कोरियन प्रतिनिधिमण्डललाई नेपालमा लगानी, प्रविधि ल्याउने कार्यमा सहयोग गर्न महासंघको आग्रह

0
Shares

नेपाल उद्योग वाणिज्य महासंघका कार्यवाहक अध्यक्ष चन्द्र प्रसाद ढकाल र कोरियन प्रतिनिधिमण्डल बीच महासंघ सचिवालयमा सोमबार औपचारिक भेटवार्ता भएको छ ।

महासंघका पदाधिकारीहरू र कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनको नेतृत्वमा नेपाल भ्रमणमा आएको तीन सदस्यीय प्रतिनिधिमण्डल बीच आज भेटवार्ता भएको हो ।

भेटमा नेपाल कोरिया बीच आपसी आर्थिक व्यवसायिक सम्बन्ध विस्तार, पर्यटन, पूर्वाधार, कृषि, उर्जा, औद्योगिक विकासमा कोरियन लगानी, प्रविध तथा कोरियाको अनुभव आदान प्रदान, वातावरण संरक्षण लगायतका विषयमा छलफल भएको छ ।

महासंघका कार्यवाहक अध्यक्ष ढकालले प्रतिनिधिमण्डलको स्वागत गर्दै कोरियाले गरेको आर्थिक विकासको मोडल नेपालका लागि पनि महत्वपूर्ण रहेको बताए । दुबै देशका निजी क्षेत्र बीचको सम्बन्ध बलियो बन्न सक्यो भने लगानी, प्रविधि तथा अनुभव समेत ल्याउन सहज हुने हुँदा निजी क्षेत्र बीचको सम्बन्ध विस्तारमा सहयोग गर्न आग्रह गरेका थिए ।

कार्यवाहक अध्यक्ष ढकालले बाह्य लगानी ल्याउने कुरामा निजी क्षेत्रले सरकारलाई निरन्तर झकझक्याई रहेको र सोही अनुसार बाह्य लगानीसंग सम्बन्धित महत्वपूर्ण ऐन कानूनहरु संशोधन समेत भैसकेको स्पष्ट पारे । नेपालमा लगानी गरी ठूलो प्रतिफल लैजान सकिने बलियो सम्भाव्यता रहेकाले कोरियन लगानी विस्तारमा प्रतिनिधिमण्डलबाट ठूलो सहयोगको अपेक्षा आफुहरूले गरेको ढकालले बताए । नेपालमा सबै क्षेत्रमा लगानीको ठूलो अवसर रहेको उनले जानकारी दिए ।

भेटका अवसरमा प्रतिनिधिमण्डलका नेता एवं कोरियाको माथिल्लो सदन नेशनल एसेम्ब्ली अफ कोरियाका सदस्य ली स्याङगनले कोरियाको आर्थिक विकासको अनुुभव सुुनाउँदै नेपालको आर्थिक विकासमा सहयोग गर्न कोरिया सधै तयार रहेको बताए । महासंघले दिएका सुुझावहरूको कार्यान्वयनमा आफूहरूले सक्दो सहयोग र समन्वय गर्ने विश्वास समेत उनले दिलाए ।

महासंघका उपाध्यक्ष अन्जन श्रेष्ठ, उद्योग समितिका सभापति भरतराज आचार्य, महासंघका महानिर्देशक गोकर्णराज अवस्थी र कोरियन प्रतिनिधिमण्डलका सदस्यहरू सहभागि सो भेटवार्तामा महासंघकातर्फबाट कोरियन उत्पादनमुलक उद्योगहरू कोरियाबाट अन्यत्र स्थानान्तरण भैरहेकाले स्वच्छ उर्जाको राम्रो प्रवन्ध, सस्तो श्रम र विशाल बजार समेतका आधारमा ती उद्योगहरू नेपालमा आकर्षित गर्नेतर्फ सहयोग गर्न आग्रह गरिएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २१ कार्तिक २०७९, सोमबार  १६ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।