बीमा प्राधिकरणले ऐन मार्फत पाएको स्वायत्तताको भरपुर अभ्यास गर्छ: अध्यक्ष सिलवाल

0
Shares

बीमा प्राधिकरणका अध्यक्ष सूर्य सिलवालले बीमा ऐन २०४९ ले दिएको स्वायत्तताको भरपुर अभ्यास गर्ने बताएका छन् ।  मंगलबारदेखि लागू भएको ऐन र त्यसले प्राधिकरणलाई दिएको अधिकारबारे धारणा राख्दै उनले यसअघिको बीमा ऐन २०४९ ले सम्बोधन गर्न नसकेको क्षेत्रहरुमा नयाँ ऐनले अगाडि बढ्ने बाटो दिएकाले नयाँ ऐन कडाईका साथ कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।

“यसअघि बीमा समति रहँदा निर्देशन मात्र दिइने अधिकार भएकाले सोही अनुसार गरिएको भएपनि अब भने हामी कानुन बमोजिम तत्काल एक्सनमा जान्छौं ।” बीमा समिति प्राधिकरण बनेपछि सरकारको मुख ताक्नुपर्ने अवस्थाबाट प्राधिकरणलाई अधिकार सम्पन्न बनाएको बताउँदै उनले भने, “स्वायतत्ताको अभ्यास कसरी गर्ने ? समयमा नै सूचना लिनुप¥यो, समयमा वितरण गर्नुप¥यो, समयमा नै लागू गर्नुप¥यो । जुनबेला जे गर्नुपर्ने छ त्यो गरिहाल्नुपर्छ । त्यसका लागि प्राधिकरण अब अधिकार प्राप्त छ । यो अधिकारलाई स्थापित गर्नका लागि हामीले अभ्यास गरेर देखाउनुपर्छ ।”

मंगलबारदेखि लागू भएको बीमा ऐनले प्राधिकरणलाई कानुनी आधार, स्वायत्तता र अधिकार दिएकाले प्राधिकरणले बीमा व्यवसायलाई स्थापित र विश्वसनिय बनाउन नयाँ ऐनमा धेरै कुराहरु समेटिएको प्राधिकरणले जनाएको छ । ३० वर्षको बीचमा बीमा क्षेत्रमा भएको विकास अहिलेको बीमा ऐन २०४९ सम्बोधन गरेकाले त्यसलाई ऐनको मनसाय अनुसार अभ्यासको रुपमा प्राधिकरणले उपयोग गर्ने प्राधिकरणको योजना छ ।

हिजोसम्म बीमा समिति रहँदा धेरै कुराहरुमा कानुनी आधार नहुँदा बीमक कम्पनीहरुलाई निर्देशन मात्र दिनुपर्ने अवस्था र सरकारको निर्देशन मान्नु बीमा समितिको कर्तव्य हुने कानुनी व्यवस्थाले आफूले काम अगाडि बढाउन नसकेको अध्यक्ष सिलवालले बताए । पछिल्लो ऐनअनुसार बीमाको बजार व्यवस्थापन र समस्याको समाधान गर्न मात्र सरकारले निर्देशन दिनसक्ने भएकाले बीमा प्राधिकरणले गर्ने दैनिक कामकारवाही र निर्णयमा सरकारको अवरोध नहुने उनले बताए।

बीमा ऐन २०४९ ले सम्बोधन गर्न नसकेको क्षेत्रहरुमा नयाँ ऐनले अगाडि बढ्ने बाटो दिएको बताउँदै अध्यक्ष सिलवालले नयाँ ऐनले बीमा विकास कोष, बीमा सूचना केन्द्रको स्थापना, छिटो दाबी भुक्तानी फस्र्यौट, समयमा नै दाबी भुक्तानी नगरे कारवाही, राम्रा कम्पनीलाई पुरस्कृत र खराब कम्पनीलाई दण्डको व्यवस्था तथा बीमा क्षेत्रमा आवश्यक जनशक्तिको उत्पादनमा समेत सघाउ पुग्ने हुँदा यसले बीमाको दायरा विस्तारलाई धेरै ठूलो टेवा पु¥याउने दाबी गरे ।

