोबार, राफसाफ फ¥स्यौट र नामसारीको प्रक्रिया पनि स्वचालित रहेको छ । जसकारण सेयरबजारमा लगानी गर्न सजिलो भएको छ ।

सन् २०२० मा विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीको समयमा सेयरबजारमा लगानी गर्ने नवप्रवेशी लगानीकर्ताहरुको सङ्ख्या बढेको छ । कम्पनीहरुले सार्वजनिक निष्काशन गर्दा अकिंत मूल्यमा नै आवेदन दिन पाइने र बढ्दो बजारबाट नाफा आर्जन गर्न सकिने भएपछि सेयरबजारमा नवप्रवेसी लगानीकर्ताहरुको सङ्ख्या बढेको छ ।

केन्द्रीय निक्षेप प्रणालीका अनुसार २०७९ असोज महिनाको अन्तिम सम्ममा नेपालमा ५४ लाख २५ हजार ९ सय ३६ डिम्याट अकाउन्ट रहेका छन् । बढ्दै गएका डिम्याट अकाउन्टहरुले सेयरबजारमा लगानीकर्ताहरु बढाएता पनि नेपालको वित्तीय साक्षरता दर मात्रै १७ प्रतिशत रहेको छ ।

सेयरबजार ओरालो लाग्दै गर्दा छोटो समयमा धेरै नाफा कमाउने आशामा लगानी गरेका र बजार बढ्ने मात्रै होइन घट्छ पनि भन्ने जानकारी नभएका लगानीकर्ताहरु अहिले टाउको समाउने अवस्थामा पुगेका छन् । सेयर किन्दा कम्पनीको आवश्यक अनुसन्धान नगरी साथीभाइको सरसल्लाहमा लगानी गर्दा अहिले अधिकांश लगानीकर्ताहरुले ठूलो घाटा बेहोरिरहेका छन् ।

बजारले बुलिस ट्रेन्डपछि बियरिस र बियरिस ट्रेन्ड पछि बुलिस ट्रेन्ड समाउने प्रक्रिया सामान्य हो । अक्सर नवप्रवेसी लगनाीकर्ताहरु बजारमा बुलिस ट्रेन्ड लिएको बेला आफूले लगानी गरेको कम्पनी नाफामा जाँदा अनुसन्धान नगरी उत्साहित भएर लगानी गर्ने र बियरिस ट्रेन्ड चल्दा निरास भएर घाटा सहेर नै सेयर बेच्ने गरेको देखिन्छ । कुनै समयमा बजार चालकहरुले पमप एन्ड डम्प खेल खेल्दा घाटा बेहोरिरहेका लगानीकर्ताहरुको सङ्ख्या पनि धेरै छ ।

पम्प एन्ड डम्पको भागीदार नबन्न र बजारका स्वार्थ समूहहरुको जालमा नपर्न के गर्ने त ? कसरी लगानीयुक्त कम्पनीहरु छनोट गर्ने भन्ने विषय अधिकांशको मनमा उब्जिएको हुन सक्छ । लगानीयुक्त सेयरहरुको छनोट गर्न ३ सरल उपायहरु अपनाउन सकिन्छ ।

कम्पनीका प्रमोटरहरुको गुणस्तरको अध्ययन गर्ने

कुनै पनि कम्पनीमा लगानी गर्नु अघि लगानी गर्ने कम्पनीको नगद प्रवाह, नाफा र बजारमा उक्त कम्पनीको प्रतिस्पर्धी को छ भन्ने जानकारी लगानीकर्ताले लिनु पर्छ । कुनै पनि कम्पनीको वार्षिक प्रतिवेदनबाट उक्त कम्पनीको वित्तीय अवस्था त थाहा पाइन्छ नै यसका अलवा वार्षिक प्रतिवेदनबाट लगानीकर्ताले कम्पनीका प्रमोटरको बारेमा पनि थाहा पाउन सक्छन् । प्रमोटरको बारेमा अध्ययन गर्दा उनीहरुले लगानीकर्ताहरुको लगानीको गलत फाइदा उठाएको जस्तो लाग्यो भने त्यस्ता कम्पनीहरुमा लगानी गर्नु उपयुक्त हुँदैन ।

