रियल स्टील्सको आम्दानी १८% ले बढ्यो, एक अर्ब ३७ करोड बढीको काराबोर

0
Shares

विरगञ्जका उद्योग व्यवसायीहरु प्रमोटर रहेको रियल स्टील्स उद्योगको कारोबार अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ ।

सन् २०२२ मा रियल स्टील्स उद्योगले १ अर्ब ३७ करोड ५० लाख (अपरिष्कृत) कारोबार गर्न सफल भएको छ । गत वर्ष १ अर्ब १५ करोड ८० लाख (परिष्कृत) बराबरको कारोबार गरेको रियल स्टील्सको यो वर्षको आम्दानी १८ प्रतिशतले बढेको छ ।

सन् २०१८मा स्थापना भई सन् २०२० बाट एमएस पाइप, सटर पत्ति, सटर गाइड, हट रोल्ड कोइल, कोल्ड रोल्ड कोइल, लक प्लेट उत्पादन गर्दै आएको छ । कम्पनीको प्रतिवर्ष ४९ हजार ८ सय मेट्रिक टन एमएस पाइप, सटर पत्ति, सटर गाइड उत्पादन क्षमता रहेको छ।

स्थापनाको केही वर्षमै राम्रो आम्दानी गर्न सफल भएको रियल स्टील उद्योगका वित्तिय मापकहरु बलियो देखिएका छन् । उद्योगको यस वर्षको अर्मोटाइजेसन, डिप्रिसिएसन, ब्याज, भाडा अघिको नाफा सञ्चालन आम्दानीको ८.१० प्रतिशत रहेको छ । सन् २०२१मा उक्त नाफा सञ्चालन आम्दानीको १०.८५ प्रतिशत रहेको थियो ।

कच्चा पदार्थको मूल्यमा भएको वृद्धिका कारण यस वर्षको सञ्चालन आम्दानीमा वृद्धि भएता पनि अर्मोटाइजेसन, डिप्रिसिएसन, ब्याज, भाडा अघिको नाफामा भने कमी आएको छ । यसैगरी उद्योगको कर्जा र सेयरधनीहरुको सेयर अनुपात (गियरिङ अनुपात)मा पनि सुधार आएको छ । गत वर्ष ४.०६ रहेको गियरिङ अनुपात यो वर्ष ३.९९ रहेको छ ।

यसै क्रममा १ अर्ब ५० करोड ६९ लाख ३० हजार बराबरको दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि केयर रेटिङ एजेन्सीले डबल बी माइन्स र ए४ रेटिङ गरेको छ । ४३ करोड १९ लाख ३० हजारको दीर्घकालीन कर्जाका लागि एजेन्सीले डबल बी माइन्स रेटिङ गरेको छ भने १ अर्ब ७ करोड ५० लाख बराबरको अल्पकालीन कर्जाका लागि केयर रेटिङले ए४ रेटिङ गरेको छ ।

कच्चा पदार्थको मूल्य वृद्धि हुँदै जानु, विदेशी विनिमयमा रुपैयाँ कमजोर हुनु, चालु पूँजीमा धेरै निर्भर रहनु, बैंकको ब्याजदर निरन्तर रुपमा बढ्नु र स्टीलका सामाग्री उत्पादन कम्पनीहरुबीचमा चर्को प्रतिष्पर्धा हुनु रियल स्टील्स उद्योगका चुनौतीहरु रहेका छन् ।

तथापि नेपाल विकासोन्मुख राष्ट्र भएका कारण भौतिक पूर्वाधार विकासका लागि सरकारी पक्षबाट अर्बौ बजेट छुट्टिनु, निर्माण कार्यहरु तीव्र रुपमा अघि बढ्नाले नेपालमा स्टीलबाट उत्पादित निर्माण सामाग्रीहरुको माग बढ्नु रियल स्टील्स उद्योगका लागि सुखद पक्ष रहेको छ ।

यसैगरी सीमा क्षेत्रबाट नजिकै उत्पादन प्लान्ट हुनाले पनि उद्योगलाई कच्चा पदार्थ आयात र ढुवानीमा सहजता प्रदान गरेको छ । उद्योग हब–वीरगन्जका उद्योग व्यवसायीहरुकै संलग्नता रहेको यस उद्योगको अध्यक्ष र प्रबन्घ निर्देशक प्रेम कुमार जतिया रहेका छन् भने कार्यकारी निर्देशक दिपल खन्ना रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० कार्तिक २०७९, आइतबार  १५ : ४२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।