बीमा गरिसकेपछि अन्यथा केही छैन भने बीमाको दाबी भुक्तानी समयमा नै हुनुपर्ने बताउँदै उनले जिम्वेवारी पुर्वक समयमा नै काम तथा दाबी फस्र्यौट नगर्ने दाबी भुक्तानीमा संलग्न हुने जतिपनि सरोकारवाला निकायहरु सर्भेयर, बीमक कम्पनी, बीमित सबैलाई प्राधिकरणले कारवाही समेत गर्ने उनको भनाई थियो ।

आजसम्म बीमा कम्पनीहरु मात्र बदमास हुन्छन् भन्ने विश्वास गरिँदै आएपनि पछिल्लो समय बीमा क्षेत्रमा बीमितहरु आफैँ वा धेरै पक्षहरु मिलेर ठू–ठुला जालसाजीका घटनाहरु आएकाले नयाँ ऐनले बीमा व्यवसायलाई छक्काउने वा बदमासी काम गर्ने बीमितलाई समेत दण्ड तथा सजायको भागिदार बनाउने कानुनी प्रबन्ध गरिएको उनले बताए । यसले बीमाको क्षेत्रमा देखिएको कृत्रिम दाबी भुक्तानीलाई न्यूनिकरण गर्दै बीमाप्रतिको विश्वसनियताको अभावलाई समेत विस्तारै हटाउँदै लैजान सहयोग पुग्ने विश्सा व्यक्त गरे ।

आफूले मनोगत रुपमा भन्दा ऐनको दिएको अधिकार मात्रै प्रयोग गर्ने बताउँदै उनले भने, “पाँच ठाउँमा पुगेर निर्णय गर्नुप¥यो भने त्यो निर्णय नै होइन । पाएको अधिकारको अभ्यास गछौं । बीमा कम्पनीले प्राधिरकणले दिएको निर्देशन मानेन भने काम गर्न सकेन भने कम्पनीको पोर्टफोलियो हटाउने सम्मको व्यवस्था पनि ऐनमा रहेको छ । सक्दै नसक्ने पोर्टफोलियो किन राख्ने, सक्नेगरी जानु प¥यो ।”
ऐनले बीमक कम्पनीहरु गाभ्ने, गाभिने र हस्तान्तरणको समेत व्यवस्था गरेको छ । हालसम्म चारवटा बीमा कम्पनीहरु मर्जरमा गैसकेकाले बाँकी कम्पनीहरुलाई पनि मर्जरमा जाने उनले सुझाव दिए । केही कम्पनीहरु मर्जरमा जाने क्रममा रहेको भन्दै उनले मंसिर महिना धेरै राम्रो महिनाभएकाले बाँकी कम्पनीहरुको मर्जर पनि यो महिनामा हुने विश्वास व्यक्ति गरे ।

नेपालमा बीमा कम्पनीमा गरिएको लगानीको फिर्तादर ५ देखि ६ प्रतिशत मात्र रहेकाले कम्पनीहरुले भैरहेको लगानीबाटै सशक्त कम्पनीको रुपमा स्थापित हुन पैसाको भ्यालुलाई बुझेर पोर्टफोलियोलाई व्यवस्थापन गर्नुपर्ने उनको भनाई थियो ।

बीमा असाध्यै डायनामिक एरिया भएकाले सधै नयाँ नयाँ परिवर्तन हुँदै आउने भएकाले कर्मचारीलाई मल्टिपल सेक्टरहरुमा तालिम दिनुपर्ने आवश्यकता रहेको उनले औल्याए । उनले भने, “कम्पनी चलाउने भनेको कर्मचारीहरुले हो । कर्मचारीलाई सीप दिनका लागि पैसा चाहिन्छ । पाँच दिन तालिम दिएर कर्मचारीमा सीपको विकास हुन सक्दैन ।”

बीमाको बजार विस्तार हुँदै जाने तर बीमासँग सम्बन्धीत जनशक्तिको अभाव भैरहने समस्यालाई समेत नयाँ एनेले बीमा प्रतिष्ठान मार्फत सम्बोधन गरेको उनले बताए । बीमा प्रतिष्ठानलाई कानुनी मान्य दिँदै प्रतिष्ठान मार्फत एकेडेमीहरु सञ्चालन गर्ने बाटो पनि खोलिदिएकाले बीमा स्कुल सञ्चालन गरी बीमा क्षेत्रको रोजगारी एउटा आकर्षक र लोभलाग्दो रुपमा स्थापित गर्न आवश्यक रहेको उनको भनाई थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।