यसैगरी कम्पनीले प्रतिवेदनमा सार्वजनिक गरेको नाफा अनुसार कम्पनीको व्यवस्थापन समिति, बोर्डका सदस्य र कम्पनीमा काम गर्ने मानिसहरुले नाफा अनुसारको सेवा सुविधा पाएका छन् या छैनन् भन्ने विषयमा पनि अध्ययन गर्न आवश्यक छ । किनकि कुनै कम्पनीहरु घाटामा गइरहँदा पनि त्यहाँको व्यवस्थापन समिति र कर्मचारीहरुले चर्को तलब तथा सेवा सुविधा प्रयोग गरिरहेका हुनसक्छन् । जसले कम्पनीलाई भ्रष्ट बनाइरहेको हुन्छ । त्यस्तो कम्पनीमा पनि लगानी गर्नु हुँदैन । लगानी गर्दा पनि जोखिम उठाउनु पर्ने हुनसक्छ ।

यसैगरी कम्पनीका बोर्ड सदसयहरुले गर्ने कम्पनीको समीक्षा र विश्लेषण सम्बन्धी प्रतिवेदनहरुको अध्ययन गर्नाले पनि कम्पनीको भविष्य कता जाँदै छ भनेर अनुमान गर्न मदत गर्दछ । यसैगरी कम्पनीको लेखा परीक्षण भएको प्रतिवेदनको अध्ययन गरी कम्पनीको बारेमा थाहा पाउन सकिन्छ र त्यसै अनुसार अध्ययन गर्न सकिन्छ।

कम्पनीका वित्तीय मापकको अध्ययन गर्ने

लगानी गर्नु अघि लगानीकर्ताले लगानी गर्ने कम्पनीको आम्दानी वृद्धि दर, सञ्चालन नाफा, कर्जा पुँजी अनुपात, लगानीमा प्रतिफल, खुद नाफा जस्ता वित्तीय मापकहरुको अध्ययन गर्नुपर्छ ।

कम्पनीमा लगानी गर्नु अघि कम्तीमा पनि कम्पनी ३–५ वर्षको आम्दानी वृद्धि दरको बारेमा अध्ययन गर्नुपर्छ । कम्पनीको वृद्धि दर एकनास र घट्दो नभई बढ्दो क्रममा छ भने त्यस्ता कम्पनीमा लगानी गर्दा जोखिम धेरै हुँदैन ।

यसैगरी कम्पनीको आम्दानीमा वृद्धि भइरहेको छ भने कम्पनीको सञ्चालन नाफा पनि कम्रिक रुपमा बढ्छ । कम्पनीको आम्दानी बढिरहेको छ र खर्चमा वृद्धि भएको छैन भने त्यस्ता कम्पनीको सञ्चालन नाफा उच्च हुन्छ । यसता कम्पनीहरुमा लगानी गर्दा उचित देखिन्छ ।

खुद नाफा त्यस्तो वित्तीय मापक हो, जसले लगानीकर्ताहरुलाई कम्पनीले कति नाफा प्रदान गर्न सक्छ भन्ने जानकारी दिन्छ । तसर्थ लगानीकर्ताले कुनै पनि कम्पनीमा लगानी गर्नु अघि कम्पनीको ३–५ वर्षको खुद नाफाको अध्ययन गर्नु आवश्यक हुन्छ ।

यसका साथै कम्पनी कर्जा पुँजी अनुपातको बारेमा पनि अध्ययन गर्नु आवश्यक छ । यदि कम्पनीको पुँजी भन्दा कर्जा त्रेरै छ भने त्यस्ता कम्पनीहरुमा लगानी गर्नु उपयुक्त हुँदैन । यसैगरी कम्पनीले पछिल्ला वर्षहरुमा लगानीमा प्रतिफल कति दिइरहेको छ भन्ने जानकारी लिनु लगानीकर्ताका लागि आवश्यक देखिन्छ । कम्पनीले दिने लगानीमा प्रतिफलका आधारमा नै लगानीकर्ताहरुले कति प्रतिफल पाउँछन् भन्ने निश्चित हुन्छ । त्यसकारण पनि लगानीकर्ताहरुले लगानीमा प्रतिफल विवरणको अध्ययन गर्नुपर्छ ।

भ्यालु स्टक कम्पनीमा लगानी गर्ने

बजारमा बियरिस ट्रेन्ड चलिरहेको समयमा लगानीकर्ताहरुले भ्यालु स्टकमा लगानी गर्न सक्छन् । सामान्यतः भ्यालु स्टक भन्नाले स्थिर प्रतिफल दिने तर अन्य स्टकको तुलनामा क्रमिक रुपमा सस्तो मूल्यमा पाउने स्टक भनेर बुझ्न सकिन्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ कार्तिक २०७९, बिहिबार  १५ : ४७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।